• १६ भदौ २०८१, आइतबार

पहिरोको उच्च जोखिममा विद्यालय

blog

पहिरोको जोखिममा रहेको बडिमालिका नगरपालिका–७ जिल्लीमा रहेको लक्ष्मी मावि । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की 

बाजुरा, भदौ १४ गते । बाजुराको बडिमालिका नगरपालिका-७ जिल्लास्थित लक्ष्मी मा.वि पहिरोको उच्च जोखिममा छ । बर्खाको समय सो विद्यालयको तलमाथि तथा वरपरबाट पहिरो लाग्न थालेपछि विद्यालय पहिरोको उच्च जोखिममा रहेको हो । 

हिउँदको महिना राम्रोसँग सञ्चालन हुँदै आएको लक्ष्मी माविमा यतिबेला भने यहाँका शिक्षक डरैडरमा बालबालिकालाई पढाउन बाध्य छन् । पानी परेको समयमा विद्यालयमा पहिरो जाने भएकाले कक्षा कोठामा बसालेर बालबालिकाहरूलाई पढाउन निकै डर हुन थालेको विद्यालयले जनाएको छ ।

पानी परेकोबेला धेरै ठाउँमा दिउँसै ठुलठुला पहिरो गएर गाई गोरु च्यापिएर मरेका छन् भने कयौँ मानिस पनि घाइते भएका छन् । यो विद्यालय पनि पहिरोको उच्च जोखिम छ । कुन दिन पढ्ने बेलामा नै विद्यालय पहिरोमा परिणत भएर पढ्दापढ्दै ज्यानै जाने हो की भन्ने मनमा निकै डर हुने गरेको बडिमालिका नगरपालिका–७ जिल्लीमा रहेको लक्ष्मी माविका कक्षा १० का छात्रा रमिला विकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिउँदको महिना पानी नपर्ने भएकोले बाहिर बसेर पनि पढाउने गरेका छौँ । बाहिर बसेर पढौँ पानीले भिजाउँछ भन्ने डर भित्र बसे बाढीपहिरोले विद्यालय नै बगाऊँ छकी भन्ने डर छ ।” यो विद्यालयलाई अन्य सुरक्षित ठाउँमा स्थानान्तरण नगर्दा सम्म डरैडरमा पढ्नुपरेको छात्रा विकले बताउनुभयो ।

मार्तडी–कोल्टी सडककाे छेउछाउमा विद्यालय पर्छ । २०७८ साल असोज महिनामा जब डोजरले यस विद्यालयको नजिकको सडक मर्मत गरियो तब त्यसपछि यो विद्यालयको वरिपरिबाट पनि पहिरो जान सुरु भएको लक्ष्मी माविका प्रधानाध्यापक लालचन्द्र जैसीले बताउनुभयो । उहाँले भन्नुभयो, “चारै ठाउँबाट पहिरो आएपछि यतिबेला विद्यालय निकै जोखिममा छ । विद्यालय सञ्चालन गरौँ, पहिरोको डर । नगरौँ बालबालिकाहरूको पढाइ अवरोध हुने । यता सरोकारवाला निकायले पढाइ गर्नु पर्ने भन्छन् । उता बालबालिकाहरूलाई केही भयो भने तिमीले नै जान्नु पर्छ अभिभावक भन्नुहुन्छ ।”

यो विद्यालयको वास्तविकतालाई स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग कुरा राख्दै आएको भएपनि अहिलेसम्म कतैबाट पनि विद्यालय स्थानान्तरणको बारेमा केही सुनुवाइ नै नभएको प्रधानाध्यापक जैशीले बताउनुभयो । उसो त यो विद्यालयलाई मावि सञ्चालन गर्न निकै समस्या छ । मावि सञ्चालन गर्नका लागि उत्तिकै भौतिक पूर्वाधार तथा बालबालिकाहरूलाई आवश्यक पर्ने खेलमैदानको पनि आवश्यक पर्छ । 

यो विद्यालयमा ठाउँ सानो छ । भौतिक पूर्वाधार निर्माण गरे खेलमैदान नहुने, खेत मैदान निर्माण गरे भने उता भौतिक पूर्वाधारको अभाव हुने गरेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

२०७८ सालदेखि यो विद्यालयको वरिपरि चारै तिरबाट सडकका कारण पहिरो जान सुरु भएपछि विद्यालयलाई थप ठुलो सङ्कट परेको छ ।

गाउँमामाथि एक ठुलो जमिन छ । त्यो जमिन पूजा चाँड पर्व समितिको नाममा छ । यहाँका स्थानीयले सबैको सहमति भयो भने यो विद्यालय त्यसै ठाउँमा सार्न सकिन्छ । तर विद्यालयको आर्थिक अवस्था कमजोर भएका कारण यो विद्यालयलाई  स्थानान्तरण गर्न समस्या भएको हो ।

लक्ष्मी माविको अवस्था एकदमै दयनीय छ । त्यो विद्यालयलाई त्यहाँदेखि अन्य सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने हो । तर अहिलेसम्म केही पहल भएको छैन । पछिल्लो समय हामीले वडा पालिकालाई त्यस विद्यालयको प्रहरीले मुचुल्का बनाएर नगरमा पठाइ दिनु भनेका छौँ । 

त्यो प्रहरी मुचुल्का आएपछि भौतिक पूर्वाधारका लागि विभिन्न निकायमा पहल गर्ने बडिमालिका नरपालिका नगरप्रमुख अम्मर खड्काले बताउनुभयो । विकास गर्ने क्रममा विद्यालय खानेपानी लगायतका भौतिक पूर्वाधारमा केही क्षति भएको भए त्यसको प्रहरी सहितको मुचुल्का र विद्यालयको सिफारिस ल्याएर पूर्वाधारमा आएपछि त्यसलाई हेरफेर गर्दै यसको क्षतिपूर्तिका लागि सम्बन्धित निकाय पहल कदमी गर्ने पूर्वाधार विकास कार्यालय अछाम सूचना अधिकारी देवीप्रसाद उपाध्यायले बताउनुभयो ।