• १६ भदौ २०८१, आइतबार

मन्त्री दाहालद्वारा पृथ्वीराजमार्गको निरीक्षण

blog

व्यास नगरपालिका–१ मा अनुगमन गर्ने क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, भदौ १५ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले  पृथ्वीराजमार्ग निर्माणको काम छिटो सक्न निर्देशन दिनुभएको छ ।  

पृथ्वी राजमार्ग (मुग्लिन-पोखरा सडकखण्ड) विस्तारको कामको निरीक्षण गर्दै मन्त्री दाहालले काम छिटो सक्न निर्देशन दिनुभएको हो ।

सडक विस्तारको कामको शुक्रबार निरीक्षण गर्दै मन्त्री दाहालले नेपालीको ठुला चाडपर्व नजिकिएकोले यात्रुलाई यात्रा सहज बनाउने गरी काम गर्न निर्देशन दिनुभयो । अप्ठ्यारो रहेको स्थानलाई प्राथमिकता दिएर काम गर्न उहाँले आग्रह गर्नुभयो । 

मन्त्री दाहालले निरीक्षणको क्रममा उक्त सडक विस्तारका क्रममा भएका प्रगति, समस्या तथा आगामी योजनामा सरकारको तर्फबाट गर्नुपर्ने कार्य विवरणबारे पनि जानकारी लिनुभएको थियो । 

सडक विस्तारमा गुणस्तरीयतासँगै सवारी साधन आवागमनमा अवरोध नपुर्‍याउन ठेकेदार कम्पनीलाई निर्देशन मन्त्री दाहालले दिनुभएको थियो । सडकको दुवैतर्फ खाल्डाखुल्डी बनाएर सवारी आवागमन नै समस्या पार्ने गरी भइरहेको कामप्रति भने उहाँले असन्तुष्टि पोख्नुभयो।