• २३ भदौ २०८१, आइतबार

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि घट्यो

blog

काठमाडौँ, भदौ २३ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार सात सय एक दशमलव ९० मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ६३ अङ्कले ओरालो लागेर चार सय ७९ दशमलव ७२ मा सीमित भएको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ ।

कूल दुई करोड २२ लाख ६२ हजार नौ सय २४ कित्ता शेयर रु. १० अर्ब १२ करोड २४ लाख आठ जार दुई सय ४८ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार माहुली लघुवित्त, सिर्जनशिल लघुवित्त, मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, मनकामना इञ्जिनियरिङ हाइड्रोपावर नौ दशमलव ९५ र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले आठ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, थ्री स्टार हाइड्रोपावर १०, कुमारी इक्विटी फण्ड आठ दशमलव शून्य सात, गुडविल फाइनान्स छ दशमलव शून्य पाँच, डोल्टी पावर कम्पनी चार दशमलव ५४ र मातृभूमि लघुवित्तका लगानीकर्ताले चार दशमलव ४५ प्रतिशतले गुमाएका छन् । रासस