• २३ भदौ २०८१, आइतबार

वालिङबाट भीरकोटको प्रशासनिक सेवा

blog

अर्जुन काफ्ले

स्याङ्जा, भदौ २३ गते । भीरकोट नगरपालिका वडा नं ८ का नागरिकले इलाका प्रशासन कार्यालय, वालिङबाट प्रशासनिक सेवा लिन थालेका छन् । 

विगतमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट सेवा लिएका ( साबिक ढापुक सिमलभञ्जाङ) यहाँका नागरिकलाई इलाका प्रशासन कार्यालय वालिङबाट सेवा लिन पायक पर्ने भएकाले माग अनुसार गृह मन्त्रालयले सो निर्णय गरेको हो ।  

सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले भदौ ९ गतेको (सचिव स्तर)को निर्णयले वडा नं ८ का नागरिकहरूलाई इलाका प्रशासन कार्यालय वालिङबाट सेवा प्रवाह गर्ने गरी पत्राचार गरिएको सोही अनुसार कामकाज सुरु भएको बताउनुभयो ।  

वडा अध्यक्ष नन्दलाल खनालले भौगोलिक दुरी र सहजताका हिसाबले नागरिकलाई वालिङ पायक पर्ने हुँदा तत्कालीन गुह सचिव एक नारायण अर्याल(मुख्यसचिव)लाई अनुरोध गरेको र निर्णय भएको बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालयको भदौ २० गते पत्र प्राप्त भएसँगै नागरिकता, राहदानी लगायतका जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हुने सबै सेवा वालिङबाटै सुरु भएको खनालले बताउनुभयो । 

उहाँले जिल्ला प्रशासन कार्यालयको समेत यो निर्णयमा ठुलो योगदान रहेको खनालले बताउनुभयो । यस वडाको मालपोत तथा नापीको काम समेत वालिङबाट पाउँदै आएका थिए र अब प्रशासनिक सेवा पाएकाले थप सहज भएको हो । 

वडा नं ८ बाट इलाका प्रशासन वालिङ नौ किमी रहेको छ भने जिल्ला प्रशासन ३० किमीको दुरीमा रहेको छ । यहाँका  वडा नं ४,५  र ९ का बासिन्दाले प्रशासनिक सेवा वालिङबाट सेवा लिएकोमा अब वडा नं ८ थपिएको हो । 

यस वडाले नागरिकलाई सेवा दिने उद्देश्यले मोहनीडाडाँ र जामुनेडाडाँबाट दुई ठाउँबाट वडाको सुविधा दिँदै आएको छ ।