• २ माघ २०८१, बुधबार

‘इन्टर स्कुल ब्याण्ड कम्पिटिसन’को उपाधि गुरुकुललाई

blog

कास्की, भदौ  १६ गते ।  पोखरामा आयोजना गरिएको ‘इन्टर स्कुल ब्याण्ड कम्पिटिसन’को उपाधि पोखराको गुरुकुल माध्यमिक विद्यालयले जितेको छ ।

 यही भदौ १४ देखि सुरु भएको प्रतियोगिताको शनिबार साँझ सम्पन्न फाइनल प्रतिस्पर्धामा नौ स्कुल ब्याण्डलाई पछि पार्दै गुरुकुलले उपाधिसहित नगद रु एक लाख,  ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । पोखरा साङ्गीतिक कलाकार सङ्घको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा ‘शिक्षासँगै सङ्गीत’ नाराका साथ ‘इन्टर स्कुल ब्याण्ड कम्पिटिसन’ गरिएको हो ।

यसैगरी ग्लोबल कलेजियट माविले द्वितीय स्थान हासिल गरी नगद रु ५० हजार तथा फिस्टेल एकेडेमीले तृतीयसहित नगद रु २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियागिताको ‘बेष्ट भोकल’ कालिका माविका अमोन गुरुङ, बेष्ट बास गिटारिष्ट लाभिन्स रेसिडेन्सियल स्कुलका सुशान्त केसी तथा बेष्ट लिड गिटारिष्ट प्रतिभा माविका सायूस बज्राचार्य घोषित भए ।

त्यस्तै, बेष्ट ड्रमर प्रगति बोर्डिङ स्कुल, बेष्ट लिरिक्स लाभिन्स रेसिडेन्सियल स्कुल र बेष्ट म्युजिक कम्पोजर कालिका मावि भए । प्रतियोगितामा पब्लिक च्वाइस गण्डकी बोर्डिङ स्कुल र जुरी च्वाइस मदरल्याण्ड मावि ९बी० घोषित भए । विधागत रूपमा उत्कृष्ट भएकालाई नगद रु पाँच–पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा कुल १९ स्कुल ब्याण्ड छनोट भएर प्रतिष्पर्धा गरेका थिए ।

विजेतालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँ, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठ, सङ्घका अध्यक्ष हर्कराज गुरुङलगायतले पुरस्कार वितरण गरे । महानगर प्रमुख आचार्यले प्रतियोगिताले पोखराको कला र सङ्गीतको विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । गीत सङ्गीतलाई पनि पेशा बनाउन सकिने स्थिति रहेको उनले बताए ।  रासस