• ११ मंसिर २०८१, मङ्गलबार

मुग्लिन–पोखरा सडक : पश्चिम खण्डको म्याद थप

blog

तनहुँको गुणादीनजिक पृथ्वीराजमार्गको सडक विस्तारको काम गरिँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, भदौ १८ गते । विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक योजना अन्तर्गत पश्चिम खण्डको म्याद तीन महिनाभन्दा बढी थप भएको छ । निर्धारित समय समाप्त भएपछि म्याद थप गर्न निर्माण कम्पनीले आग्रह गरे बमोजिम समय थप गरिएको हो ।

निर्माण आरम्भमा ढिलाइ गर्नु, रुख कटान आदेश ढिलो गरी प्राप्त हुनु, विद्युत् प्रशारण लाइन सार्न तथा खानेपानीको पाइप व्यवस्थापन गर्न समस्या हुँदा काम प्रभावित भएको थियो । आयोजनाका पश्चिम खण्डका प्रमुख इन्जिनियर राजेश पौडेलले एक सय एक दिन म्याद थप भएको जानकारी दिनुभयो । पश्चिम खण्डको जामुनेदेखि पोखरासम्मको ३८.८८ किलोमिटर दुरीमा ३०  प्रतिशत प्रगति पुगेको उहाँले जानकारी दिनुभयो ।

यस खण्डमा ठुला र साना गरी १३ वटा पुलमध्ये पाँच वटाको निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । पहिला पश्चिम खण्डको न्यून प्रगति भएकोमा हाल नौबाट २८ प्रतिशत पुगेको छ । पश्चिम खण्डमा आयोजना प्रमुख नयाँ आएसँगै काम तीव्र रूपमा भइरहेको छ । आयोजना प्रमुख पौडेलका अनुसार यो खण्डमा २० किलोमिटर दुरीमा दुई लेन सडक कालोपत्रे सकिएको छ । पौडेलले भन्नुभयो, “२० किलोमिटर कालोपत्रे पूरा भइसकेको छ, तीन किलोमिटर कालोपत्रे तयारी भइसकेको छ, वर्षा भइरहेकाले कालोपत्रे रोकिएको छ ।” सडकको स्तरोन्नति हुने क्षेत्रभित्र रहेका २४ वटा खानेपानी संस्थासँग सम्बन्धित पाइपलाइन तथा संरचना स्थानान्तरणका लागि सम्झौता भई सम्बन्धित उपभोक्ताबाट स्थानान्तरण भइरहेको आयोजनाले जनाएको छ । 

आयोजनाका अनुसार नेपाल विद्युत् प्राधिकरणका निकायमार्फत दुई हजार ३१ पोलमध्ये एक हजार २३६ विद्युत् पोल स्थानान्तरण भइसकेको छ । पोखरा–मुग्लिङखण्ड दुई भागमा बाँडेर विस्तारको काम चिनियाँ कम्पनीले गरिरहेका छन् । मुग्लिङदेखि तनहुँको जामुनेसम्म ४१ किलोमिटर पूर्वी खण्डमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले २०७७ वैशाखदेखि काम गरिरहेको छ भने जामुनेदेखि पोखरासम्म पश्चिम खण्ड चीनकै यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ०७८ भदौदेखि विस्तारको काम गरिरहेको छ ।