• १६ भदौ २०८१, आइतबार

इलाममा टी ट्रेल निर्माण गरिने

blog

चियाबारी पदमार्ग अन्तर्गत पर्ने सूर्योदयको मालुम क्षेत्रको चियाबारी । तस्विरः प्रेम अधिकारी

प्रेम अधिकारी

पशुपतिनगर (इलाम) भदौ १४ गते  । इलामको सूर्योदय नगरपालिका आन्तरिक पर्यटकको रोजाइमा परेको पर्यटकीय गन्तव्य मानिन्छ । कन्याम अन्तु जस्ता पर्यटकीय स्थल बाह्रै महिना पर्यटकले भरिभराउ हुने गरेका छन् । पर्यटन पूर्वाधारका हिसाबले विभिन्न संरचना निर्माण गरिएको नगरमा अव पैदल यात्रीका लागि पदमार्ग निर्माण हुने भएको छ । 

नगरपालिकाको फिक्कलदेखि अन्तुसम्म करिब २० किलोमिटर लामो ‘चियाबारी पदमार्ग’(टी ट्रेल ) निर्माण गरिने भएको छ । स्विस सरकारको हेल्भेटास कार्यक्रम अन्तर्गत ५५ प्रतिशत लगानी र नेपाल सरकारका विभिन्न निकायकाे ४५ प्रतिशत लगानीमा पदमार्ग निर्माण गरिने भएको हो । 

पदमार्गमा आधारित पर्यटन विकास परियोजना अन्तर्गत ग्रामीण क्षेत्रमा पर्यटनको विकास गर्नका लागि पदमार्ग निर्माण गर्न लागिएको कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिनु भयो । उहाँले फिक्कल–अन्तु चियाबारी पदमार्ग निर्माणले अन्तुबाट देखिने सूर्योदय, सूर्यास्त र चिया बारीको सौन्दर्यमा पर्यटक रमाउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो‘यो पदमार्ग निर्माण गर्नुको उद्देश्य केवल हिँड्नु मात्र होइन, पदमार्ग आसपासको ग्रामीण जनजीवनलाई आयआर्जनमा जोडेर आर्थिक आम्दानी गर्नु पनि हो ।’

२०८१ वैशाख २७ गते स्विस सरकार र नेपाल सरकारबिच भएको सम्झौता अनुसार सन २०२४ देखि २०२८ सम्म परियोजना सञ्चालन हुने छ । जस अन्तर्गत कोशी प्रदेशका चार वटा स्थानमा चार सय किलोमिटर पदमार्ग निर्माण गरिने स्विस सरकारका कोशी प्रदेशका कार्य अधिकृत सुशील श्रेष्ठले जानकारी दिनु भयो । परियोजना सम्पन्न गर्नका लागि कोशी प्रदेश अन्तर्गत २९ वटा पालिकाहरूले यस परियोजनामा सहभागिता जनाएका छ। स्वीजरल्याण्ड सरकारको ५५ प्रतिशत, सङ्घीय सरकारको ८ प्रतिशत, प्रदेश सरकारको १९ प्रतिशत र स्थानीय सरकारको १८ प्रतिशत साझेदारी रहने छ । फिक्कल–अन्तु चियाबारी पदमार्ग सम्पन्न गर्नका लागि स्विस सरकार र तीन तहका सरकारको गरी आर्थिक वर्ष २०८१÷८२ मा २३ लाख रुपियाँ रकम विनियोजन भएको सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनु भयो । चियाबारी पदमार्ग निर्माणका लागि पदमार्गको पहिचान गर्ने काम भइरहेको परियोजनाले जानकारी दिएको छ । यहाँ निर्माण गरिने पदमार्ग ढुङ्गालगायत स्थानीय स्रोत साधन प्रयोग गरी प्रकृतिको विनाश नगरी निर्माण गरिने सचिव घिमिरेले जानकारी दिनु भयो । 

सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले दिगो विकासका लक्ष्यलाई पूरा गर्ने गरी चियाबारी पदमार्ग निर्माण गरिने बताउनु भयो । ‘पदमार्गमा आजै पर्यटकको ओइरो लाग्छ भनने होइन, स्थानीय समुदायको सहभागितामा यहाँको पर्यटन प्रवर्धन सँगै आय स्तरमा वृद्धि हुन्छ भनने हो ।’ उहाँले प्रकृतिलाई कति पनि नबिगारी प्रकृतिको थप संरक्षण गर्नका लागि पदमार्गले सहयोग पुग्ने बताउनुभयो । 

हेल्भेटास कार्यक्रमका टुरिजम कोअडिनेटर प्रनिल उपाध्याय नेपालका अनुसार परियोजना अन्तर्गत कोशी प्रदेशका २९ पालिका समेट्ने गरी चार सय किलोमिटर पदमार्ग निर्माण गरिनेछ । चियाबारी पदमार्ग, फाल्गुनन्द पदमार्ग , लालीगुराँस पदमार्ग र मुन्धुम पदमार्ग छन् । यी पदमार्ग निर्माण गर्दा  सम्पन्न भएर सञ्चालनमा आउन परियोजनाले छोएका क्षेत्रका चार लाख नागरिकले रोजगार पाउने कोअर्डिनेटर नेपालले जानकारी दिनुभयो । 

पदमार्गले छोएका क्षेत्रमा पर्यटन पार्क, फलैँचा, होमस्टे, शौचालय आदि सञ्चालन गरिनेछ । पशुपतिनगर सामुदायिक वनका प्रतिनिधि कमल गदालले पदमार्ग आसपासका क्षेत्रमा लोप हुँदै गएका जडिबुटी रोप्नु पर्ने सुझाव दिनु भयो । चार वटा पदमार्ग निर्माण गर्दा ११ करोड २५ लाख रुपियाँ खर्च हुने जनाइएको छ । यी पदमार्ग सञ्चालनमा आउँदा थप ८० वटा होमस्टे सञ्चालनमा आउने परियोजनाले जनाएको छ । निर्माण गरिएको पदमार्गमा ८० प्रतिशत स्वदेशी , १५ प्रतिशत भारतीय र पाँच प्रतिशत तेस्रो देशका पर्यटकले पदयात्रा गर्ने सर्वेक्षण सार्वजनिक गरिएको छ । 

चिया पदमार्ग क्षेत्र अन्तर्गत सूर्योदय नगरपालिकामा इलाम फिक्कल श्रीअन्तु रहनेछ। फाल्गुनन्द पदमार्ग अन्तर्गत फिदिम लत्रेकुटी, सिलौटी, पौवा भन्ज्याङ, लोहाकिल, विखे छिन्तापु, गुरुवाले, सन्दकपुर, माईपोखरी रहनेछ । लाली गुराँस पदमार्ग क्षेत्र अन्तर्गत तुम्लिङ्गटार, खाँदबारी, नुम गुफा पोखरी, वसन्तपुर जलजले , तिनजुरे, मिल्के रहनेछ । मुन्धुम पदमार्ग अन्तर्गत क्षेत्रमा कोशी टप्पु मैनामैनी, शङ्खमचुली, हतुवागडी, आमचोक, थामडाँडा, तावाभञ्ज्याङ, टेम्केडाँडा, चखेवा दलसिङ्गे, धोत्रे जलजले, हाँसपोखरी, मैयुङ डाँडा, ह्यकुले रावाधाप, साल्पापोखरी, सिलिचुङ पिक रहनेछ । परियोजना अन्तर्गत पदमार्ग निर्माण , स्थानीय उत्पादनको ब्राण्डिङ÷प्याकेजिङ, स्थानीय समुदायको क्षमता विकास र नीति निर्माणका काम गरिनेछ ।