• २२ भदौ २०८१, शनिबार

पहिलो पुस्ताका स्क्वास खेलाडी सम्मानित

blog

नेपाल स्क्वास र्याकेट्स सङ्घको १६औँ वार्षिक साधारण सभाको अवसरमा सम्मानित ब्यक्तित्वहरु ।

काठमाडौँ, भदौ २२ गते । नेपाल स्क्वास राकेट्स सङ्घले शनिबार अन्तर्राष्ट्रिय स्क्वास प्रतियोगितामा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई सम्मान गरेको छ ।

नेपाल स्क्वास र्याकेट्स सङ्घको १६औँ वार्षिक साधारण सभाको अवसरमा सञ्जीव राजभण्डारी, अनिल सिंह र सत्यनारायण श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेको हो । सो कार्यक्रममा सिंह मात्र उपस्थित हुनुभएको थियो ।

राजभण्डारी र श्रेष्ठको कदरपत्र उहाँका परिवारका सदस्यले ग्रहण गरे । यी खेलाडीले सन् १९८१ मा पाकिस्तानको कराँचीमा भएको एसियाली स्क्वास प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए ।

सो अवसरमा सङ्घका अध्यक्ष धुबबहादुर गुरुङले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाउने खेलाडीहरु हिराबहादर थापा, सुरेश गुरुङ, सत्यनारायण श्रेष्ठ, जनक थापा, अरहान्त केशर सिंह, अमृतथापा मगर, अमिर ब्लोन र दिपक थापा, भावना सुनुवार, कृष्णा थापा, क्षितिज गुरुङ मनिदा शाही, विपना ब्लोन र स्वास्थानी श्रेष्ठलाई पनि कदर पत्रसहित सम्मान गर्नुभयो ।

सोही अवसरमा सङ्घका महासचिव लोकेन्द्रमान सिह भण्डारी, उपाध्यक्ष रुपकदास ताम्राकार तथा खेल पत्रकारद्वय प्रजित शाक्य र प्रज्वल शाक्य पनि सम्मानित हुनुभएको थियो । अध्यक्ष गुरुङले स्क्वास सङ्घले उत्पादन गरेका खेलाडीको क्षमता अभिवृद्धि तथा प्रोत्साहन दिलाउनका लागि २५ लाखको अक्षय कोष स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

उहाँले स्क्वासका सबै प्रतियोगितामा नगद पुरस्कारको व्यवस्था मिलाउने पनि बताउनुभयो । सो कार्यक्रममा धीर पुनलाई नेपाल स्क्वास र्याकेट्स सङ्घका सल्लाहकारको नियुक्त पत्र पनि प्रदान गरिएको थियो ।