• १६ भदौ २०८१, आइतबार

ज्येष्ठ नागरिकलाई लौरो र रेडियो प्रदान

blog

चन्द्रकोट गाउँपालिका एकका ज्येष्ठ नागरिकलाई लौरो र रेडियो प्रदान गर्दै वडाध्यक्ष घनश्याम खरेल ।

तिलाचन पाण्डे

तम्घास, भदौ १६ गते । यहाँको एक पालिकाले ज्येष्ठ नागरिकहरुको सहाराका लागि लौरो र रेडियो प्रदान गरेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिकाले ८० वर्ष देखि ८२ वर्ष उमेरसम्मका १५२ जना ज्येष्ठ नागरिकको सहाराका लागि लौरो र रेडियो प्रदान गरेको हो । 

पालिकाभित्रको १५२ जना ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक सम्मान कार्यक्रममार्फत दुई लाख रुपियाँको बजेटबाट लौरो र रेडियो खरिद गरी प्रदान गरिएको गाउँपालिकाका सूचना अधिकारी शिव ज्ञवालीले जानकारी दिनुभयो ।

बुढेसकालमा लौरोले हिँड्नका लागि थप टेवा दिने र रेडियो सुन्दै एकल भएको महसुस नहुनुका साथै गीत सङ्गीतमा रमाउन सक्ने भएकाले लौरो र रेडियो प्रदान गरिएको वडा नम्बर एकका वडा अध्यक्ष घनश्याम खरेलले जानकारी दिनुभयो । ज्येष्ठ नागरिक सम्मान कार्यक्रममार्फत उहाँहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै लौरो र रेडियो वितरण गरिएको हो । लौरो र रेडियो प्रदान गरेपश्चात् उहाँहरुको सुझावसमेत ग्रहण गर्दै ज्येष्ठ नागरिकको साथमा सदैव वडा कार्यालय र गाउँपालिका रहेको खरेलले बताउनुभयो ।

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले ज्येष्ठ नागरिकहरुको साथमा सधै गाउँपालिका रहेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण, निःशुल्क औषधीप्रदानलगायत उहाँहरुको माग अनुसारका कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो । ज्येष्ठ नागरिकलाई घरमा राम्रोसँग हेरविचार गर्न र भविष्यमा आफू पनि बुढो हुने हो भन्ने सोचेर सेवा गर्न परिवारका सदस्यहरुलाई उहाँले आग्रह गर्नुभयो । 

ज्येष्ठ नागरिकहरुले लौरो र रेडियो ग्रहण गर्दै स्थानीय सरकार आफूहरुको साथमा रहेको अनुभूति भएको बताउनुभएको छ । अहिले मात्रै नभ सदैव स्थानीय सरकार रहेको अनुभूति प्रदान गर्न र गाउँको विकास गर्नका लागि जनप्रतिनिधिलाई ज्येष्ठ नागरिकहरुले आग्रह गर्नुभएको छ ।