• १७ पुस २०८१, बुधबार

पोषण कार्यक्रमलाई तीन अर्ब ६७ करोड अनुदान

blog

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ ।

काठमाडाैँ, भदाै १६ गते । सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट र युनिसेफबाट  प्राप्त हुने तीन अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता सूचिकृत गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले गरेका निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त निर्णय गरेको जानकारी दिनुभएको हो । 

उहाँले बहुक्षेत्रिय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनको लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राविधिक सहायताको रूपमा प्राप्त हुने २ मिलियन युरो गरी जम्मा २५ मिलियन युरो करिब ३ अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता स्वीकृत गर्ने निर्णय भएको बताउनुभयो । 

प्रवक्ता गुरुङले ज्यान मार्ने उद्योग मुद्दाको पीडित विन्दवासिनी कंसकारको उपचारमा खर्च भएको रकममध्ये फैसला बमोजिम मासिक क्षतिपूर्ति रकम उपलब्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुलउपर गरी पीडित राहत कोषमा उपलब्ध गराउन व्यवस्था मिलाउने पनि निर्णय गरेको बताउनुभयो । उहाँले एकनारायण अर्याललाई मुख्यसचिव र दिनेश दाहाललाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको जानकारी समेत गराउनुभयो । 

उहाँले जर्मनी सरकारबाट पावर डिस्ट्रिब्युसन कार्यक्रम अन्तर्गत प्राप्त हुने १० मिलियन युरो करिब १ अर्ब ४६ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । २०८१ भदौ २४ देखि २८ सम्म थाइल्यान्डको बैंककमा आयोजना हुने एसियन अफ्रिकन लिगल कन्सलटेटिभ अर्गनाइजेसन (एएएलसीओ) को ६२ औँ वार्षिकोत्सवमा सहभागिताको लागि कानुन, न्याय तथा सङ्घीय मामिला मन्त्रीको भ्रमण स्वीकृत गरेको छ । 

त्यस्तै सिङ्गापुरमा २०८१ असोज ८ गते देखि १० गतेसम्म हुने इन्टरनेसनल फाउण्डेसन फर इलोक्टोरल सिस्टमको साइवर एण्ड इन्फरमेसन रेजिलेसन्स इलेक्सन नेटवर्क कार्यक्रममा सहभागी हुन निर्वाचन आयोगका प्रमुख दिनेशकुमार थपलियाको भ्रमण स्वीकृत गरेको छ । सरकारले सशस्त्र प्रहरी बल नेपालमा अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेललाई सीमा सुरक्षा विभागबाट कार्य विभाग,चन्द्रप्रकाश गौतमलाई मानव स्रोत विभागबाट सीमा सुरक्षा विभाग र वंशीराज दाहाललाई कार्य विभागबाट मानव स्रोत विभागमा सरुवा गर्ने निर्णय गरेको गरेको छ ।

यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरु

१. बहुक्षेत्रिय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनको लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राविधिक सहायताको रूपमा प्राप्त हुने २ मिलियन युरो गरी जम्मा २५ मिलियन युरो करिब ३ अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता स्वीकृत गर्ने निर्णय भएको छ ।

२. जर्मनी सरकारबाट पावर डिस्ट्रिव्युसन कार्यक्रम अन्तर्गत प्राप्त हुने १० मिलियन युरो करिब १ अर्ब ४६ करोड अनुदान सहायता स्वीकार गर्ने ।

३. ज्यान मार्ने मुद्दामा पीडित विन्दवासिनी कंसकारको उपचारमा खर्च भएको रकममध्ये फैसला बमोजिम मनासिब माथिको क्षतिपूर्ति रकम उपलब्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुल उपर गरी पीडित राहत कोषमा शोधभर्ना गर्ने व्यवस्था मिलाउने ।

४. २०८१ भदौ २४ देखि २८ सम्म थाइल्यान्डको बैंककमा आयोजना हुने एसियन अफ्रिकन लिगल कन्सलटेटिभ अर्गनाइजेसन (एएएलसीओ) को ६२ औँ वार्षिकोत्सवमा सहभागिताको लागि कानुन, न्याय तथा सङ्घीय मामिला मन्त्रीको भ्रमण स्वीकृत गर्ने । 

५. सिंगापुरमा २०८१ असोज ८ गते देखि १० गतेसम्म हुने इन्टरनेशलन फाउण्डेशन फर इलोक्टोरल सिस्टमको साइवर एण्ड इन्फरमेसन रेजिलेसन्स इलेक्सन नेटवर्क कार्यक्रममा सहभागी हुन निर्वाचन आयोगका प्रमुख दिनेशकुमार थपलियाको भ्रमण स्वीकृत गर्ने । 

६. सरकारले सशस्त्र प्रहरी बल नेपालमा अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेललाई सीमा सुरक्षा विभागबाट कार्य विभाग,चन्द्रप्रकाश गौतमलाई मानव स्रोत विभागबाट सीमा सुरक्षा विभाग र वंशीराज दाहाललाई कार्यविभागबाट मानव स्रोत विभागमा सरुवा गर्ने । 

७. परराष्ट्र मन्त्रालयका सहसचिव भरत खनाललाई नेपाली महावाणिज्य दूतावास गन्जाओको महावाणिज्यदूत पदमा,सहसचिव झक्कबहादुर आचार्यलाई नेपाली महावाणिज्य दूतावास कोलकोत्ताको महावाणिज्यदूत पदमा र सहसचिव लक्ष्मीप्रसाद निरौलालाई नेपाली महावाणिज्य दूतावास लासाको महावाणिज्यदूत पदमा एक अवधिको लागि नियुक्त गर्ने निर्णय भएको छ ।

८. राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काठमाडौँ तराई मधेस द्रुतमार्ग सडक आयोजनाको लागि अधिग्रहण गर्ने बाँकी मुआब्जामा लाग्ने पुँजीगत लाभ कर अर्थात् आर्थिक ऐन, २०८१ को दफा १८ को १ बमोजिम छुट लिन स्वीकृत दिने ।

९. पीपलटार देउडी सडक निर्माणको लागि नुवाकोट जिल्लाको विदुर नगरपालिकामा रहेको राष्ट्रिय वनको ५.१४२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत दिने ।

१०. भुम्लु गाउँपालिका काभ्रेपलान्चोकलाई गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि भुम्लु गाउँपालिकामा रहेको राष्ट्रिय वनको ०.३ हेक्टर जग्गा प्रयोग गर्न दिने

११. सङ्खुवासभा जिल्लाको खाँदबारी नगरपालिकामा योगमाया आयुर्वेद विश्व विद्यालयको केन्द्रीय कार्यालय रहने स्थान तोक्ने ।

१२. चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा दिनेशराज दाहाललाई नियुक्त गर्ने ।

१३. नेपाल सरकारले दूरसञ्चार सेवालाई नियमित गर्ने सम्बन्धमा दूरसञ्चार ऐन, २०५३को दफा २० को अधिकार प्रयोग गरी एनसियल आजियाटा लिमिटेडको तेस्रो पटक अनुमति पत्र नवीकरण गर्न नवीकरण दस्तुर प्रत्येक वर्ष ५ अर्बका दरले चार किस्तामा विभाजन गरी भुक्तानी गर्ने सुविधा दिने,एकै पटक नवीकरण दस्तुर नबुझाई किस्ता सुविधा लिएमा पहिलो किस्ता बाहेकको बाँकी किस्ता भुक्तानी गर्दा बाँकी किस्ता बापतको जम्मा रकममा किस्ता भुक्तानी गरेको मितिसम्म वार्षिक १० प्रतिशतका दरले ब्याज र किस्ता रकम समेत लिने ।

१४. इन्डोनेसियाको जकार्तामा २०८१ असोज १० मा सञ्चालन हुने फिक्स मिनिस्टोरियल मिटिङ तथा २०८१ असोज ८ र ९ गते सञ्चालन हुने १२ औँ हाइलेभल अफिसियल मिटिङमा स्वास्थ्य जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई सहभागिताका लागि स्वीकृत प्रदान गर्ने ।

१५. नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौला २०८१ भदौ १५ गतेदेखि अनिवार्य अवकाश हुने हुँदा रिक्त हुने मुख्यसचिव पदमा २०८१ भदौ १५ देखि लागू हुने गरी गृह मन्त्रालयका सचिव एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गर्ने ।

१६. राष्ट्रिय योजना आयोगका सचिव डा. तोयानारायण ज्ञवालीले मिति २०८१ भदौ १४ देखि लागू हुने गरी दिएको राजीनामा स्वीकृत गर्ने ।

१७. कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय सङ्गठन र दरबन्दी तेरिज स्वीकृत गर्ने ।

१८. श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०८१-८२ का लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने ।