• १६ भदौ २०८१, आइतबार

पूर्वाधारको प्रतीक्षामा सुतैया ताल

blog

नेपालगन्ज समाचारदाता 

नेपालगन्ज, भदौ १६ गते । बाँकेको बैजनाथ गाउँपालिका–३ मा पर्ने ‘सुतैया ताल’ यस क्षेत्रका आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य र रोजाइ बन्दै गएको छ ।  कोहलपुर बजारबाट करिब छ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा रत्न राजमार्गको छेउमा रहेको ‘सुतैया ताल’ प्राकृतिक रूपले अतिनै रमणीय भएकाले पिकनिक गर्ने, वन्यजन्तु अवलोकन गर्ने र वनजङ्गलको आनन्द लिनेहरूका लागि आकर्षणको केन्द्र बन्दै गएको हो । 

सो ताललाई स्थानीय देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले गत एक दशकदेखि संरक्षण र संवर्धन गर्दै आएको छ । करिब सात हेक्टर क्षेत्रफलमा फैलिएको सो ताल क्षेत्रमा केही समययता आन्तरिक पर्यटक आगमन बढ्दै गएको देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष महेन्द्र थारूले जानकारी दिनुभयो । “ताल संरक्षण गर्न थालेपछि अहिले पाटेबाघ, चित्तल, बँदेललगायत थुप्रै वन्यजन्तु देखिन थालेका छन्,” उहाँले भन्नुभयो, “यहाँ आएर वन्यजन्तु सहजै हेर्न पाइन्छ ।” ताल संरक्षणसँगै यसबाट आम्दानी बढाउने पर्यटकीय गतिविधि गर्न सकिने प्रशस्त सम्भावना देखिन्छन् तर स्थानीय उपभोक्तासँग लगानी गर्ने स्रोतसाधन नहुँदा सो कार्य हुन सकेको छैन । सो स्थानमा हालसम्म पर्यटक बस्ने तथा खाने सुविधायुक्त पूर्वाधार भने छैन । 

पश्चिम पर्यटन सरोकार समूहका संस्थापक अध्यक्ष रामबहादुर मल्लले ताल आसपास होटल, होमस्टे, बोटिङ र पार्क बनाउन सके त्यहाँ आउने पर्यटक लामो समयसम्म रमाउने र त्यसबाट धेरैले रोजगारीसमेत पाउने औँल्याउनुभयो । 

बैजनाथ गाउँपालिकाले सो तालका लागि हरेक वर्ष केही न केही बेजट छुट्याउँदै आएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले सुतैया ताललाई प्रमुख पर्यटकीय क्षेत्र बनाउन आफूहरू निकै गम्भीर रहेको बताउनुभयो । स्थानीय सरकारले ताल संरक्षणका लागि वरिपरी ड्याम निर्माण गर्ने योजना अघि बढाएको जानकारी उहाँले दिनुभयो । उक्त ताल राजमार्गको छेउमै रहेकाले तालवरिपरिको सौन्दर्यीकरण र भौतिक पूर्वाधार निर्माणमा लगानी गर्न सकिए नेपालका मात्र नभई ठुलो सङ्ख्यामा भारतीय पर्यटकसमेत आकर्षित हुने स्थानीयको अपेक्षा छ ।