• २ माघ २०८१, बुधबार

सडक भत्किन थाल्यो, छोपिएन नाला

blog

विसं २०७७ चैत १८ गते हस्तान्तरण गरिएको सडकको शिलास्तम्भ ।

उर्लाबारी समाचारदाता

उर्लाबारी, भदौ २४ गते । निर्माण कम्पनीले मोरङको कानेपोखरी– रङ्गेली हुलाकी सडक २०७७ सालको चैत १८ गते समुदायलाई हस्तान्तरण ग-यो । कानेपोखेरी गाउँपालिकाका तत्कालीन अध्यक्ष ताराबहादुर काफ्लेले सडक उद्घाटन गर्नुभएको थियो ।  

सडक समुदायमा हस्तान्तरण भएको ४१ महिना बितिसक्दा पनि मुख्य बजारमा निर्माण भएका सडक किनारका नालामा ढकन लगाइएको छैन । नाला नछोप्दा सडक आसपासका घरधनीलाई निजी सवारीसाधन घरसम्म पु-याउन र जोत्ने ट्याक्टर खेतसम्म लैजान ल्याउन समस्या भएको छ । बर्सौंदेखि यो समस्या भोग्दै आएका उपभोक्ताले पटक पटक स्थानीय सरकारसँग गुहार मागे । उनीहरूले हुलाकी सडक आयोजना इटहरीमा ज्ञापनपत्र बुझाए पनि समस्याको सम्बोधन भएको छैन ।

यो सडक पूर्वपश्चिम राजमार्गसँग विराटनगर–रङ्गेली–आमबारी सडक जोड्ने जिल्लाकै सबैभन्दा पुरानो सडक हो । २५.४० किमी लम्बाइको यस सडकलाई जिल्लाको पहिलो हुलाकी सडकका रूपमा चिनिन्छ । सडक बनेपछि उत्तरी मोरङको लेटाङलाई भारतको चोर्पाहासँग सडक सञ्जालले सिधा जोडेको छ । सडक बने पनि आइतबारे, रमाइलो, भौँसाबारी, दलेली बजार क्षेत्रमा निर्माण गरिएका सडक किनारका नालामा निर्माण कम्पनीले अझै नाला छोपेको छैन । कानेपोखरी–७, आइतबारेका पदमप्रसाद कोइरालाले भन्नुभयो, “घरअगाडि नाला बन्यो । सडक बनाउने कम्पनीले सडक हस्तान्तरण गरेको समाचार आयो तर नाला छोप्ने स्ल्याब अझै लगाइदिएको छैन । नालामा स्ल्याब नहालिदिँदा घरमा मोटरसाइकल, साइकललगायतका साधन लैजान समस्या भइरहेको छ । खेत जोत्न ट्याक्टर लान सकिएन ।” कोइरालाका अनुसार आफ्नै खर्चमा ३० फिट नालामा स्ल्याब लगाउन एक लाख रुपियाँले पुग्दैन । अझ सवारीसाधन नालामा पर्दा बढी क्षति भइरहेको स्थानीको भनाइ छ ।  

सोही सडकखण्डमा पर्ने कानेपोखरी–२ र रङ्गेली–८ को सिमानामा रहेको गेउरियाखोलाको पुलसमेत नौ वर्षयता अलपत्र छ । पटक पटक म्याद थपे पनि निर्माण कम्पनीले पुल नबनाउँदा गेउरियाखोलाले बगाएर दुई जनाको ज्यान गइसकेको छ । थुप्रै सवारीसाधन दुर्घटनामा परेका छन् ।

विसं २०७४ असार ६ गते नेपाली निर्माण कम्पनी लामा, डाँफे, दी कञ्चनजङ्घा कन्स्ट्रक्सन प्रालिले सडक कालोपत्रे गर्ने ठेक्का पाएको थियो  । कम्पनीले २०७६ असार ५ गते सडक कालोपत्रे गरेर हुलाकी सडक आयोजनालाई जिम्मा लगाउने सम्झौता भएको थियो । निर्माण सामग्री आपूर्ति गर्न र त्यसपछि कोभिडका कारण काम गर्न ढिलाइ भएपछि तोकिएको समयभन्दा २१ महिनापछि सडक हस्तान्तरण गरिएको हो । सडक हस्तान्तरण गर्दा पनि नालामा स्ल्याब नहालिएपछि स्थानीय उपभोक्ता आक्रोशित भएका छन् । सडक हस्तान्तरणका क्रममा निर्माण कम्पनी कञ्चनजङ्घा निर्माण सेवाका सञ्चालक टेन्डी शेर्पाले ९९ प्रतिशत काम सम्पन्न भएको बताउनुभएको थियो । उहाँले केही स्थानमा ड्रेनमाथि स्ल्याब राख्ने र माइल स्तम्भ राख्नेबाहेक सबै काम सकिएको बताउँदा स्थानीयले ड्रेनमाथि स्ल्याब राख्न र माइल स्तम्भ राख्न बाँकी रहेको बुझेका थिए । शेर्पाले भने अनुसार माइल स्तम्भ, ट्राफिक चिह्न र चोक चोकमा ठाउँको नाम खुल्ने बोर्ड राखिए पनि नालामा स्ल्याब राख्ने काम अझै भएको छैन ।

हुलाकी सडक निर्देशनालय टेकुका  निर्देशक कुबेर नेपालीले निर्माण कम्पनीले अदालतमा मुद्दा हालेकले काम रोकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सम्झौताभन्दा बढी काम लगाएको र मध्यस्थतामा समस्या भएको भन्दै निर्माण कम्पनीले मुद्दा हालेको छ । हाल भारतीय परामर्शदाता कम्पनी एनएचआइडिसिए भारत फर्किसकेको छ ।” नेपालीले सामान्यतः ९५ प्रतिशत काम भएपछि शतप्रतिशत भुक्तानी दिने चलन रहेको उहाँले बताउनुभयो । यो सडकको काम ९९ प्रतिशत सम्पन्न भएको छ । निर्माण कम्पनी अदालत गएपछि समस्या उत्पन्न भएको आयोजनाका निर्देशक कुबेर नेपालीको भनाइ छ ।