• ११ मंसिर २०८१, मङ्गलबार

कैदीबन्दी महँगो सेवा लिन बाध्य

blog

स्याङ्जा समाचारदाता

स्याङ्जा, भदौ २४ गते । स्याङ्जा कारागारमा स्वास्थ्यकर्मी नहुँदा कतिपय बन्दी निजी मेडिकलबाट कहिले स्वास्थ्यकर्मी आउँछन् भनी बाटो हेरेर बस्नु परेको छ भने कतिपय भने महँगो पैसा तिरी निजीमा क्लिनिकमा उपचार गर्न बाध्य छन् । सरकारले हरेक कारागारमा २०७२ सालबाट स्वास्थ्यकर्मीको दरबन्दी कायम गरेको छ । पुतलीबजार–१ मा रहेको एक मात्र जिल्ला कारागारमा पनि पाँचौँ तहका स्वास्थ्यकर्मीको दरबन्दी छ । 

यहाँ कारागार अहेव मनोजकुमार यादव २०७९ असार २४ गते सरुवा भई रौतहट कारागार गएसँगै कारागारका कैदीको उपचारमा असर परेको जेलर दिनेश शर्मा मरासिनीले बताउनुभयो । दरबन्दी कायमपश्चात् यस कारागारमा केवल दुई वर्ष मात्र स्वास्थ्यकर्मीले सेवा दिएको शर्माले जानकारी दिनुभयो ।   

अहेव सरुवा भएसँगै दुई पटक लोकसेवामा माग गरे पनि स्वास्थ्यकर्मी नपठाएकाले कैदीबन्दीलाई कहिले निजी स्वास्थ्यकर्मी ल्याएर र कहिले जोखिम मोलेर मेडिकल लगेर उपचार गर्नु परेको शर्माले बताउनुभयो । कैदीबन्दीलाई सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको भए पनि स्वास्थ्यकर्मी नहुँदा मेडिकलमा रकम खर्च गरेर उपचार गर्नु परेको कैदीबन्दीको गुनासो छ । 

विसं २०३७ मा स्थापना भएको जिल्ला कारागार ५० पुरुष र १५ महिला क्षमताको छ तर क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । यहाँ १३९ पुरुष र पाँच महिला कैदीबन्दी रहेको जेलर शर्माले बताउनुभयो । कारागारमा सबैभन्दा धेरै जबरजस्ती करणीका ३४ जना, २७ जना कर्तव्य ज्यान, २४ लागुऔषध, हाडनाता करणी १३ जना गरी २७ मुद्दाका कैदीबन्दी रहेका छन् ।