• २३ भदौ २०८१, आइतबार

चुरे भेगमा चल्न सकेनन् बस

blog

वर्षाका कारण पानीको सतह बढेका कारण नारायणखोलाको तीनतलेमा थन्किएका यात्रु बस । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, भदौ २२ गते । प्रमुख चाडपर्व नजिकिँदै गर्दा सर्लाहीको चुरे भेगका स्थानीय बस सञ्चालन नभएर निराश बनेका छन् । जिल्लाको उत्तरवर्ती चुरेका विकट गाउँमा गत असार अन्तिमदेखि बस चल्न सकेका छैनन् । खोलामा बाढी आइरहेकाले चुरे भेगको नारायणखोला, शिरकालिन्जोर, पिपलदमार, भित्रीखोलालगायत क्षेत्रमा यात्रुवाहक बस सञ्चालन हुन नसकेका हुन् । 

चुरे भेगका त्यस क्षेत्रमा बाढी आउन छाडेपछि भने खोलैखोला बस गुड्ने गरेका छन् । यो वर्ष भदौ अन्तिम भइसक्दा पनि निरन्तर जसो वर्षा भइरहेकाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारदेखि चुरे भेगमा पुग्ने आधा दर्जनभन्दा बढी यात्रुवाहक बस थन्किएका छन् । 

स्थानीय बासिन्दा अत्यावश्यक काम परेर बजार आउनु पर्दा गाडी पाउने ठाउँ चुरेफेदीसम्म घण्टौँ पैदल हिँड्न बाध्य छन् । प्रसवपीडा भएका गर्भवती र अन्य गम्भीर प्रकृतिका बिरामीलाई झोलुङ्गोमा हालेर ल्याउने गरिएको छ । 

लालबन्दी नगरपालिका–१४, नारायणखोलाका वडाध्यक्ष छेनामसिंह घिसिङले प्रमुख चाड दसैँतिहार नजिकिए पनि खोलामा पानी नघटेकाले बस सञ्चालन हुन नसकेको बताउनुभयो । बस व्यवसायीसमेत रहेका वडाध्यक्ष घिसिङले हिजोआज दिनहुँ पानी पर्न थालेकाले तत्कालै बस सञ्चालन गर्न सक्ने अवस्था नरहेको जानकारी दिनुभयो । 

चुरे भेगका बस्ती रहेको जिल्लाको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाले वर्षा रोकिएपछि चाडपर्वलाई लक्षित गरी चुरेपाखाको गोरेटो बाटो र खोलाको बाटो मर्मत गर्ने तयारी गरेका छन् । पानी पर्न रोकिएर बस चल्न सुरु भए चाडपर्वका लागि सरसामग्रीको जोहो गर्ने चुरे भेगका स्थानीयको भनाइ छ । 

ईश्वरपुर नगरपालिका–१२, पिपलदमारका बलिमराज वाइबाले घरनजिकको बाँके खोलामा पानी नघटेकाले मोटरसाइकलधरि सञ्चालन हुन नसकेको जानकारी दिनुभयो । वाइबाले झरी रोकिए खोलामा बस सञ्चालन हुने आसमा बसेको बताउनुभयो । सर्लाहीको चुरे भेगका गाउँमा बाँके, फूलजोर र लखन्देही खोला भएर बस चल्ने गरेका छन् । लालबन्दी बजारबाट नारायणखोलातर्फ चल्ने बस सिन्धुलीको मरिणसम्म नै पुग्ने गरेका छन् । चुरे भेगका कतिपय स्थानीय कुनै दिन खाद्यान्न बोकेर जाने ट्याक्टरमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।