• १३ भदौ २०८१, बिहिबार

घरमै खानेपानीकाे धारा पुगेपछि स्थानीय खुसी

blog

जनार्जन खत्री

सर्लाही, भदौ १३ गते । चुरेभेगस्थित सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीका पौने तीन सय घरधुरीमा खानेपानी सुविधा पुगेको छ । खानेपानीको चरम समस्या भोग्न बाध्य स्थानीय अब भने घरघरमै खानेपानीको धारा झरेपछि खुसी भएका छन् । 

अत्रौलीमा २०६६ सालपछि सङ्घीय सरकारको लगानीमा खानेपानी आयोजना सुरु गरेपनि अलपत्र रहँदै आएको थियो । वडाका जनप्रतिनिधिको पहलमा नयाँ बोरिङ गाडेर पाइप विस्तार भएसँगै करिब पौने तीन घरधुरीले तत्काल उपभोग गर्न मिल्ने गरी घरघरमै खानेपानी पुगेको हो । 

हरिवन नगरपालिका २ का वडाध्यक्ष अर्जुन कुमार योन्जनका अनुसार आर्थिक वर्ष २०७९-८० मा डिभिजन खानेपानी कार्यालय मलङ्गवामार्फत नयाँ बोरिङ गाड्ने काम भएको थियो । त्यसपछि अघिल्ला आर्थिक वर्ष २०८०-८१ मा वडाको २० लाख रुपियाँ र नगर उपप्रमुख हरिमाया घलानको योजनाबाट १० लाख रुपियाँ बजेट विनियोजन गरी पाइप लाइन विस्तार गरेर खानेपानी वितरण गर्न सुरु गरिएको वडाध्यक्ष योन्जनले बताउनुभयो । दुई हजार लिटर भन्दा बढी क्षमताको खानेपानी ओभरहेड ट्याङकी भने यसअघि नै सङ्घीय सरकारको बजेटबाटै निर्माण सम्पन्न भएको थियो । 

यसअघि निर्माण भएको बोरिङ भने काम नलाग्ने भएपछि पुनः नयाँ बोरिङ गाड्नु परेको वडाध्यक्ष योन्जनले बताउनुभयो । उहाँका अनुसार अहिले प्रत्येक स्थानीयले आ–आफ्नो घरमा खानेपानीको धारा जडान गरिरहेका छन् । 

खानेपानी आयोजनाको बिहीबार नगर उपप्रमुख हरिमाया घलान र वडाध्यक्ष योन्जनले संयुक्त रूपमा खानेपानीको धारा खोलेर औपचारिक उद्घाटन गर्नुभएको छ । यो खानेपानी आयोजनाबाट हरिवन नगरपालिका २ अत्रौलीका मिलनचोक नयाँबस्ती, जिम्दार टोल, चिसापानी, थाङसिङ्गे टोल र तिलतले गाउँमा खानेपानी सुविधा पुगेको छ ।

यी टोलका स्थानीय यसअघि खानेपानीको इनार र कुवाको पानी बारम्बार सुक्दा खानेपानीको चरम समस्या भोग्न बाध्य थिए । अत्रौली खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवजी महतोले खानेपानीको समस्याबाट मुक्ति पाउँदा सारा गाउँले खुसी रहेका बताउनुभयो । 

यसअघि हरिवन २ कै खोरगाउँ र लालिभत्ती क्षेत्रमा वडा कार्यालयले पाइप गाड्ने र जोड्ने काममा सहयोग गरेपछि लालबन्दी खानेपानी तथा सरसफाइ संस्थाले करिब डेढ सय घरधुरीमा भर्खरै खानेपानी सुविधा पुर्‍याएको छ । त्यसपश्चात् खोरगाउँ र लालभित्तीका स्थानीयले पनि खानेपानीको समस्याबाट मुक्ति पाएका छन् ।