• १६ भदौ २०८१, आइतबार

‘पूर्ण बहादुरको सारङ्गी’ पोस्टर सार्वजनिक

blog

काठमाडौँ, भदौ १४ गते । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक फर्स्ट लुक पोस्टरमा फिल्मका मुख्य पात्र विजय बराल र प्रकाश सपूतलाई स्थान दिइएको छ । झुस्स दारी जुँगामा खुसी देखिएका विजयको क्लोजअपमा वान साइड फेस देखाइएको छ ।

त्यसको ठिक तल प्रकाश सपूत सरकारी स्कुलको ड्रेसमा हातमा मार्क सिट बोकेर उफ्रिँदै घरतिर कुदिरहेका छन् । यसले उनी स्कुलको कुनै कक्षामा सबैलाई टपेर प्रथम भएको सङ्केत गरिरहेको छ ।

प्रकाश र विजयको खुसीले उनीहरू एकै घरका सदस्य हुन् भनेर अनुमान लगाउन सकिन्छ । तर,यसबारे निर्माण पक्षले केही जानकारी दिएको छैन ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिस बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बाँसुरी फिल्मसको प्रस्तुति रहेको फिल्मका विनोद पौडेल र प्रतीक सुवेदी निर्माता हुन् । यो फिल्मलाई अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो । सोसल–ड्रामा जनरा निर्माण भएको फिल्मले नेमा गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।

फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । विनोद पौडेल र प्याट्रिक सुवेदी लगानी रहेको फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।