• १३ पुस २०८१, शनिबार

तीन अर्बको खाद्यवस्तु आयात

blog

महोत्तरीको मलिावारस्थित प्लान्ट क्वारेन्टाइनको कार्यालय । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दिबास, भदौ १९ गते ।
कृषि प्रधान जिल्ला महोत्तरीमा आर्थिक वर्ष ०८०/८१ मा तीन अर्ब १० लाख रुपियाँभन्दा बढीको भारतीय कृषि उत्पादन आयात भएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख  मनीष पालका अनुसार महोत्तरीमा ६४ हजार ९७७ हेक्टर कृषियोग्य जमिन छन् । जहाँ ४३ हजार ७५० हेक्टरमा धान लगायत अन्न वाली, २२ हजार ६८० हेक्टरमा तरकारी र चार हजार ५९५ हेक्टरमा फलफूल खेती हुने गरेको छ ।
यता भान्टा, मुला, गोलभे‌डा र फर्सीसमेत आयात भएको तथ्याङ्कले कृषि क्षेत्रमा राज्यले गरेको लगानीप्रति अनेकन प्रश्न उब्जाएका छन् ।

सीमा नाका मलिवारास्थित प्लान्ट क्वारेन्टिन कार्यालय जलेश्वरका अनुसार गत आव ०८०/८१ मा यो नाका हुँदै एक अर्ब ५४ करोड ५८ लाखको खाद्यान्न, १९ करोड ६३ लाखको दाल, ४३ करोड २९ लाखको फलफूल र ८१ करोड ८६ लाखका हरियाे तरकारी आयात भएको छ । क्वारेन्टिन प्रमुख किशोर यादवका अनुसार यो त सरकारी मूल्याङ्कन हो । बजार मूल्यमा यो आयात दोब्बरभन्दा बढी हुन जान्छ ।

यस अवधिमा १९ हजार ९३८ मे. टन धान, १४ हजार २३५ मे. टन चामल र साढे २४ मे. टन मकै आयात भएको देखिन्छ । खुला सीमाबाट भित्रिने गरेका सिधासामलको त लेखाजोखा नै छैन ।

क्वारेन्टिन प्रमुख यादवका अनुसार भारत सरकारले धान र चामलमा प्रतिबन्ध, आयात शुल्क र कोटा प्रणाली जस्ता तगारो नलगाएको भए आयत अझ बढने थियो ।

उहाँले भन्नुभयो, ‘‘भारतीय अवरोधले कनिकाको आयात त ठप्पै भयो । धान पनि चैतदेखि मात्र आउन थाल्यो । चामलमा समेत भारतले कोटा प्रणाली र  निर्यात कर नलगाएको भए आयात अझ बढने थियो ।’’

हरिया  तरकारी र फलफूलको आयात पनि कहालीलाग्दो छ । आलु प्याजमा त मुलुक वर्षौदेखि भारतीय उत्पादनमा निर्भर छ नै । सामान्य मानिने भन्टा र मुलामा पनि परनिर्भरता बढ्दो छ ।

प्लान्ट क्वारेनटाइनको वार्षिक प्रतिवेदन अनुसार यस अवधीमा भारतबाट २९ हजार ६१० मेट्रिक टन हरीया तरकारी आयात भएका छन् । भारतीय प्रतिबन्धको बावजुद प्याज पाँच हजार २२५ मे. टन आयात भएको छ भने सबैभन्दा बढी आलुको आयात २१ हजार ७३० मे. टन पुगेको छ । त्यस्तै गोलभेंडा ९७४ मे. टन, फर्सी ९०६ मे. टन, हरियो केराउ १६१ मे. टन, हरियो खोर्सानी १४६ मे. टन, परवल ११९ मे. टन र काउली ३७ मे. टन आयात भएको प्रतिवेदनमा उल्लेख छ । 

नेपालीको छाक टार्न भिन्डी, बन्दा, काँक्रो, भन्टा, गाजर, चुकन्दर, अमला र लौकासमेत आयात गर्नुपरेको छ । जावो मुलासमेत साढे ४ मे. टन आयात गर्नुपरेको तथ्याङ्कले मुलुकको बढ्दो परनिर्भरतामाथि टीठ लाग्न थालेको उहाँले बताउनुभयो ।

ताजा फलफूलको आयात पनि बढ्दो क्रममा देखिएको छ । स्याउ, सुन्तला, अनार, केरा, मेवा, अम्बा, बयर, सरिफा र तरबुजासमेत गरी १३ प्रकारका ६ हजार २०७ मेट्रिक टन ताजा फलफूल आयात भएको छ । यो आयात ४३ करोड २९ लाख रुपियाँको छ ।

जलेश्वर भन्सार अधिकृत सन्तोष ज्ञवालीका अनुसार आयात भएका खाद्यान्न, फलफूल र हरियाे तरकारीबाट राजस्वमा समेत खासै योगदान पुग्दैन ।

उहाँले भन्नुभयो, ‘‘हरिया तरकारीमा ट्रेडिङका सामान जस्तो कर नलगाइएकाले आयातको मात्रा ठूलो देखिए पनि यसवाट राजस्व सङ्कलन भने खासै हुँदैन ।’’

कृषि ज्ञान केन्द्र प्रमुख मनीष पालका अनुसार कतिपय खाद्यान्नको उत्पादन बढाउनुपर्ने अवस्था पनि छ । तथापि नेपाली उद्योगले स्तरीय उत्पादन गर्न नसक्दा भोजभतेरमा भारतीय रिफाइन्ड चामलको आयात बढ्न गएको हो ।

वैदेशिक रोजगारी र बद्लिदो जीवनशैलीका कारण बारी बगैंचा बाँझो राख्ने, धान, गहुँ बेचेर आयातित खाद्यवस्तु प्रयोग गर्ने प्रवृत्तिले पनि भारतीय कृषि उत्पादनको आयात बढ्दै जाने अर्को कारण भएको उहाँले बताउनुभयो ।