• १६ भदौ २०८१, आइतबार

दुई महिनामा आयो मुस्ताङमा हवाईजहाज

blog

पूर्वसांसद प्रेमप्रसाद तुलाचन जोमसोम विमानस्थलमा अवतरण गरेपछि तस्बिर खिचाउँदै ।

अमृतप्रसाद पौडेल

म्याग्दी, भदौ १४ गते । हिमालपारिको जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा ६१ दिनपछि बिहीबार हवाई उडान भएको छ ।

गत असार १५ गतेदेखि रोकिएको हवाई उडान भदौ १३ देखि सुरु भएको हो । बिहीबार मुस्ताङमा समिट एयरका पाँच वटा उडान भएको छ । मुस्ताङका प्रहरी नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डेयले पाँच वटा उडानमा पाँच जना नेपालीसहित ८४ जना यात्रु मुस्ताङ आइपुगेको जानकारी दिनुभयो । 

गएको असारको तेस्रो सातादेखि अवरुद्ध भएको हवाई उडान बिहीबारदेखि नियमित भएको नागरिक उड्डयन प्राधिकरण मुस्ताङका प्रमुख केशव लम्सालले बताउनुभयो । विगतको समयमा विमानस्थलमा कुकुर प्रवेश गरेर सताउने गरेको भए पनि अहिले विमानस्थल वरपर अग्लो तारबार लगाएर कुनै पनि प्रकारका जनावर भित्र छिर्न नसक्ने खालको बनाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले गाईभैँसी तथा कुकुर केही पनि छिर्न नसक्ने गरी व्यवस्थापन गरिएको छ । 

मुस्ताङका पर्यटन व्यवसायी अमृत सुवेदीले स्थल मार्गबाट सवारीसाधनको यात्रा हुने बेनी–जोमसोम सडकसँगै पोखरा–जोमसोम हवाई उडान सुरु भएपछि मुस्ताङका पर्यटकको आगमन बढ्ने बताउनुभयो । हवाई उडान सुरु भएसँगै विदेशी पर्यटकको आगमन मुस्ताङमा अझै बढ्ने उहाँको तर्क छ । 

पोखरा–जोमसोम रुटमा बर्सातको सुरुवात भएसँगै असार १५ पछि हरेक वर्ष हवाई उडान बन्द हुने र भदौ दोस्रो सातापछि उडान नियमित हुने गरेको छ । मुस्ताङका पूर्वसांसद प्रेमप्रसाद तुलाचनले यस वर्ष पनि वर्षा सुरु भएपछि बन्द भएको हवाई उडान वर्षा कम हुँदै गएपछि नियमित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई महिनापछि आजबाट हवाई उडान सुरु भयो र म पनि आजै उडानबाटै आएँ । अब पोखरा जोमसोमको हवाइ उडानसँगै मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्ने आशा गर्न सकिन्छ ।” तुलाचनका अनुसार उडानमा अधिकांश भारतीय पर्यटक थिए ।