• १० मंसिर २०८१, सोमबार

विलीन जीवन [कथा]

blog

साँझ छिप्पिँदै रातमा रूपान्तरण हुँदै थियो । बस्तीबाट केही टाढा निष्पट्ट अँध्यारोको साम्राज्यभित्र एउटा छाप्रो जागिरहेको थियो । चारैतिरबाट झ्याउँकिरीको आवाज गुन्जिरहेको थियो । चिसो भुइँमाथि ओछ्याएको गुन्द्रीमा झुमा आफ्नो छोरालाई सुताउन प्रयास गर्दै टाउको मुसारिरहेकी थिइन् । गरिबीका कारण उनको लोग्ने सुकराम सहरमा पैसा कमाउन जाने फर्कने गर्दथे । यस पटक भने सहर पसेको दुई दिनमै कोरोना सङ्क्रमणका कारण लकडाउन भएको तीन हप्ता बितिसकेको थियो । यही कारण सुकराम सहरमै फसेका थिए । कोरोनाको लकडाउन एक महिना थपियो । यातायातका साधन पूरै ठप्प थिए । सुकराम गाउँ फर्किने सम्भावना थिएन ।

यता गाउँमा पनि कोरोनाका कारण मेलापात जान बन्द भएको थियो । गाउँघरतिर केही काम पाइँदैनथ्यो । कोरोना सङ्क्रमण हुने सम्भावनाले स्थानीय तहले घरबाहिर ननिस्कन उर्दी जारी गरेका थिए । गाउँले पनि सबै डराएर घरभित्रै बस्थे । सुकराम बारम्बार सहर जाने फर्किने गर्ने हुँदा सबै गाउँले उनीमाथि कोरोनाको शङ्का गर्थे । घरमा अलिकति भएको दालचामल पनि सकिइसकेको थियो । झुमा दुई दिनसम्म गाउँ चहारिन् तर उनी आएको टाढैबाट देखेपछि सबै जना ‘उ कोरोनी’ भन्दै झ्यालढोका थुन्थे । कसैले पनि पैसा, अन्न सहयोग नगरेका कारण झुमालाई आफ्नो जीवन नै बोझ भइसकेको थियो । उनले नजिकै रहेको खोलामा हामफालेर आत्महत्या गरौँ कि भन्ने सोचेकी पनि थिइन् तर अबोध बालकको मायाले त्यसो गर्न सकिनन् । उनको बाँच्ने एउटा आधार पति थिए । उनी पनि अनिश्चितकालीन बन्दका कारण सहरमै अल्झिएपछि त उनलाई न आफू बाँचिन्छ न त छोरालाई बचाउन सकिन्छ भन्ने लागेको थियो । बाँच्ने आशाको झिनो त्यान्द्रो पनि चुँडिइसकेको थियो ।

सुतिरहेका बालक केही भन्न खोजिरहेका थिए तर अस्पष्ट र मन्द आवाज नबुझेर आमाले सोधिन्, “बाबु के भनेको ?” बालकले आफ्नी आमाको हातलाई समाउँदै चुलोमाथि रहेको भाँडा देखाउँदै भने, “माम, भोक लाग्यो आमा !” दुई दिनदेखि चुलो नबलेकै कारण सुकिसकेका भाँडा असरल्ल छरिएका थिए । झुमा किंकर्तव्यविमूढ भइन्– छोरालाई के खुवाउने ? उनले छटपटिँदै भगवान्लाई पुकारिन्, “हे भगवान् ! यो तिमीले के ग¥यौ ? बरु मेरो ज्यान लेऊ तर यो अबोध बालकको रक्षा गर !” टाढाबाट कुकुरहरू भुकेको आवाज नजिकिँदै आइरहेको थियो । रातको समय निर्जन र सुनसान भएकै कारण पदचाप नजिकिँदै आएको सुनियो । कुकुर भुकेको र नजिकिँदै गएको पदचापसँग उनी तर्सिइन् । उनले अर्को सङ्कटको आशङ्का गर्दै भगवान्लाई पुकारिन्, “हे भगवान् ! अब हाम्रो सहारा हजुरबिना अरू कोही छैन, बरु अब हामी दुवैको प्राण लिनोस् ।” यसपछि उनले भुइँमा ढोगिन् । अचानक नजिकिँदै आएको पदचापसँगै ढोका ढकढक्याएको सुनियो । छोरालाई खुवाउन सुकेको भाँडामा भिजाएर निकालेको माम्री भाँडोभित्रै राख्दै डरले उनले छोरालाई अँगालेर अँध्यारोमा घोप्टो परिरहिन् । प्राण नै जाला जस्तो डरले मुटु बेजोडले धड्किरहेको थियो । उनलाई कसैले बोलाएको जस्तो लाग्यो तर डरका कारण आवाज ठम्याउन सकिनन् । फेरि उही आवाज कानमा ठोक्कियो । यस पटक भने उनलाई स्पष्ट एउटा चिरपरिचित आवाजले आफूलाई बोलाइरहे जस्तो लाग्यो । उनलाई विश्वास नै लागेन । उनको पति सुकराम यो बन्दको समय सहरबाट फर्केर आइपुग्लान् भनेर । फेरि आवाज गुन्जियो, “झुमा ! झुमा ! म आइपुगेँ ढोका खोल न !”

आफ्नो पतिको आवाज सुनेर झुमालाई सपना जस्तो लाग्यो । उनलाई विश्वास नै लागेन । फेरि उनले आवाज सुन्न कान थापिन् । “झुमा ! के गर्दै छौँ ? ढोका खोल न, म आइपुगेँ,” आफ्नो लोग्नेको आवाज नै हो भन्ने ठम्याएपछि उनको खुसीको सीमा नै रहेन । बालक रमाउँदै बोले, 

“आमा ! आमा ! बुवा आउनुभयो ।” बिस्तारै छोरालाई काँधमै बोकी उठेर उनले दैलोमा लगाएको चुकुल खोलिदिइन् । भित्र पस्दै सुकरामले सोधे, “झुमा ! तिमी यस बेलासम्म पनि नसुती के गर्दै छौँ ?” उनी छोरासहित आफ्नो पतिलाई अँगालो मार्दै रुँदै आँसुको बलिन्द्र धारा झार्दै हिक्किँदै बोलिन्, “हामी दुवै बाँच्ने आशा मैले त्यागिसकेको थिएँ । तपाईं आज नआउनुभएको भए हामी दुवैको लास मात्र भेट्नुहुन्थ्यो होला ।”“किन, त्यस्तो के भयो र ?” सुकरामले उत्सुक हुँदै सोधे ।

“हजुर जानुभएपछि जेनतेन आफूले अलि कम खाएर पनि गुजारा चलाइरहेँ । आज दुई दिन भयो, घरमा एक दाना अन्न पनि नभएको । यो छोरालाई त जसरी पनि बचाउनु थियो । यसैले गाउँको दैलो दैलोमा पुँगेर आँसु झारी छोराको प्राणका लागि भिख मागेँ तर कसैले सुनेनन् । उल्टो मलाई देखेपछि “ऊ कोरोनी” आयो भनेर टाढाबाटै झ्यालढोका थुन्थे । अनि कोही यो गाउँमा सहरबाट कोरोना भित्र्याउने नै तिम्रो लोग्ने हो भनेर दुर्दुर गरे । कैयौँ पटक त खोलामा हामफालेर आत्महत्या गरौँ जस्तो पनि लाग्यो तर यसको मायाले त्यसो पनि गर्न सकिनँ । आज धन्न हजुर आइपुग्नु भो ! नत्र यो छोरा के हुन्थ्यो होला ।”

“भयो नरोऊ अब ! गाउँलेलाई पनि दोष नदेऊ ! सबैलाई आफ्नो र सन्तानको माया लागिहाल्छ । हामीसँग मात्र डराएको हो त लाटी ! सरकारले नै कसैसँग कसैले नभेटोस् भनेर लकडाउन गरेको छ ।” अँगालोबाट फुत्किन खोज्दै बालकले भने, “बाबा ! मलाई मिठो खाने कुरा के ल्याउनुभएको छ ?”

सुकरामले झोला भुइँमा बिसाएर खोल्दै भने, “मैले मेरो ज्ञानी छोरालाई यी यहाँ के के ल्याएको छु ।” सुकरामले बिस्कुट, पाउरोटी, चकलेट, दालचामल, कपडा, केही बोटल, केही पोका भुइँमा फिँजाए । खानेकुराको थुप्रो देखेर बालक आमाको अँगालोबाट फुत्किएर भुइँमा खेल्न थाले ।

बालकले बिस्कुट खाँदै भुइँमा रहेको प्याकेट उठाउँदै सोधे, “बुवा यो पनि खानेकुरा हो ?” छोराको हातबाट प्याकेट लिँदै भने, “छोरा यो खानेकुरा होइन, यो मुखमा लगाउने मास्क हो । यो लगाउँदा आफूबाट अरूलाई र अरूबाट आफूलाई कोरोना रोगको जीवाणुहरू सर्नबाट बचाउँछ ।” उनले यी यो मेरो छोरालाई भनी छोराको मुखमा मास्क लगाइदिए । अनि यी यो साबुन हामीले सधैँ हाम्रो हात खाना खानुअगाडि मिचीमिची धुनु पर्छ भने । “अनि यो सेनिटाइजर हातमा लगाउँदा कोरोनाका कीटाणु मर्छन् । अँ अबेर भइसकेको छ, तिमीहरू दुवै दुई दिनदेखि भोकै छौ । मलाई पनि भोक लागिरहेछ, छिटो भात पकाउ, 

शोभा !” उनले भने ।

आफ्नो पतिले सहरमा लकडाउन भएको बेला पनि त्यतिका सामान ल्याएको देखेर सशङ्कित हुँदै उनले सोधिन्, “अनि हजुर सहर जानुभएको दुई दिनपछि नै सबैतिर लकडाउन भयो । यस्तो बेलामा पनि यतिका सामान ल्याउनु भभो ? कसरी कमाउनु भयो ?” अनायास शोभाको प्रश्नले उनी झस्किए । उनले आफूलाई समाल्दै जवाफ दिए, “म गाउँबाट सरासर सधैँ काम गर्ने साहुकहाँ गएँ । भोलिपल्टदेखि काममा लागेँ तर तेस्रो दिनदेखि लकडाउन सुरु भइहाल्यो । मैले मालिकलाई घरका सबै समस्या सुनाएपछि मालिकले मलाई विश्वास मानेर पेस्कीस्वरूप केही रुपियाँ दिए र हिँडेर घर फर्किएँ । बाटोमा लकडाउनको समयमा पनि हिँड्ने हो भनी प्रहरी दाइले लौरोले स्वाँठ मारेको डाम हेर भन्दै सुकरामले कमिज माथि सारे । 

पतिले कमिज माथि सार्दा उनले आफ्नो लोग्नेको ढाडमा लौरोको डाम देखिन् । झुमाले लोग्नेले लगाएको कमिज माथि सारेर हेर्न खोज्दा उनले आफ्नो लोग्नेको पेट काटेर सिलाएको देखिन् । उनले आत्तिँदै सोधिन्, “यो माथिको ढाडको डाम त प्रहरीले लौरोले पिटेको डाम, अनि तपाईंको पेट त काटेर सिलाएको पो छ ! के भो तपाईंलाई ?”

“होइन, होइन ! केही पनि भएको हैन,” सुकरामले कमिज तल तान्दै ढाड, पेट ढाक्दै भने । 

“होइन, तपाईं मलाई ढाँट्दै हुनुहुन्छ । मेरो शिरमाथि हात राखी कसम खानुहोस्,” उनले पतिको हात आफ्नो शिरमाथि राखिन् । “म सत्य कुरा भन्छु, ल सुन ! म सहर पुग्नुअगाडिदेखि नै सहरभरि कोरोनाको सन्त्रासले उद्योग, व्यापार व्यवसाय सबै बन्द भइसकेको रहेछ । सहर पसेको दुई दिनमै कोरोनाका कारण लकडाउन भयो । सारा बजार बन्द, कहीँ केही काम पाउन सकिनँ, कैयौँ रात भोकभोकै रहेर दुई हप्ता बिताइसकेको थिएँ । चिनेका दुई चार जनासँग ऋण मागेँ तर कसैले ऋण दिन तयार भएनन् । अनि तिमीलाई सम्झेँ, यो अबोध छोरालाई सम्झिएँ । म एक्लै भएँ त पानी पिएर पनि बाच्थेँ हुँला, तिमीहरू कसरी बाँच्छौ भन्ने लाग्यो । तिमीहरूलाई बचाउन आय आर्जनको कुनै सम्भावना नदेखेपछि १५ दिनको दिन एक जना डाक्टरको निजी क्लिनिकमा गएँ र एउटा किड्नी बेचेँ । एक हप्ता आराम गरेपछि हिँडेर आइपुगेँ ।” “कठै ! तपाईंले हाम्रो निमित्त आफ्नो जीवनमा किन यति ठुलो जोखिम मोल्नु भो ? हे ईश्वर ! बरु मेरो प्राण किन हर्नुभएन ?” त्यसपछि उनले भक्कानिँदै सुकरामलाई अँगालोमा बेस्सरी कसिन् । घरभित्र धिप धिप गर्दै बलिरहेको टुकीको उज्यालोमा ती तीन प्राणी देखिए । अचानक हावाको एक झोकाले टुकी झ्याप्प निभ्दा अन्धकारमा तिनै जना विलीन भए ।  

Author

श्यामप्रसाद श्रेष्ठ