• ११ असोज २०८१, शुक्रबार

पलेशाको पदक यात्रा

टोकियोको घाउ पेरिसमा पुरियो

blog

पदक जितेर स्वदेश फर्किएपछि पलेशा गोवर्धन । तस्बिर सौजन्य : राखेप

काठमाडौँ, भदौ २० गते । प्रत्येक चार वर्षमा आयोजना हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालले सन् १९६४ देखि सहभागिता जनाउँदै आएको छ । तर, ६० वर्ष लामो ओलम्पिक यात्रामा नेपालले पदक जित्न सकेको थिएन । 

सहभागितामै रम्दै आएको नेपालको ओलम्पिक यात्रामा पदकको सपना पूरा गर्ने काम पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनबाट सम्भव भएको छ । पेरिसमा जारी पारा ओलम्पिकमा पलेशाले के–४४ स्पर्धाको महिला ५७ केजीमुनि कांस्य जितेर नेपालको सान बढाउनुभएको हो । उहाँले कांस्यका लागि भएको भिडन्तमा सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले हराउनुभएको थियो । 


नेपालले सन् २००४ को एथेन्स पारा ओलम्पिकदेखि सहभागिता जनाउँदै आएपनि पदकविहीन थियो । पलेशाले यसअघि जापानको टोकियोमा भएको पारा ओलम्पिकमा पनि नेपालको प्रतिनिधित्व गर्नुभएको थियो । त्यतिबेला नेपालबाट एक्लो पारा खेलाडीको रुपमा ओलम्पिकको अनुभव सम्हाल्नुभएकी पलेशा पहिलो चरणबाटै बेलायतकी बेथ मुनरोसँग २१–८ ले पराजित हुनुभएको थियो । 

तर दोस्रो सहभागितामा पलेशाले पदक जित्दै नेपालको गौरव बढाउनुभएको छ । टोकियोमा उहाँले भोगेको हारको चोटलाई पेरिसमा पुगेर पदकमा परिणत गर्नुभयो । टोकियोमा वाइल्ड कार्डमार्फत भाग लिनुभएकी पलेशाले पेरिस यात्रा छनोट चरण पार गरेरै तय गर्नुभएको थियो । एसियाली खेलकुदमा कांस्य पदक विजेता उहाँले गत वर्ष चीनमा भएको एसियन च्याम्पियनसिपमा स्वर्ण जित्दै ओलम्पिकमा छनोट हुनुभएको हो । 

पलेशाले केही गर्छु भन्ने आत्मविश्वासका साथ खेल्दा पदक सम्भव भएको बताउनुभयो । ‘‘मनैदेखि इच्छा भयो भने सम्भव हुने रहेछ । ओलम्पिक जस्तो स्पर्धामा नेपालले केही गर्नुपर्छ भनेर खेलेँ । क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेजसँग अन्तिममा १०–८ पराजित हुँदा दुःख लागेको थियो । तर गुरुले रिपाचेज बाँकी छ भनेपछि पदकको आशा राखेर खेलेको थिएँ । पदक जितेपछि नेपालको झण्डा बोकेर गुरुसँग रिङमा घुम्दाको क्षणलाई शब्दमा वर्णन गर्न गाह्रो छ,’’ पलेशाले भन्नुभयो । 


उहाँले सबैको भरोसालाई कायम राख्दै पहिलो पटक नेपाललाई पदक जिताउन पाउँदा खुसी लागेको पनि बताउनुभयो । ‘‘मैले जितेको पदक आफ्नो मात्र नभई सिङ्गो राष्ट्र र सम्पूर्ण नेपालीको हो । आफैलाई विश्वास गर्नु नै जितको सबै भन्दा ठुलो हतियार रहेछ । बेलायतमा एक महिना गरेको अभ्यासले पदक जित्न धेरै सहयोग पुग्यो । नेपालका खेलाडीलाई पनि अन्य देशका खेलाडीलाई जस्तै प्रशिक्षण, तयारी र अन्य सुविधा भए धेरै खेलाडीले पदक जित्न सक्नेछन् । छोटो तयारीले पदक जित्न सकेका छौँ । अब हामीसँग पनि ओलम्पिक पदक छ, भन्न पाइएको छ । यसले अरू युवा खेलाडीलाई पनि प्रेरणा मिलेको छ । भविष्यमा अझ मेहनत गरेर ठुलो पदक जित्नेछु,’’ २१ वर्षीया पलेशाले भन्नुभयो । 

पलेशा खेलसँगै चीनमा आर्किटेक्टर इन्जिनियरिङ पढ्दै हुनुहुन्छ । काठमाडौँको बागबजारमा जन्मिनु भएकी पलेशाले सन् २०१६ मा राष्ट्रिय पारा तेक्वान्दोमा ‘डेब्यु’ गर्नुभएको थियो । विश्व च्याम्पियनसिप खेल्दा उहाँ १३ वर्षको हुनुहुन्थ्यो । उहाँको जन्मजात बायाँ हातको नाडीभन्दा तल्लो भागको विकास भएको छैन ।

पदकको आधार तयारी र म्याच एक्सपोजर 

यस्तै पलेशाका प्रशिक्षक कविराज नेगी लामाले पलेशाले राम्रो तयारी र म्याच एक्सपोजर पाएकोले पदक सम्भव भएको बताउनुभयो ।

‘‘अघिल्लो ओलम्पिक, एसियाली खेलकुद, एसिएन च्याम्पियनसिप जस्ता ठुला प्रतियोगितामा राम्रो गरिरहेकोले पेरिसमा पदक जित्छ भन्ने लागेको थियो । लन्डनमा गरिएको एक महिने तयारीले पनि धेरै सुधार भयो । भोलेन्टियर प्रशिक्षक भएर पनि आफ्नो खेलाडीलाई ओलम्पिकमा पदक दिलाउन सक्दा खुसी छु । म भोलेन्टियर भएपनि नेपालमा पलेशा जस्तै धेरै खेलाडी छन् । राम्रो सुविधा दिएर तयारी गरियो भने पदक टाढा रहेनछ,’’ नेगीले भन्नुभयो । उहाँले नौ वर्षदेखि पलेशा सहित पारा खेलाडीलाई प्रशिक्षण गराउँदै आउनुभएको छ । 


राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले पलेशाको पदकले नेपालमा धेरै खेलाडीलाई आत्मबल बढाएको बताउनुभयो । ‘‘पछिल्लो समय राखेपले अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने खेललाई लक्षित गरी प्रशिक्षण र तयारीको व्यवस्था गरिरहेको छ । हामी अब मिसन २०२६ मा स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्यसहित लागेका छौँ । अहिले नै आगामी एसियाली खेलकुदका लागि तयारी सुरु भइसकेको छ । पलेशाले ओलम्पिकमा पदकको खाता खोलेको छ । अब यस खातामा धेरै खेलाडीले पदक थप्नेछन्,’’ टङ्कलालले भन्नुभयो । 


कांस्य पदक जितेर बुधबार बिहान मात्र स्वदेश फर्कनु भएकी पलेशालाई अहिले देशभरबाट बधाई र सम्मानको ओइरो लागेको छ । पदक जितेर स्वदेश फर्किएको पहिलो दिन नै पलेशालाई राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौँ महानगर पालिकाका प्रमुख बालेन्द्र शाहले पाँच लाख रुपियाँसहित सम्मान गर्नुभयो । 

प्रधानमन्त्री ओलीले पलेशालाई बधाई दिँदै उहाँले सरकारबाट बाउने ६५ लाख रुपियाँमा कर मिनाहा गरिने घोषणा समेत गर्नुभएको छ । पलेशाको सम्मानका लागि अहिले विभिन्न सङ्घ संस्था र कर्पोरेट हाउसले पनि सम्मानको घोषणा गरिरहेका छन् । 

जसले खेल्नुभो पारा ओलम्पिक

नेपाली पारा खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा लामो समयदेखि सहभागिता जनाएपनि ओलम्पिकमा उनीहरूको सहभागिता निकै पछि भएको हो । 

शारीरिक रूपमा अपाङ्गता वा विशेष क्षमता भएका व्यक्तिले खेल्ने खेल पारा ओलम्पिकमा नेपालको सहभागिताले भर्खर पाँचौँ संस्करण पूरा गरेको छ । 

नेपालले सन् २००४ मा ग्रिसको एथेन्समा पाराओलम्पिक देखि सहभागिता जनाएको हो । सो पारा ओलम्पिकमा वाइल्ड कार्डमार्फत नेपालका पारा खेलाडी निर्मला ज्ञवालीले एथलेटिक्समा प्रतिस्पर्धा गर्नुभएको थियो । 

त्यसपछि सन् २००८ को बेइजिङ पारा ओलम्पिकमा जितबहादुर खड्काले एथलेटिक्सको एक सय मिटरमा प्रतिस्पर्धा गर्नुभयो । जितबहादुरको २०७२ सालको भूकम्पमा परि निधन भएको थियो । यस्तै सन् २०१२ को लण्डन पारा ओलम्पिकमा नेपाली पारा खेलाडी मैया बिशंखे र विक्रमबहादुर राणाले प्रतिस्पर्धा गर्नुभयो । 

त्यसपछि विक्रमसँगै पौडीकी लक्ष्मी कुँवरले सन् २०१६ मा ब्राजिलको रियो दि जेनेरियोमा भएको पारा ओलम्पिकमा नेपालको चुनौती प्रस्तुत गर्नुभएको थियो ।