• २३ भदौ २०८१, आइतबार

‘रक एङ्करिङ’ प्रविधिबाट बैसरी पहिरो रोकथाम

blog

बैसरी पहिरो रोकथामका लागि काम गर्दै मजदुर । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी(बेनी), भदौ २३ गते । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित बैसरी पहिरो ‘रक एङ्करिङ’ प्रविधिबाट रोकथाम गरिएको छ । 

सडकमाथि रहेको पहिरोबाट निरन्तर रूपमा लेदोसहित ढुङ्गा खसेर विगतमा सडक अवरुद्ध हुनुका साथै मानवीय तथा भौतिक क्षतिसमेत भएको थियो । पहिरो रोकथामका लागि विभिन्न प्रयास गर्ने क्रममा आयोजनाले रक एङ्करिङ प्रविधि प्रयोग गरेको हो । 

पहिरो रोकथाम गरी यातायातलाई सुरक्षित बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले ‘रक एङ्करिङ’ र ‘बायो इन्जिनियरिङ’ प्रविधि प्रयोग गरेर पहिरो रोकथाम गरेको हो । भिरको पत्थरमा ‘ड्रिल’ गरी ठुला फलामे रड राखेर पक्की पर्खाल निर्माण गरिएको छ । पक्की पर्खाल निर्माणपछि अहिले सडकमाथिबाट लेदोसहितको ढुङ्गा र पहिरो खस्न रोकिएको छ । 

भिरको पाखोमा रहेको पहिरोलाई पन्छाएर पत्थरमाथि एक मिटरसम्म ड्रिल गरी रड राखेर डेढ मिटर उचाइको पक्की पर्खाल निर्माण गरिएको छ । पर्खालमाथि निकालिएको रडमा यतिखेर मजदुरले ग्याबियन जाली लगाउन थालेका छन् । 

पहिरो रोकथामको जिम्मा लिएको युवराज कन्स्ट्रक्सनका सञ्चालक गौमती बुढामगरले पत्थरमा ड्रिल गरेर एक मिटरसम्मको गहिरो प्वाल बनाएर त्यहाँ २५ एम एम गोलाइका फलामको रड राखेर डेढ मिटर उचाइ र करिब १२० मिटर लम्बाइ भएको पक्की पर्खाल निर्माण गरिएको बताउनुभयो । पहिरो रोकथाममा यो प्रविधि उपयुक्त भएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “रक एङ्करिङ प्रविधिबाट पहिरो रोकथामको काम गरेको मसँग लामो अनुभव छ । आयोजनाबाट हाम्रो कम्पनीलाई पहिरोको अवलोकन गर्न बोलाउनुभयो । हामी आएर अवलोकन गर्‍यौँ । पहिरो रोकथाम गर्न सकिन्छ भनेर काम थाल्यौँ ।” एक महिनाअघिबाट थालेको पहिरो रोकथामको काम अहिले अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । दैनिक रूपमा ३० जना मजदुरले काम गरेको उहाँको भनाइ छ । 

भिरमा रहेका ठुला ढुङ्गालाई फुटाल्ने, तल बगाउने र पत्थरमाथि रड राखेर ढलानसहितको बेस बनाएर ग्याबियन जाली लगाउन थालिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सबइन्जिनियर सुहानजङ्ग कार्कीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “पहिरो रोकथामका लागि रक एङ्करिङका साथै बायो इन्जिनियरङ प्रविधिको पनि प्रयोग गरेका छौँ । पाखोको पानीलाई नाली बनाएर अर्को ठाउँबाट खसालेका छौँ ।” पहिरो रोकथाम भएसँगै बैसरीमा लेदोसहितको ढुङ्गा खस्ने काम रोकिएको उहाँले बताउनुभयो ।