• १० मंसिर २०८१, सोमबार

अमेरिकामा भन्साररहित सुविधा निरन्तर गरिनुपर्ने

blog

काठमाडौँ, भदौ २५ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा नेपालको निर्यात बढाउन भन्साररहित सुविधाको निरन्तरता महत्वपूर्ण रहेको बताउनुभएको छ । महासङ्घ, तयारी पोसाक सङ्घ, नेपाल अमेरिका चेम्बर अफ कमर्स, युएसएड र निर्यात महासङ्घले संयुक्त रूपमा आयोजना गरेको नेपाल अमेरिका व्यापार र लगानी अवसर र चुनौती विषयक कार्यक्रम उहाँले उक्त धारणा राख्नुभएको हो । 

अमेरिकाले सन् २०१६ मा भूकम्पपछि ७७ वटा वस्तुमा दिएको भन्साररहित सुविधा आगामी वर्ष सकिन लागेको छ । यसै सन्दर्भमा आगामी साता आयोजना हुने व्यापार एवं लगानीसम्बन्धी सम्झौता (टिफा) परिषद्को बैठक महत्वपूर्ण रहेको उहाँको धारणा थियो । उक्त बैठकमा सुविधाको निरन्तरता र हाल निलम्बनमा रहेको जिएसपी सुविधाको निरन्तरतालाई प्राथमिकता दिइनुपर्ने अध्यक्ष ढकालको भनाइ थियो । यसैगरी नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने समयमा भन्साररहित सुविधाको निरन्तरताका लागि सरकार र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड थियो । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण रावतले निजी क्षेत्रको सुझाव अनुरूप अमेरिकासँग छलफल गरिने बताउनुभयो । 

यस अवसरमा, महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अमेरिकामा निर्यात वृद्धि गर्न थप प्रयास गर्न आवश्यक भएको बताउनुभयो । नेपाल तयारी पोसाक सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेले अहिले अमेरिकासँग पैरवी गर्ने उपयुक्त समय भएकाले सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो । त्यस्तै नेपाल–अमेरिका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष किरण साखले निर्यात बढाउनुका साथसाथै व्यापारका लागि सहायता कार्यक्रममा पनि जोड दिनुपर्ने बताउनुभयो । 

नेपाल र अमेरिकाबिच सन् २०११ मा टिफा सम्झौता भएको थियो । यो सम्झौताको खाका भएको हुँदा द्विपक्षीय लगानी र व्यापारका लागि सम्झौता गर्न यसले आधार तयार पार्ने अपेक्षा गरिएको थियो । हालसम्म कुनै उपलब्धि हुन सकेको छैन । हाल सुविधा गुम्ने अवस्था आएको हुँदा अमेरिकाको निर्यात घटन सक्नेमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अमेरिका नेपालको दोस्रो ठुलो निर्यात गन्तव्य हो ।