• २ माघ २०८१, बुधबार

पशुपतिनाथ मन्दिरमा तिजको उल्लास

blog

काठमाडौँ, भदौ २१ गते । हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना गर्न आउने भक्तजनको व्यवस्थापन, सुरक्षा र मन्दिर दर्शन गर्ने सम्पूर्ण प्रबन्ध मिलाइएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाका अनुसार बिहीबार साँझदेखि नै सम्पूर्ण भक्तजन र श्रद्धालुका लागि पशुपतिनाथ मन्दिर दर्शनमा सहजीकरण गर्न थालिएको हो । उहाँले शुक्रबार बिहानैदेखि आउने ब्रतालुको व्यवस्थापनको तयारी पूरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नित्य दर्शनार्थी बिहान ६:०० बजेसम्मका लागि मात्र चार ढोकामध्ये जुनसुकै ढोकाबाट प्रवेश गरी दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ । 

तिज आमा, दिदीबहिनीको विशेष सद्भाव र आस्थाका पर्व भएकाले अन्य भक्तजनले बिहान ६ बजे नै दर्शन गरिसक्नुपर्ने छ ।” मन्दिर दर्शनका लागि कुनै पनि किसिमको पासको व्यवस्था गरिएको छैन । कोषका प्रवक्ता रेवतीरमण अधिकारीले व्रतालु दर्शनार्थीको सेवासुविधाका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दन, प्रसादको व्यवस्था, दर्शन मार्गको व्यवस्था एवं सुधार, पाउपोस (जुत्ता, चप्पल) राख्ने ठाउँको व्यवस्था मिलाइएको बताउनुभयो । उहाँका अनुसार आकस्मिक स्वास्थ्य सेवा, उपासनासहितको मनोरञ्जनात्मक भजनकीर्तन, दीपावली, व्रतालुले गौदान गर्ने स्थानको व्यवस्था जस्ता कार्यक्रमलाई सहज रूपमा गर्ने व्यवस्था मिलाइएको छ ।

प्रवक्ता अधिकारीका अनुसार गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर, बासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरी निस्किएर कैलाश दक्षिण जुत्ता–चप्पल कक्षबाट जुत्ता–चप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ । उहाँले मित्रपार्क, जयवागेश्वरी–गौशाला–भुवनेश्वरी–शङ्कराचार्यमठ दक्षिण हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शङ्कराचार्यमठ दक्षिण जुत्ता–चप्पल कक्षबाट जुत्ता–चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको जानकारी दिनुभयो । 

मासु र मदिरा निषेध

पशुपतिनाथ मन्दिर क्षेत्रभित्र र आसपासमा बिहीबारदेखि मासु, मदिरा तथा नसालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न निषेध गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बुधबार सूचना जारी गरी हिन्दु नारीको चाड हरितालिका तिज पर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न मन्दिर परिसरमा नसालु पदार्थ निषेध गरिएको उल्लेख गर्नुभयो । 

उहाँका अनुसार गौशाला, मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला–तिलगङ्गा–चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड, गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा मासु र मदिरासहितका सामग्री निषेध गरिएको छ । उहाँले पाशुपत क्षेत्रभित्रको सुरक्षालगायत धार्मिक एवं सांस्कृतिक मर्यादा तथा पवित्रता कायम राख्ने उद्देश्यसमेतलाई दृष्टिगत गरी भदौ २२ गतेसम्म यो नियम लागु हुने र उल्लङ्घन गर्नेलाई कारबाही गरिने जानकारी दिनुभयो ।