• ११ मंसिर २०८१, मङ्गलबार

गोरखा–आँबुखैरनी सडक अवरुद्ध

blog

पहिरोका कारण अवरुद्ध भएको सडक ।

गुणबहादुर रोका

सुलीकोट, भदौ २१ गते । अबिरल बर्षाका कारण गोरखा–आँबुखैरेनी सडक खण्ड अवरुद्ध भएको छ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण पृथ्बी राजमार्ग अन्तर्गत गोरखा आँबुखैरेनी सडक खण्ड अवरुद्ध भएको हो । 

आँबुखैरेनी ५ किलोमा शुक्रबार बिहान ५ बजे पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दुई दिनदेखि निरन्तर रुपमा परेको अविरल वर्षाले गोरखा नगरपालिका –१३ स्थित ५ किलोमा बिहान ५ बजे पहिरो गएको छ ।

गोरखाबाट काठमाडौं, चितवन, पोखरा लगायत ठाउँमा पुग्नु पर्ने सवारी साधनहरु बिचबाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । लेदोसहित ठुलो पहिरो गएकाले पहिरो पन्छाउन नेपाल प्रहरी, गोरखा सडक योजना कार्यालय र गोरखा नगरपालिकाको सहयोगमा जेसिबी प्रयोग गरी पहिरो पन्छाउन सुरु भएको प्रहरीको भनाइ छ । 

अबको केही घण्टामा  सडक सुचारु हुने गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर रानामगरले बताउनुभयो । झण्डै ५ घण्टादेखि यात्रुवाहक सवारी साधनहरु रोकिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

पहिरोका कारण आँबुखैरनी सडक बन्द भएको छ । निरन्तर रुपमा जेसिबीले पहिरो पन्छाउने काम गरिरहेकाले छिट्टै नै एकतर्फी रुपमा भए पनि सडक सुचारु गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक श्रेष्ठको भनाइ छ ।