• ११ असोज २०८१, शुक्रबार

पोखरा–होकुतो भगिनी सम्बन्ध कायम

blog

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र जापानको होकुतो नगरका प्रमुख एइजी उएमुरा पर्वतीय नगर मित्रता सम्झौता पत्रमा हस्ताक्षरपछि। तस्बिरः गोरखापत्र

फडिन्द्र अधिकारी 

लेखनाथ, भदौ २२ गते। पोखरा महानगरपालिका र जापानको होकुतो सहरबिच भगिनी सम्बन्ध कायम भएको छ। दुवै सहरबिच पर्वतीय नगर मित्रता सम्झौता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र जापानको होकुतो नगरका प्रमुख एइजी उएमुराले शुक्रबार हस्ताक्षर गर्नुभएको हो। 

जापानको कोमागाने नगरसँग २३ वर्षअघि पोखरा महानगरपालिकाले पहिलोपटक भगिनी सम्बन्ध कायम गरेको थियो। पोखराको भगिनी सम्बन्ध कायम भएको होकुतो १५ औँ नगर हो। पोखरा महानगरपालिकाले हालसम्म विदेशी १३ र नेपाल दुई नगरसँग मितेरी सम्बन्ध कायम गरेको छ।

मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास र सम्मानको आधारमा पर्वतीय नगर मित्रता कायम गरिएको पोखरा महानगरपालिकाका नगर प्रमुख आचार्यको भनाइ छ। दुवै सहरका नागरिकले एक अर्काका पर्वत, संस्कृति र इतिहासलाई सम्मान गर्दै सहयात्राअघि बढाउने प्रतिबद्धता गरिएको छ। 

पोखरा महानगर प्रमुख आचार्यले भन्नुभयो, “यसले पोखरा जस्तै हिमालको काखमा रहेको होकुतोसँग पर्वतीय संस्कृति, रहनसहन र समग्र पर्यटन विकासका असल अभ्यासहरूको आदानप्रदानमा महत्त्वपूर्ण योगदान पुग्नेछ।” यो मित्रताले दुवै सहरको पर्वतीय पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने उहाँले उल्लेख गर्नुभयो। 

होकुतो नगरका नगर प्रमुख उएमुराले दुवै सहरका नागरिकबिच मैत्रीपूर्ण भावना विकास गर्दै शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन र पूर्वाधारको विकासमा आपसमा सहकार्य गरिने बताउनुभयो। भगिनी सम्बन्धको कार्यक्रमका लागि जापानबाट यामानासी प्रिफेक्चरका सभामुख मासाहितो उजुकी, सांसद फुजिमोतो योसिहिको, नेपाल जापान फ्रेन्डिसिप एसोसिएसनका हिरोमी इसिकावालगायत पोखरा आउनुभएको छ।