• १३ भदौ २०८१, बिहिबार

सहकारी अपचलन आरोपित कुँवर २० लाख धरौटीमा रिहा

blog

सूर्यबहादुर कुँवर ।

अर्जुन काफ्ले 

स्याङ्जा, भदौ १४ गते। सहकारीको रकम अपचलनको आरोपमा सम्पर्क बाहिर रहनुभएका बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर २० लाख धरौटीमा बिहीबार रिहा हुनुभएको छ। 

थुनछेक बहसमा जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले पुर्पक्षको लागि कुँवर धरौटीमा रिहा हुनुभएको जिल्ला अदालतका श्रेस्तेदार भूमिप्रसाद शर्माले बताउनुभयो। 

सूर्योदय बचत तथा ऋण सहकारी लिमिटेड बिरुवा सेवा केन्द्रको रकम अपचलन गरेको आरोपमा सम्पर्क बाहिर रहनुभएका कुँवर आफै अदालत उपस्थित हुनुभएको हो। अदालतको माग गरेको धरौटी नगद बुझाएर कुँवर रिहा हुनुभएको शर्माले बताउनुभयो। 

सूर्योदय बचत तथा ऋण सहकारीका प्रबन्धक ध्रुव नारायण श्रेष्ठले गत साउन १० गते बिरुवा सेवा केन्द्रका प्रमुख जीवन वाग्लेविरुद्ध रकम अपचलनको उजुरी दिनुभएको थियो।

गत साउन ११ गते नै वाग्लेलाई पक्राउ गरेको थियो भने वाग्लेकै बयानको आधारमा गत साउन २८ गते सेवा केन्द्रका संयोजक बिरुवा ७ का तारेन्द्रबहादुर केसी र पुतलीबजार नगरपालिका १४ का सन्ध्या भण्डारीलाई अनुसन्धानको लागि पक्राउ गरेको थियो। कुँवर भने सम्पर्क बाहिर रहनुभएको थियो। 

रकम अपचलनको आरोप लागेर पक्राउ परेका वाग्ले र केसीलाई भदौ ६ गते अदालतले जेल चलान गरेका थियो। भण्डारी एक लाख धरौटीमा रिहाहुनुभएको थियो भने कुँवरलाई अदालतमा हाजिर हुन भनिएको थियो।  

आफू निर्दोष रहेको बताउँदै बिरुवा गाउँपालिका अध्यक्ष कुँवरले फसाउन खोजिएको र कसुर ठहरे सजाय भोग्न तयार रहेको बताउँदै आउनुभएको छ।