• १६ भदौ २०८१, आइतबार

फोहोर फाल्ने खोला सौन्दर्य स्थल

blog

शालिग्राम नेपाल 

चितवन, भदौ १६ गते । चितवनको नारायणगढ बजार भएर बग्ने पुङ्गी खोलाको जग्गा संरक्षण गरी सौन्दर्यीकरण गर्ने कार्य सुरु भएको छ । कुनै समय यो खोला नारायणगढ बजारसहित वरपरबाट पौडी खेल्न आउनेको स्थल थियो तर केही वर्षदेखि फोहोर गरेर ढल मिसाउन थालेपछि यसको संरक्षणसँगै सौन्दर्यीकरण गर्न थालिएको हो । भरतपुर महानगरपालिकाले यो खोलाको सीमाङ्कन, संरक्षण र सौन्दर्यीकरण अभियान एकै पटक सुरु गरिएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । 

खोलाको सीमाङ्कनको काम जारी भइरहँदा खोलाको अन्तिम विन्दु रामघाट क्षेत्रबाट सौन्दर्यीकरणको काम पनि अगाडि बढाइएको छ । महानगरपालिकाको वडा नं. ३ र ४ को सिमानामा पर्ने नारायणी र पुङ्गी खोलाको दोभानबाट सौन्दर्यीकरण अभियानको सुरुवात भइसकेको महानगर प्रमुख दाहालले बताउनुभयो । महानगरको गौरवको योजनामा समावेश भएको यस खोला सीमाङ्कन, संरक्षण र सौन्दर्यीकरणको पहिलो चरण अन्तर्गत दुवैतर्फ ३५५÷३५५ मिटर क्षेत्रमा सौन्दर्यीकरण गरिएको छ । वृक्षरोपण, फुटरेल, रिटेनिङ वाल, रेलिङसहितको मर्निङ र इभिनिङ वाक गर्न मिल्ने गरी संरचना पूरा भएको छ । 

अहिले यस क्षेत्रमा टहलिन, आराम गर्न आउनेको सङ्ख्या वृद्धि भएको वडा नं. ३ का वडाध्यक्ष विकास थापाले जानकारी दिनुभयो । गुरुयोजना अनुसार खोला किनारमा पर्यटकले चिया, खाजा खाने स्टेसन, विश्रामस्थल र खुला व्यायामशाला रहेका छन् । 

१५ करोड रुपियाँको बजेटमा थालिएको कामको केही भाग सकिएको छ । अन्य क्षेत्रमा काम अगाडि बढाउने तयारी भएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका र सङ्घीय सरकारको बजेटमा थालिएको सौन्दर्यीकरणको पहिलो चरणको काम ११ महिनामाभित्र गरिसक्ने निर्माण कम्पनीसँग सम्झौता भएको छ । भरतपुरलाई सुन्दर सहर बनाउने उद्देश्य अनुरूप दुई खोला पुङ्गी र केरुङ्गालाई हरियालीसहितको सौन्दर्यीकरण गर्न लागिएको भरतपुर महानगरपालिकाकी प्रमुख दाहालले जानकारी दिनुभयो । 

अहिले निर्माण सम्पन्न भएको ३५५ मिटर क्षेत्रमा खोलालाई दायाँबायाँ पर्खाल लगाएर संरक्षण गरिएको छ । खोलाको सीमा निर्धारण गरेर टायल बिछ्याउने, दुबो रोप्ने, बोटबिरुवा हुर्काउने र विश्रामस्थल निर्माण गरिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । यो खोलाको लम्बाइ छ किलोमिटर ६४ मिटर रहेको छ । खोलामा अहिले फोहोर फाल्न पूर्ण रूपमा निषेध गरिएको छ । 

कतिपयको घर खोलामा 

महानगरपालिकाले वडाध्यक्ष थापाको नेतृत्वमा गठन गरेको पुङ्गी खोला संरक्षण समितिले रामघाट क्षेत्रदेखि गणेशथान क्षेत्रसम्मको सीमाङ्कनको काम सकेको छ । खोलाको सीमाङ्कन गर्न महानगरले २०२७ सालमा नापी भएको नक्सालाई आधार मानेको छ । वडाध्यक्ष थापाले दुई÷तीन ठाउँमा केही विवाद रहेको र त्यसलाई समाधान गर्ने समझदारी अनुसार सीमाङ्कनको काम सकिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “केही ठाउँमा खोला नै देखिँदैन, कतै व्यक्तिको जग्गामा परेको देखिन्छ, यी ठाउँमा सहमतिमा सीमाङ्कन गर्ने सहमति भएको छ, वडा नं. ३ मा समस्या छैन, वडा नं. २ का केही घरधनीबाहिर भएकाले उनीहरू फर्किएपछि सहमति गर्ने भन्ने छ,” थापाले भन्नुभयो, “मुख्य विवाद समाधान भएका छन्, अब सौन्दर्यीकरणको थप काम गर्न कुनै समस्या हुँदैन ।’’

सीमाङ्कनका क्रममा झन्डै तीन दर्जनभन्दा बढी घर खोलाकै जग्गा मिचेर बनाएको पाइएको छ । कुनै कुनै घर त पछि भत्काउँदा आधा हुने अवस्था छ, आधा घर नै खोलाको जग्गामा परेको छ ।

क्षेत्रपुर क्षेत्रमा धेरै व्यक्तिले पुङ्गी खोला मिचेर संरचनाहरू बनाएको पाइएको छ । कुनै व्यक्तिका आधा जग्गा खोला वारि, आधा जग्गा खोला पारिसमेत रहेको पाइएको छ तर यस पटक महानगरपालिका पुङ्गी खोला संरक्षणका लागि जस्तोसुकै परिस्थितिमा पनि दृढ भएर लाग्ने सङ्कल्प बोकेको महानगरपालिकाका प्रमुख दाहालले बताउनुभयो ।