• २३ भदौ २०८१, आइतबार

झाडाबाट थप दुई जनाको मृत्यु

blog

झाडापखाला देखिएको जानकी–५ मा पुगेर सचेतना फैलाउँदै स्वास्थ्यकर्मी । तस्बिर : सिराज खान

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, भदौ २३ गते । बाँकेका केही पालिकामा देखिएको झाडा पखालाबाट थप दुई जनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका–६, सोनवर्षाका निर्मला पासी र जानकी गाउँपालिका–५, बेलहरीका होली तेलीको मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन् । 

यसअघि नरैनापुर गाउँपालिका–३, गेग्ली गाउँमा पखाला लागेर पानीको कमीले गर्दा एकै परिवारका तीन जनासहित चार जनाको मृत्यु भएको थियो । थप दुई जनाको मृत्यु भएपछि बाँकेमा पखालाबाट मर्नेको सङ्ख्या छ पुगेको छ । पखालाका कारण नरैनापुर–६, सोनवर्षा निवासी निर्मला पासीको मृत्यु भएको नरैनापुर–६ स्थित गङ्गापुर स्वास्थ्यचौकीका इन्चार्ज भरतराज बुढाथोकीले बताउनुभयो भने जानकी–५, बेलहरीका होली तेलीको पनि पखालाकै कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले बताउनुभयो । 

हालसम्म जिल्लामा पखालाबाट मृत्यु भएका छ जनाकै समयमा उपचार नपाएर शरीरमा पानीको अत्यधिक कमी (जलवियोजन) भएपछि मृत्यु भएको स्वास्थ्यकर्मीले जनाएका छन् । वान्ता र पखालालाई सामान्य रूपमा लिएर उपचारमा गम्भीर नभएका कारण नै मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । 

नरैनापुर–६, गङ्गापुर स्वास्थ्यचौकीका अनुसार निर्मला पासीलाई वान्ता भएपछि स्थानीय औषधी पसलमा लगेर पानी चढाइएको, त्यसले पनि सन्चो नभएपछि राप्ती सोनारी गाउँपालिकाको देउपुरामा स्थानीय क्लिनिकमा उपचारका लागि लगिएको पाइएको छ । त्यसपछि पनि सन्चो नभएपछि नेपालगन्ज मेडिकल कलेजमा उपचारका लागि ल्याइएकोमा चिकित्सकले उहाँलाई मृत घोषित गरेका थिए । 

उता स्वास्थ्य कार्यालयका अनुसार जानकी गाउँपालिका–५ मा झाडापखालाले प्रभावित चार व्यक्ति फेला परेका थिए । तीमध्ये एक जनाको मृत्यु भएको र अन्य एक जनाको अवस्था गम्भीर रहेकाले भेरी अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । 

अर्का एक जना सङ्क्रमितको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको तथा बाँकी एक जना बिरामी उपचारपछि घर फर्किसकेको जानकारी आएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार केही दिनअघि नरैनापुरकै वडा नम्बर–३, गेग्लीमा झाडापखालाका लक्षण देखिएर बिरामीलाई पनि स्थानीय क्लिनिकमै सामान्य उपचार गरिएको थियो । समयमा उपचार र जीवन जल नपाउँदा त्यहाँ चार जनाको मृत्यु भएको थियो । 

यद्यपि उनीहरूलाई वान्ता र पखालासँगै कडाखाले ज्वरो, टाउको दुख्ने, पेट दुख्ने जस्ता समस्या पनि रहेको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । नरैनापुर–६ मा अझै पनि धेरै जना ज्वरो, आउँमासी र झाडापखालाका बिरामी रहेको स्वास्थ्य चौकी प्रमुख भरतराज बुढाथोकीले बताउनुभयो । 

उहाँले सोनवर्षाका ४५ जनामा आउँमासी र पखालाको लक्षण देखिएको जनाउँदै उनीहरू मध्ये तीन जनामा जलवियोजनको अवस्था पाइएपछि औषधी उपचार गरिएको बताउनुभयो ।