• १३ भदौ २०८१, बिहिबार

नेपाल एयरलाइन्सका सबै जहाज ग्राउण्डेड भएकोमा सांसद झाको आशङ्का

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झा

काठमाडौँ, भदौ १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले नेपाल एयरलाइन्सका सबै जहाज ग्राउण्डेड भएको भन्दै आवश्यक कदम लिन  सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद झाले नेपाल एयरलाइन्सका सबै जहाज ग्राउण्डेड भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले सि चेकका लागि एक महिनाका लागि जहाज विदेश पठाएको भए पनि इटालीमा ९० दिनदेखि राखिएको जिकिर गर्नुभयो । उहाँले इटालीमा दैनिक पाँच लाख रुपियाँ पार्किङ शुल्क तिरेर घाटा व्यहोरिरहेको भन्दै यसप्रति कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले चाडपर्वको बेलामा अन्य निजी कम्पनीहरुसँग नाफा खानाका लागि एयरलाइन्सको जहाज ग्राउण्डेड गरिएको हो कि भन्ने आशङ्का पनि उब्जिएको बताउनुभयो ।

सांसद झाले भन्नुभयो, ‘‘नेपाल एयरलाइन्सको सबै जहाजहरु ग्राउण्डेड छ भन्ने कुराहरु आइरहेका छन् । विभिन्न अन्तर्राष्ट्रिय रुटहरुमा सञ्चालित विभिन्न क्षेत्रसँग, नेपाली जनता वा पर्यटकलाई बोक्नका लागि सञ्चालित रुटहरुमा कतैपनि हाम्रो ध्वजावाहक उडिराखेको छैन । सि चेकको लागि एक महिनाको मात्र समय लिएर पठाइएको जहाज केही दिन दिल्लीमा राखियो र त्यहाँ कसैले देख्लान् कि भनेर लुकाउनका लागि इटाली लगियो ।’’

उहाँले हवाइ क्षेत्रको अध्ययन नगरेको व्यक्तिलाई राजनीतिक पहुँचको आधारमा सो क्षेत्रमा नियुक्ति दिलाउँदा पनि हवाइ क्षेत्रको अवस्था यस्तो बनेको बताउनुभयो ।