• १७ भदौ २०८१, सोमबार

पानी निकास नहुँदा बसबिटा गाउँ समस्यामा

blog

कमला नदीको पूर्वी किनारमा रहेको सिरहा –६ बसबिटा गाउँको पानी निकास नहुँदा जलमग्न । तस्बिरः जीवछ यादव

जीवछ यादव
लहान, भदौ १७ गते ।
सिरहा नगरपालिका –६ कमला नदीको पूर्वी किनारामा रहेको बसबिटा गाउँमा वर्षाको पानी निकास नहुँदा घर आगनमै पानी जमिरहने समस्या भोग्दै आइरहेका छन् । असारदेखि कात्तिक महिनासम्म पानीमा आउजाउ गर्नुपरेको स्थानीयको गुनासो छ ।

स्थानीय शान्ति देवी यादवले पानी निकास हुने नाला नहुँदा सयौं घर रहेको बसबिटा गाउँका अधिकांशको घर आँगनमा पानी जमिरहेने समस्या रहेको जानकारी दिनुभयो ।

‘‘असारदेखि कात्तिकसम्म यो समस्या झेल्नुपर्ने बाध्यता छ । यहि बेला सर्पको बिगबिगी रहने भएकाले बालबालिकाहरुलाई जोगाउन समस्या भएको छ ।’’उहाँले भन्नुभयो, ‘‘वडाध्यक्ष इन्द्रजित यादवले पहल नगरेको होइन, तर पानी निकासका लागि नाला निर्माण नगरी पक्की सडक निर्माण भएपछि झन् ठुलो समस्या भयो । यसमा वडाध्या मात्रै दोषी नभएर नाला बिना सडक निर्माणका लागि दबाब दिइरहने हामी स्थानीयवासी पनि दोषी हौं ।’’

सडकभन्दा तल घरभयो । सडकमा पानी सुकेपनि आगनमा पानी सुक्दैन । पानी निकासका लागि कमला नदीमा नाला निर्माण गरेर बनउनुपर्दथ्यो । तर हतारको विकासले दुःख भएको अर्को स्थानीय राम विला स भुस्कुलियाले गुनासो सुनाउनुभयो ।

हुलाकीमार्ग निर्माण संघर्ष समितिका संयोजक समेत रहनुभएको रामरिझन यादव भन्नुहुन्छ, ‘‘मधेशमा विकासको नाममा कतै कतै विनास निम्ताउने काम भइरहेको छ । जतातातै नाला निर्माण नगरी असारे विकासको विकृतिले होचुवाको भरमा ढलान निर्माण गर्ने कार्यलाई गति दिइरहेको छ । नाला बिनाको सडकले ठुलो समस्या सृजना भइरहेको छ । बसबिटामा देखिएको समस्या पनि यहि हो । सिरहा जिललाको १७ वटै पालिकामा रहेका प्राविधिकहरुले सडक निर्माण गर्दा पहिले नाला निर्माण गर्नुपर्ने समान्य ज्ञानलाई समेत व्यवहारमा उतार्न सकेको छैन ।’’

बसबिटा गाउँको समस्या समाधानका लागि वडा कार्यालय सिरहा नगरपालिकासँग समन्वय गरी पानी निकासका लागि प्रयत्नशील रहेको वडाध्यक्ष इन्द्रजीत यादवले जानकारी दिनुभयो ।

‘‘बसबिटा गाउँ नै कमला नदीको किनारमा रहेको र पानी निकासका लागि कमलामा बग्ने गरी नाला निर्माण आवश्यक छ । यसका लागि लाग्ने बजेट विनियोजनको लागि नगरप्रमुख नबिन कुमार यादव समेत गम्भीर भएर यसवर्ष जसरी पनि यो समस्या समाधान गरी छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ’’ वडाध्यक्ष यादवले भन्नुभयो ।