• २३ भदौ २०८१, आइतबार

एक सय उनन्चालिस जना अझै अज्ञात

blog

भारततर्फ जान लागेका महिलालाई भारतीय सीमानाका भिट्ठामोडमा सोधपुछ गर्दै भारतीय सीमा सुरक्षा बल । तस्बिर : रवीन्द्र उप्रेती

बर्दीबास समाचारदाता

बर्दीबास, भदौ २२ गते । गत जेठ १ गते गौशाला नगरपालिका–४, रजखोरस्थित दलित बस्तीका १३ देखि १७ वर्ष उमेर समूहका छ जना बालबालिका सम्पर्कविहीन भए । बेपत्ता हुनेमा चार जना बालिका रहेकाले उनीहरूलाई प्रलोभनमा पारेर भारततर्फ लगिएको आशङ्का गरियो । मुसहर बस्तीमा रुवाबासी चल्यो । प्रहरीले लामो प्रयासपछि गौशालाबाट हराएका ती बालबालिकालाई चार दिनपछि पहाडी जिल्ला तेह्रथुमको सङ्व्रmान्ति बजारबाट सकुशल उद्धार ग¥यो । उनीहरू कसरी त्यहाँसम्म पुगे ? त्यहाँबाट कहाँ लैजान लागिएको थियो ? स्पष्ट हुन सकेको छैन । 

बालबालिका सम्पर्कमा आएपछि हराएको कारणबारे खोजीनिती गर्न अभिभावकले पनि चासो राखेनन् । घटना सेलाउँदै गयो । कारण र रहस्य खुल्न सकेन । 

सोनमा गाउँपालिका–४ बाट पनि एक छ वर्षीय बालिका गत जेठ २१ गते घरबाटै बेपत्ता भइन् । प्रहरीले लामो प्रयासपछि बालिकालाई सर्लाहीको ईश्वरपुर नगरपालिका–५, खुवलाल टोलबाट नाटकीय ढङ्गमा उद्धार ग¥यो । उनलाई साधुको भेषमा भिक्षाटन गर्दै हिँड्ने गौशाला–१०, बटौवाका लालबाबु मण्डलले बिस्कुट खान दिएर फकाउँदै बेपत्ता पारेका थिए । 

प्रहरीले मण्डललाई पक्राउ गरी ज्यान बेपत्ता कसुरमा मुद्दा दर्ता गरी कारबाही चलाएको छ । तथापि बालिकालाई कुन उद्देश्यले भगाइएको थियो कारण अझै अज्ञात छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा महोत्तरीमा १० बालक, १०६ बालिका, १४० महिला र एक ज्येष्ठ नागरिक गरी २५७ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये खोजतलासका क्रममा फेला परेका १२८ जनालाई परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरीले जनाएको छ । बाँकी रहेका ८४ महिला, ५१ बालिका र चार बालक गरी १३९ जनाको अवस्था अझै अज्ञात छ । 

प्रहरी उपरीक्षक नकुल पोखरेलका अनुसार व्यक्ति बेपत्ता हुने अनेकन कारण हुन सक्छन् । अधिकांश घटनामा केटाकेटीबिच मन मिलेर परिवारबाट सम्पर्क हुन छाडेको पाइएको छ । यस्ता उजुरी बढी पर्ने गरेका छन् । हराएपछि प्रहरीलाई खबर गरे पनि सम्पर्कमा आएपछि परिवारले जानकारी नगराउँदा बेपत्ताको सङ्ख्या बढी देखिन गएको उहाँको भनाइ छ । 

बेपत्ता र बेचबिखनमा पर्ने अर्को प्रमुख कारणमा घरेलु हिंसा पनि हो । महोत्तरीमा आव २०८०/८१ मा घरेलु हिंसाका ६९४ मुद्दा दर्ता भएका थिए । त्यसमध्ये ५६४ मुद्दा फस्र्योट भएको उहाँले बताउनुभयो । 

हिंसामा पर्ने महिलाले परिवारबाट मुक्तिका अवसर खोजिरहेका हुन्छन् । यो अवस्थालाई दलालले अवसरका रूपमा प्रयोग गरेको पाइएको छ । रोजगारीको प्रलोभनमा पारेर पनि बेचबिखन गर्ने अवस्था देखा परेको छ । सूचना र चेतनाको अभावले पनि यसलाई नियन्त्रण गर्न गाह्रो पारेको उहाँको भनाइ छ । 

पोखरेलले भन्नुभयो, “मानव बेचबिखनबारे अझै पनि ग्रामीण भेगका समुदायस्तरमा सुसूचित गर्न सकिएको छैन । गरिबीबाट उन्मुक्तिको चाहना, छिटो धनी हुने सपना र जीविकोपार्जनका लागि पनि बेचबिखनको सिकार हुने गरेको घटनाक्रमले देखाएका छन् ।”

नेपाल बार एसोसिएसन महोत्तरीका अध्यक्ष दीपक विश्वकर्माले शरीर बन्धक तथा मानव बेचबिखनका अनेकन जटिलता तथा कारण रहेको बताउनुभयो । तथापि मानव बेचबिखन जस्तो जघन्य अपराध र मानव अधिकारविरुद्धको क्रियाकलाप निर्मूल गर्न ऐन र नियमावली आएको डेढ दशक बितिसक्दा पनि घटनाको प्रभावकारी अनुसन्धान हुन नसक्दा दोषी उम्किने र निर्दोष फस्ने जस्ता घटनाक्रम बढ्न थालेको उहाँले बताउनुभयो । 

महोत्तरी बारका पूर्वअध्यक्ष विजय ठाकुरका अनुसार पछिल्लो समय लेनदेन मुद्दामा पनि मन नमिल्दा मानव बेचबिखन कसुरमा मुद्दा चलाउने क्रम पनि बढ्दै गएको छ । उहाँले भन्नुभयो, “अपराध नियन्त्रणका लागि ऐन कानुन आवश्यक छ तर त्यसैको आडमा कानुनको दुरुपयोग हुँदा दोषी उम्किने, दण्डहीनता बढ्ने जस्ता घटनाले अन्ततः अपराधलाई नै प्रश्रय दिन्छ । यसतर्फ पनि राज्य र तिनका निकाय सजग हुनु पर्छ ।”