• १६ भदौ २०८१, आइतबार

न्यायको पर्खाइमा द्वन्द्वपीडित, नवलपुरमा २५ अझै बेपत्ता

blog

बेपत्ता तथा सहिद परिवारको सम्झनामा दिप प्रज्ज्वलन गरिदै । तस्बिरः मीना कंडेल

मीना कंडेल

कावासोती, भाद्र १५ गते । नवलपुरका द्वन्द्वपीडित परिवारले दश वर्षे सशस्त्र द्वन्द्वबाट प्रभावित भएर अझै पनि न्याय पाउन नसकेको बताएका छन् । अन्तर्राष्ट्रिय बेपत्ता विरुद्धको दिवसका अवसरमा गरिएको अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् । 

शान्ति सम्झौता भएको १७ वर्ष भइसक्दा पनि राज्यले प्रभावितका बारेमा न्याय नगरेको  पीडितहरूको गुनासो छ । बेपत्तामा पारिएका व्यक्ति छानबिन आयोगमा भएको तथ्याङ्क अनुसार नवलपुरमा २५ जना रहेको बताइएको छ । आयोगमा २५ जना रहेको भए पनि बसाइसराई सरेर आएका तीन जना, सञ्जालको सम्पर्कमा २६ जना र एक जना केही समयअघि बेपत्ता भएको गरी २९ जना रहेको द्वन्द्वपीडित महिला सञ्जाल नवलपुरका अध्यक्ष पार्वती सिग्देलले बताउनुभयो । जसमा महिला तीन र पुरुष २५ जना रहेका छन् । 

सञ्जालको तथ्याङ्कअनुसार १०२ सहिद परिवार, राष्ट्रिय सहिद घोषणा (राजपत्रमा ) ३५ जना रहेका छन् । यस्तै, आर्थिक वर्ष २०८०–८१ को तथ्याङ्कअनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोगमा त्रिसट्ठी हजार, ७१८ वटा उजुरी परेको छ । व्यक्ति हत्यामा दश हजार ८५८ जना, अपहरण तथा शारीरिक बन्धकमा चार हजार ३१६, शारीरिक तथा मानसिक यातना १९ हजार ८७४, बलात्कार तथा यौनजन्य हिंसा ३१४ रहेको जनाइएको छ ।

विनयीत्रिवेणी–२ का स्थानीय हरि खड्काले २०७१ माघ २७ गते सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिm छानबिन आयोग गठन भएको भए पनि काम हुन नसकेको बताउनुभयो । लोकतान्त्रिक गणतन्त्र आएको छ, संविधान आयो तर गणतन्त्र ल्याउन योगदान गर्ने सहिद, बेपत्तापरिवारको अवस्था के छ कसरी जीवन निर्वाह भएको छ भन्नेबारे सरकारले ध्यान दिन नसकेको उहाँको भनाइ छ ।

नवलपुरमा द्वन्द्वपीडित महिलाको अझ पनि अवस्था दयनीय रहेको द्वन्द्वपीडित महिला सञ्जाल नवलपुरका अध्यक्ष सिग्देलले बताउनुभयो । सहिद, बेपत्ता, अपाङ्गता, विस्थापित, कुटपिट, शारीरिक तथा मानसिक यातना, बलात्कार, यौन हिंसा, जेलनेल लगायत विभिन्न किसिमका यातना भोगेका महिलाले न्याय पाउन नसकेको उहाँले बताउनुभयो । 

कार्यक्रममा सहभागीले द्वन्द्वपीडित यौनजन्य हिंसा र यातनाबाट पीडित, घाइते, अङ्गभङ्ग तथा मानसिक रूपमा समेत अशक्त भएका व्यक्तिmले सम्मानजनक तरिकाबाट जीवनयापन गर्न पाउनुपर्ने बताएका छन्  ।

जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले लोकतान्त्रिक गणतन्त्र आइसकेपछि जुनसुकै तहका द्वन्द्वपीडित परिवारले न्याय अनुभूत गर्न पाउनुपर्नेमा जोड दिनुभयो । द्वन्द्व प्रभावितको अधिकार स्थापित गर्न स्थानीय पालिका जिम्मेवार रूपमा लाग्नुपर्ने बताउनुभयो । 

अन्तर्राष्ट्रिय बेपत्ताबिरुद्धको दिवसका अवसरमा बेपत्ता र सहिद परिवारको सम्झनामा दीप प्रज्वलन समेत गरिएको छ ।