• २३ भदौ २०८१, आइतबार

मधेशमा तीज र चौरचनमा छमछमी

blog

तीज पर्वको अवसरमा महोत्तरीको बर्दिवास ३ गौरीडाँडा महादेव मन्दिर परिसरमा पूजा अर्चनापछि सामूहिक नाचगान गर्दै व्रतालु। तस्बिर – रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दिबास, भदौ २१ गते। यो वर्षको तीज र गणेश चौथी (चौरचन) एकैपटक परेकाले शुक्रबार मधेश प्रदेश पर्वको उत्सवमा डुबेको छ। भाद्र शुक्ल पक्षको तृतीया र चतुर्थी तिथि एकै साथ पर्न गएकाले मधेशका ग्रामीण भेगदेखि हाटबजारसम्म धार्मिक अनुष्ठान र उत्सवको माहौल देखिएको हो। 

तीजको रमाइलोमा प्रदेश सांसद एवं पूर्व राज्यमन्त्री शारदा थापाले व्रतालु महिलासाथ मञ्चमै छमछमी नाचेर एकताको सन्देश दिनुभयो। उहाँलाई साथ दिएर नगरप्रमुख प्रह्लाद क्षेत्री र बर्दिबास ३ का वडाध्यक्ष  विराट विष्टले पर्वको उत्सवलाई थप रमाइलो पार्नुभयो। 

दोहरो पर्वको रौनकले सबैतिर छाएको धार्मिक अनुष्ठान, पूजा, धार्मिक गीतसङ्गीत र नृत्यले मधेश अहिले भक्तिमय बनेको छ। 

महोत्तरीका बर्दिबास, गौशाला, औरही, जलेश्वरलगायतका देवस्थलमा व्रतालु महिलाको बिहानैदेखि भीड लागेको छ। यस अवसरमा रातु, मडाहा, जंगाहा जस्ता जिल्लाका पवित्र नदी एवं तलाउमा हिन्दू नारीले सामूहिक स्नान गरेर देवाधिदेव महादेव तथा सिद्धि विनायक गणेशको व्रत बस्दै यो पर्व मनाइरहेका छन्।  


बर्दीबास नगरपालिकाले वडा नम्बर १ लोकमार्ग क्षेत्र र वडा नम्बर ३ गौरीडाँडाको खुलामञ्चमा छुट्टाछुट्टै तीज कार्यक्रमको आयोजना गरेको छ।