• ११ असोज २०८१, शुक्रबार

रुघाखोकीलाई सामान्य लिनु हुन्न

blog

बाबुनानीहरू, पछिल्लो समय बालबालिकामा रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी रोग अत्यधिक बढ्दै गएको छ । विश्वका विभिन्न मुलुकमा भइरहेको तीव्र औद्योगिकीकरणका कारण विश्वसहित नेपालको वातावरण पनि दिनप्रतिदिन खराब बन्दै गएको छ । तीव्र औद्योगिकीकरणले गर्दा जलवायु परिवर्तनको असरसमेत बढ्न थालेको छ । विश्वभर वायु प्रदूषण बढ्दै गएको छ । वायु प्रदूषण र जलवायु परिवर्तनका कारण मौसममा समेत असर पुग्न गएको छ । तीव्र औद्योगिकीकरणबाट आएको धुवाँ, धुलो, वंशाणुगत गुण, कम तौल जन्मिनु आदि कारणले बालबालिकामा रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या अत्यधिक बढेको छ । अस्पतालमा आउने बिरामीमध्ये धेरैजसो बिरामी रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी हुने गरेका छन् । 

बालबालिकामा मौसम परिवर्तन र चिसोका कारण श्वासप्रश्वासमा समस्या हुने गरेको छ । श्वासप्रश्वास नलीमा सङ्क्रमण हुँदा, नली साँघुरिँदा खोकी बढी लाग्ने गर्दछ । रुघाखोकी बारम्बार लाग्ने, सुत्ने र उठ्ने बेलामा बढी लाग्ने, दौडिँदा, हाँस्दा, खेल्दा, बोल्दा पनि खोकी लाग्ने, एन्टिबायोटिक खाँदा एक दुई हप्ता ठिक हुने र फेरि बल्झिने, घ्यारघ्यार आवाज आउने भएमा दम भएको हुन सक्छ । यस्तो बेलामा बालबालिकाका अभिभावक चनाखो हुनु पर्छ । यस्तो भएमा तत्काल विशेषज्ञ चिकित्सककोमा लैजानुपर्ने हुन्छ । 

दमलाई औैषधीले ठिक गर्नुभन्दा पनि दम भएको पत्ता लागेमा ठिक समयमा दमको उपचार गर्न सकिन्छ भन्ने बुझ्नु पर्छ । अन्यथा दम लामो समय (दीर्घरोग) सम्म लाग्न सक्छ । बालबालिकालाई दम भएपछि ठिक उपचार गराएमा जिन्दगी भर इन्हेलर लिनु पर्दैन तर यसलाई हेलचेक्र्याइँ गरेमा पछि समस्या आउन पनि सक्छ ।

बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी अन्य समस्या जस्तै पिनास, टन्सिलाइटिस, फारिनजाइटिस, निमोनिया पनि हुन सक्छ । यी समस्या सामान्य भाइरल इन्फेक्सनदेखि खराब खाले ब्याक्टेरियल इन्फेक्सनसमेत हुन सक्छ । यी रोगको चिह्न र लक्षण फरक फरक हुने गर्दछ । उपचार विधि पनि फरक फरक नै हुने गर्दछ तर जनमानसमा यी सबै समस्यालाई एकै प्रकारको रोग भन्ने भ्रम हुँदा, बालबालिकालाई पछि गएर मुटुको समस्या, मिर्गौलाको समस्या, जोर्नी र दीर्घरोग जस्तै दम पनि हुन सक्छ ।

(चिकित्सक ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका बालरोग विशेषज्ञ हुनुहुन्छ ।)   

भदौ मुना २०८१


Author

डा सञ्जयराज थापा