• २ माघ २०८१, बुधबार

भैँसीपालनबाट करोडौँ आम्दानी

blog

अर्जुन काफ्ले 

स्याङ्जा, भदौ २५ गते । स्वदेशमा अवसर नभएको भन्दै वैदेशिक रोजगारीमा जानेको लहर निकै बढेको छ । यहाँका एक कृषकले भने बाँझो जमिनको सदुपयोग गर्दै भैँसी र गाई व्यावसाय सञ्चालन गरेर मनग्य आम्दानी गर्नुभएको छ । 

फेदीखोला गाउँपालिका–१, मट्टीखानका कृषक विष्णुप्रसाद पोखरेलले स्वदेशमै भैँसीपालन व्यवसायबाट आम्दानी गर्दै आउनुभएको छ । उहाँले २६ रोपनी आफ्नो, ५० रोपनी बन्दकी र ५० रोपनी भाडामा  लिई भैँसी तथा गाईपालन गर्नुभएको छ । फेदीखोला बजारमा किराना पसल गर्नुभएका पोखरेलले गाउँको जग्गा बाझैँ भएपछि व्यवसाय छाडेर चार वर्ष पहिलाबाट भैँसी तथा गाईपालन थाल्नुभएको हो । १० वटा मुर्रा भैँसी किनेर र एक गोठ बनाएर ४० लाख रुपियाँ लगानी गरी पशुपालन थालेको पोखरेलले बताउनुभयो । 

२०७७ सालमा जनविश्वास कृषि तथा पशु बहुउद्देश्यीय फार्म दर्ता गरी व्यवसाय सुरु गर्नुभएका पोखरेलले अहिले व्यवसाय ठुलो भएसँगै प्रालिमा लैजानुभएको छ । उहाँको फार्ममा अहिले १३० उन्नत जातका माउ भैँसी छन् भने पाडापाडी ५० छन् । माउ गाई ३० र ४० बाच्छाबाच्छी छन् । हरियाना मुर्रा १५ वटा र ११५ गुजराती मुर्रा तथा होलेस्टन र मिनी जर्सी गाई फार्ममा रहेको उल्लेख गर्दै पोखरेलले पाडापाडी र बाच्छाबाच्छी भने सबै जातका रहेको बताउनुभयो । 

फार्ममा रहेका ४० भैँसी र १५ गाई दुहुना छन् । उहाँले दैनिक छ सय लिटर दुध बिक्री हुने र यसबाट दैनिक ८० हजार कमाउने बताउनुभयो । सरदर वर्षमा तीन करोडको दुध र गोबर मलबाट कमाइने उहाँले जानकारी दिनुभयो । कमाइको आधा व्यवसायमै लगानी गर्ने र आधा बचत हुने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार व्यवसायमा अहिलेसम्म सात करोड बराबरको लगानी पुगेको छ । वार्षिक लगानी थप्दै जिल्लाको ठुलो कृषि फार्म बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । उत्पादित दुध फेदीखोलाको कुभिण्डे, सर्केटारीसहितका बजार, पुतलीबजारको नागडाँडा र आँधीखोलाको सेतीदोभान हुँदै पोखरासम्म गाडीमा राखेर भैँसीको १४० र गाईको ११० रुपियाँ लिटरमा आफैँ बेच्ने गर्नुभएको उहाँ बताउनुहुन्छ । पोखरेलले भन्नुभयो, “डेरीमा दुध बिक्री गर्दा बेलामा पैसा नआउने भएकाले स्थानीय बजारमा आफैँले दुध बेच्ने गरेको हुँ । स्थानीय बजारमा दुध बेच्दा नगद आउने र दैनिक हुने खर्चको कुनै समस्या हुँदैन ।”

पोखरेलले १५ जनालाई रोजगारीसमेत दिनुभएको छ । उहाँको फार्ममा काम गर्ने प्रायः विदेशबाट फर्केका छन् । उनीहरूले खाना र बस्न छाडेर कम्तिमा २० देखि २८ हजारसम्म तलब पाउने गरेका छन् । पोखरेल यहीँ राम्रोसँग व्यवसाय गरे सफल भइने एक उदाहरण हुनुहुन्छ । आफूले अहिलेसम्म कुनै अनुदान नलिएको पोखरेलले बताउनुभयो । भैँसीका लागि नेपियर, सुपर नेपियर, खरलगायतका घाँस लगाएर खुवाउनुभएको छ ।