• ११ मंसिर २०८१, मङ्गलबार

नागरिकता बनाउनेभन्दा राहदानी बनाउने धेरै

blog

कावासोती समाचारदाता 

कावासोती, भदौ २४ गते । नवलपुरबाट वैदेशिक रोजगारमा जानेको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । वैदेशिक रोजगारीप्रतिको आकर्षणले नवलपुरबाट राहदानी लिनेको सङ्ख्या बढेको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरका अनुसार नागरिकताभन्दा राहदानी बनाउने दोब्बर छन् । उच्च शिक्षा अध्ययन गर्न जाने युवा, श्रीमान् विदेशमा हुनेका श्रीमती भेटघाटका लागि, छोराछोरी विदेश भएकाका आमाबुवा घुमफिरमा जानका लागि राहदानी बनाउन आउने गरेका कारण पनि राहदानी लिन आउनेको सङ्ख्यामा वृद्धि हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले गएको आर्थिक वर्ष २०८०/८१ मा नागरिकता लिनेभन्दा राहदानी लिनेको सङ्ख्या धेरै रहेको बताउनुभयो । गत आवमा १६ हजार ९०७ वटा राहदानी वितरण गरिएको छ । राहदानी लिनेमध्ये पुरुष १० हजार ३६ जना, महिला छ हजार २७७ जना र नाबालक ५६४ जना रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । 

जिल्लामा गत आवमा नयाँ नागरिकताको प्रमाणपत्र लिनेको सङ्ख्या आठ हजार ९४६ जना छ । जसमध्ये महिला चार हजार ५३५ र पुरुष चार हजार ४११ छन् । त्यसै गरी नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लिनेको सङ्ख्या आठ हजार ३६० रहेको बताइएको छ । गैरआवासीय नागरिकताको प्रमाणपत्र लिनेको सङ्ख्या ३४ रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

सुरक्षित आप्रवासन (सामी) का परामर्शकर्ता रञ्जना लम्सालले जिल्लाबाट राहदानी (पासपोर्ट) बनाउनेलाई अनिवार्य रूपमा सूचना प्रदान गर्ने गरिएको बताउनुभयो । जिल्लामा सञ्चालित कार्यक्रममार्फत सूचनामा पहुँच, न्यायमा पहुँच, सिप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तीय साक्षरताका क्षेत्रमा रहेका काम गर्ने गरिएको उहाँले बताउनुभयो । 

राहदानी दस्तुरबाट वार्षिक करोडौँ रुपियाँ राजस्व सङ्कलन हुने गरेको छ । जिल्ला प्रशासन कार्यालयले आव २०८०/८१ मा कुल नौ करोड ८५ लाख ३३ हजार ३७० रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

गत आवमा राहदानीबापत कुल नौ करोड एक लाख ३२ हजार ५०७ रुपियाँ राजस्व सङ्कलन भएको छ । त्यसै गरी प्रशासनिक दण्ड जरिबानाबापत ७५ लाख ९४ हजार ८८३ रुपियाँ, संस्था दर्ता तथा नवीकरणबापत छ लाख ६५ हजार १५० रुपियाँ राजस्व सङ्कलन भएको छ ।