• १६ भदौ २०८१, आइतबार

भित्रियो तीन खर्ब लगानी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १५ गते । नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानी करिब तीन खर्ब रुपियाँ पुग्न लागेको छ । आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा नेपालमा दुई खर्ब ९५ अर्ब ५० करोड रुपियाँ कुल प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको हो । 

नेपाल राष्ट्र बैङ्क अन्तर्गतको आर्थिक अनुसन्धान विभागले शुव्रmबार सार्वजनिक गरेको ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७९/८०’ अनुसार कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजी ५२.८ प्रतिशत, सञ्चिती ३३.७ प्रतिशत र कर्जाको अंश १३.५ प्रतिशत रहेको छ । प्रतिवेदन अनुसार नेपालमा ५८ देशबाट प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । 

जलविद्युत् क्षेत्रमा बढी

औद्योगिक क्षेत्र अन्तर्गत जलविद्युत् क्षेत्रमा सबैभन्दा धेरै लगानी भित्रिएको प्रतिवेदनले देखाएको छ । जस अनुसार जलविद्युत्मा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत वैदेशिक लगानी रहेको छ । यसै गरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्र अन्तर्गत बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीमा लगानी भित्रिएको छ । 

लगानीमा बागमती अगाडि 

नेपाल भित्रिएको कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये प्रदेशगत आधारमा सबैभन्दा बढी बागमती प्रदेशमा ५९.७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसपछि व्रmमशः गण्डकी प्रदेशमा १५.१ प्रतिशत, कोशी प्रदेशमा १४.७ प्रतिशत, मधेस प्रदेशमा ८.८ प्रतिशत रहेको छ भने लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम रहेको राष्ट्र बैङ्कको अध्ययनले देखाएको छ ।

भारतबाट सर्वाधिक

नेपालमा भित्रिने कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये भारतबाट सबैभन्दा बढी एक खर्ब तीन अर्ब ४५ करोड रुपियाँ नेपाल भित्रिएको छ । यो कुल वैदेशिक लगानीको ३५ प्रतिशत हो । 

भारतपछि चीनबाट ३५ अर्ब ४६ करोड, आयरल्यान्डबाट २२ अर्ब ६२ करोड, अस्ट्रेलियाबाट १९ अर्ब छ करोड र सिङ्गापुरबाट १८ अर्ब ८१ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको प्रतिवेदनले देखाएको छ । 

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिएको छ ।

राष्ट्र बैङ्कको प्रतिवेदनका अनुसार वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६०.६९ प्रतिशत रहेको पाइएको छ भने इक्विटीको प्रतिफल करिब ११.६१ प्रतिशत रहेको पाइएको छ ।

आव २०७९/८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल २३८ वटा कम्पनीको नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ तयार पारिएको राष्ट्र बैङ्क अन्तर्गत आर्थिक अनुसन्धान विभागले जनाएको छ ।