• २२ भदौ २०८१, शनिबार

निजामती सेवाको भविष्य

blog

‘निजामती’ शब्दले सरकारी सेवामा कार्यरत कर्मचारी र तिनको समूहलाई जनाउँछ, जसले प्रशासनिक र कार्यकारी जिम्मेवारी वहन गर्छन् । यो शब्द विशेष गरी सरकारी निकायमा कार्यरत स्थायी कर्मचारीलाई इङ्गित गर्न प्रयोग हुन्छ, जो सरकारी नीति, योजना र कार्यक्रमको कार्यान्वयनमा संलग्न हुन्छन् । सामान्यतया, ‘निजामती’ शब्दले राज्यको सेवा र प्रशासनलाई समर्थन गर्ने कर्मचारीको समूहलाई बुझाउँछ । निजामती सेवा भनेको देशको प्रशासनिक ढाँचाको एक महत्वपूर्ण अङ्ग हो, जसले सरकारी संरचना, कानुनी कार्य र जनतालाई प्रदान गरिने सेवा सुचारु राख्न मद्दत गर्छ । 

निजामती सेवा दिवस प्रत्येक वर्ष भदौ २२ गते मनाइन्छ । आज पनि यो दिन विशेष महत्वका साथ मनाइँदै छ । यो दिवस नेपालको सरकारी संरचनाको एक प्रमुख अङ्ग रहेको निजामती कर्मचारीको योगदानको कदर गर्दै, उनीहरूलाई प्रोत्साहित गर्न र सुधारका लागि प्रतिबद्धता जनाउने अवसर हो । निजामती सेवा नेपालमा प्रशासनिक र सरकारी कार्यको मेरुदण्ड हो । यसले नीतिगत निर्णय कार्यान्वयन गर्ने, जनतालाई सेवा पु¥याउने र विकास योजनालाई प्रभावकारी रूपमा अगाडि बढाउने कार्य गर्छ । दिगो विकास, सुशासन र समाजको समग्र प्रगति साकार पार्नमा निजामती सेवाको योगदान अतुलनीय छ । निजामती सेवा दिवस २०८१ ले हामी सबै निजामती कर्मचारीलाई नयाँ जोस र उत्साह प्रदान गर्न, उनीहरूको महत्वपूर्ण भूमिकालाई उजागर गर्न र सुधारको आवश्यकता औँल्याउन महत्वपूर्ण अवसर प्रदान गरोस् भन्ने शुभकामना पनि व्यक्त गर्न चाहन्छु ।

निजामती कर्मचारी कानुनको कार्यान्वयनकर्ता हुन् तर कानुनको कार्यान्वयनले मात्र यसको दायरा समेट्दैन । नीति निर्माणमा सहयोगदेखि राजनीतिक नेतृत्वलाई राज्य सञ्चालनका लागि आवश्यक पर्ने सूचना तथा जानकारीका साथै ज्ञान, अनुभव र सिपका आधारमा विज्ञताको परामर्श दिने काम पनि निजामती कर्मचारीको हो । एकातर्फ कानुन कार्यान्वयनमा क्षमता र दक्षताको न्यूनताको आभास छ भने अर्कातर्फ विज्ञताको परामर्श दिने काममा पनि सक्षमता त्यति देखिएको छैन । यसले गर्दा वर्तमान निजामती सेवाले प्रभावकारिता प्रदर्शन गर्न सकेको छैन । 

नेपालको निजामती सेवाको भविष्य एक चुनौतीपूर्ण र परिवर्तनशील अवस्थामा रहेको छ । एकातर्फ मुलुकको पुनर्संरचनाका कारण तीन तहमा विभक्त शासकीय प्रणालीमा निजामती प्रशासन अभ्यस्त नभइसकेको अवस्था छ भने अर्कातर्फ विज्ञान प्रविधिलगायत शासन सञ्चालनका विविध क्षेत्रमा देखिएको आधुनिकता, अन्वेषण, परिवर्तन र विकासका कारण त्यसलाई सम्बोधन गर्न सक्ने क्षमताको न्यूनता रहेको छ । यस्तो चुनौतीले नेपालको दिगो विकास, सुशासन र नागरिक सेवाको गुणस्तरमा महत्वपूर्ण प्रभाव पारिरहेको छ । 

निजामती सेवा नेपालको सरकारी संरचनाको मेरुदण्ड हो, जसले सरकारी नीति कार्यान्वयन गर्न, नागरिकलाई सेवा पु¥याउन र जनताको जीवनस्तर उकास्न ठुलो भूमिका खेल्छ तर नेपालको निजामती सेवा अहिले विविध चुनौतीको सामना गरिरहेको छ । प्रमुख चुनौतीमा कर्मचारीको दक्षता अभाव, पुरानो कार्यप्रणाली, भ्रष्टाचार र कमजोर प्रोत्साहन संरचना हुन् । यसै गरी डिजिटल रूपान्तरण, प्रविधिमा आधारित सेवा वितरण र पारदर्शिता प्रमुख हुन् । पुरानो प्रणालीलाई सुधार गर्दै आधुनिक प्रविधि र डिजिटल प्रक्रियामा रूपान्तरण गर्नु पनि महत्वपूर्ण चुनौतीका रूपमा रहेका छन् । यसका लागि कर्मचारीको दक्षता अभिवृद्धि, इगभर्नेन्सको विस्तार र भ्रष्टाचारमुक्त प्रशासनिक प्रणालीको निर्माणमा जोड दिनु परेको छ ।  

प्रविधिको तीव्र विकाससँगै निजामती सेवा आधुनिक हुनुपर्ने अपरिहार्यता बन्दै गएको छ । डिजिटल सरकारी सेवा, इगभर्नन्स प्रणाली र प्रविधिमा आधारित निर्णय प्रक्रियामा अभ्यस्त हुन आवश्यक छ । विश्वव्यापीकरणले पनि नेपालका निजामती कर्मचारीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार काम गर्न सक्षम हुनुपर्ने दायित्व दिएको छ । दक्षता विकास, प्रशिक्षण र क्षमता अभिवृद्धिका कार्यक्रममा ठोस पहल आवश्यक छ । नवीन सोच, अत्याधुनिक एवं उच्चतम प्रविधिको ज्ञान र पारदर्शी प्रक्रिया अपनाउनुपर्ने हुँदा पुरानो संरचना सुधार गरी परिणाममुखी सेवामा बदल्नु अत्यावश्यक छ । यसमा निजामती सेवामा भर्ना प्रक्रियादेखि सरुवा पदस्थापनासँगै मूल्याङ्कन प्रणाली र कार्यसम्पादन प्रोत्साहनका क्षेत्रमा व्यापक रूपमा सुधार गर्नुपर्ने देखिन्छ ।

निजामती सेवाको भविष्य उज्ज्वल बनाउन सरकारको दृढ इच्छाशक्ति हुनु पर्छ । नीतिगत सुधार गर्नु पर्छ । कर्मचारीको मनोबल उच्च बनाउन ठोस कदम चाल्नु पर्छ । यसका लागि प्राविधिक रूपान्तरणसँगै संस्थागत क्षमता अभिवृद्धि र जनसेवा अभिमुखी प्रणालीलाई अगाडि बढाउनु पर्छ । सेवा क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र सेवामुखी चरित्रलाई सुदृढ गर्नका लागि भ्रष्टाचार नियन्त्रणका कडा उपाय अपनाउनु पर्छ । यस्ता सुधारले निजामती सेवाको भविष्यलाई सक्षम, उत्तरदायी र जनउत्तरदायी बनाउन मद्दत पु¥याउने छ, जसले नेपालको समृद्धि र सुशासनको मार्गलाई सुदृढ पार्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्न मद्दत गर्नेछ ।

निजामती सेवा दिवस २०८१ को मुख्य उद्देश्य आगामी दिनमा निजामती सेवालाई अझ सक्षम, उत्तरदायी र जनमुखी बनाउने रहेको छ । यस वर्षको दिवसले प्रशासनिक सुधारका प्रयासलाई सशक्त बनाउन र नयाँ प्रविधिको प्रयोगद्वारा सेवा प्रभावकारिता सुधार गर्न केन्द्रित हुने छ । निजामती सेवा दिवसले कर्मचारीको मनोबल बढाउने, उनीहरूलाई सामाजिक न्याय र सुशासनका लागि प्रेरित गर्ने र देशको विकास यात्रामा नयाँ दृष्टिकोणको सन्देश दिने अपेक्षा गर्न सकिन्छ । 

 

Author

सुमन दाहाल