• ११ मंसिर २०८१, मङ्गलबार

ग्रामीण सडक कालोपत्रे गरिँदै

blog

सडक व्यवस्थित गराउन प्राविधिक मूल्याङ्कन र स्थलगत अनुगमन गर्दै नगरप्रमुखलगायत । तस्बिर : राधाकृष्ण डुम्रे

वालिङ समाचारदाता 

वालिङ, भदौ २१ गते । स्याङ्जाको गल्याङ नगरपालिकाले ग्रामीण तथा अन्य सडकको कालोपत्रे र व्यवस्थित गर्न सुरु गरेको छ । पालिकाले ११ वटै वडामा रहेका ग्रामीण सडकलाई व्यवस्थित गराउन सक्रियता देखाएको हो । नगरप्रमुख गुरुप्रसाद भट्टराईले अविरल वर्षाका कारण सडक अस्तव्यस्त हुने गरेको भन्दै बाहै्र महिना सञ्चालन हुने गरी काम गरिरहेको जानकारी दिनुभयो । गल्याङ–निबुवाखर्क सडक अन्तर्गतको पढकाङसम्मको सडकलाई कालोपत्रे गर्ने काम पूरा भएको प्रमुख भट्टराईले बताउनुभयो । दुई किलोमिटर सडक कालोपत्रे हुँदा नगरका पश्चिम क्षेत्रका नागरिकलाई सहज भएको उहाँको भनाइ छ । तीन करोड ५० लाख रुपियाँको लागतमा यो सडकको स्तरोन्नतिका साथै कालोपत्रे गरिएको हो । 

यस्तै गल्याङ–राम्चे सडक पनि कालोपत्रे गरिएको छ । जसका कारण उक्त क्षेत्र भएर यात्रा गर्ने नागरिकलाई सहज भएको प्रमुख भट्टराईले बताउनुभयो । भौतिक पूर्वाधार मन्त्रालय र पालिकाको सहकार्यमा कालोपत्रे गरिएको पालिकाले जनाएको छ । सात करोडको लागतमा सडकलाई 

व्यवस्थित गरिएको हो । पालिकाले गएको आर्थिक वर्षमा गल्याङ–तुलसीभन्ज्याङ ग्रामीण सडकको झन्डै तीन किलोमिटर सडक कालोपत्रे गरेको जनाएको छ । प्रत्येक वडा कार्यालयसम्म पुग्ने सडकलाई सहज बनाउने गरी पालिकाले काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले जानकारी दिनुभयो । 

यसैबिच नगरपालिकाले गल्याङ, गराङदी, गुठी हुँदै इलुङ्गा जोडने ग्रामीण सडक कालोपत्रे गर्न प्राविधिक मूल्याङ्कनको काम गरिरहेको नगरप्रमुख भट्टराईले बताउनुभयो । पहिलो चरणमा गल्याङदेखि ब्वाङ खुसिलो सडकखण्ड र बाँसघारी–पिपलभन्ज्याङ सडकखण्ड कालोपत्रे गरिने उहाँको भनाइ छ । गल्याङ नगरपालिकाको समपूरक बजेट अन्तर्गत दुई करोड रुपियाँको लागतमा तत्काल ठेक्का प्रक्रिया सञ्चालन गरी उक्त सडकको स्तरोन्नति गरिने प्रमुख भट्टराईले बताउनुभयो ।