• ११ मंसिर २०८१, मङ्गलबार

लुइँटेल-बाह्रपिर्के-ठाँटीपोखरी सडक चार दिनपछि सुचारु

blog

गुणबहादुर रोका

सुलीकोट, भदौ १८ गते । गोरखामा अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत लुइँटेल–बाह्रपिर्के–ठाँटीपोखरी सडक खण्ड ४ दिनपछि सुचारु गरिएको छ । खोलाको बिचमा ह्युम पाइप बाढीले बगाएर ५ मिटर तल लगेपछि झण्डै ४ दिनदेखि लुइँटेल बाह्रपिर्के–ठाँटीपोखरी चल्ने सवारीसाधनहरु ठप्प थिए । सडक खुलाउन पूर्व मन्त्री हरिशरण आचार्यको नेतृत्वमा गएको टोलीले सडक खुलाउन मध्यपहाडी लोकमार्ग कार्यालय पालुङटारको योजना कार्यालयमा आग्रह गरेको थियो । 

तत्कालै मध्यपहाडी लोकमार्गको पालुङटारामा भएको कार्यालयले सडक खुलाउन हेभि इक्योपमेन्ट डुम्रेको जेसिबी प्रयोग गरी मध्यपहाडी लोकमार्ग अन्तर्गत लुइँटेल–बाह्रपिर्के–ठाँटीपोखरी सडक मङ्गलबार बिहान ९ बजेबाट खुलाइएको मध्यपहाडी लोकमार्ग योजना कार्यालयका प्रमुख शङ्कर पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार यस सडक गोरखाबाट पालुङटार नगरपालिका, तनुहँ र लम्जुङ जाने मुख्य सडक भएकाले पनि खोलामा रहेको ह्युम पाइप केही मिटर पर सारेपछि स्थानीयको दबाबमा स्थानीय जनप्रतिनिधि, मध्यपहाडी लोक मार्गको कार्यालयको समन्वयमा निरन्तर प्रयास गर्दा पनि जेसिबीले ४ दिनमा खोलाबाट अस्थायी बाटो बनाएर सडक बाटो खुलाइएको उहाँले बताउनुभयो ।

अवरुद्ध भएको सडक पालुङटार नगरपालिका–४ ठाँटीचौर नजिक रहेको खोलामा पाइप बगाएपछि गोरखा सदरमुकाम लगायतका ठाउँहरुमा सवारीसाधनबाट आवतजावत गर्न समस्या परेको थियो । गोरखा सदरमुकामबाट बाह्रपिर्के जानुपर्ने सवारीसाधन बडाडा हुँदै घुम्नुपर्ने अवस्था रहेकाले सबैभन्दा बढी विद्यार्थीहरु मर्कामा परेपछि स्थानीयले सडक खुलाउन आग्रह गरेका थिए ।   

सडक सुचारु भएपछि गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, तनुहँको आँबुखैरेनी र पालुङटार नगरपालिकाबाट लम्जुङको राईनास नगरपालिका  आवतजावत गर्ने यात्रुवाहक सवारीसाधन तथा विद्यार्थी बोक्ने सवारीसाधन सुचारु हुन थालेको मध्यपहाडी लोकमार्ग योजना कार्यालय पालुङटारका प्रमुख पौडेलको भनाइ छ ।