• १३ भदौ २०८१, बिहिबार

अपर म्याग्दीखोला–१ जलविद्युत आयोजनाको सुरुङ निर्माण सुरु

blog

आयोजनाको अडिट सुरुङको शुभारम्भ कार्यक्रममा सहभागीहरू । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, भदौ १३ गते । म्याग्दीको धवलागिरि गाउँपालिका ४ मा ५३.५ मेगावाट क्षमताको अपर म्याग्दीखोला– १ जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । अपर म्याग्दी जलविद्युत कम्पनी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको छहरीमा मुख्य सुरुङ जाने प्रवेश मार्ग (अडिट) निर्माण थालिएको हो ।    

गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बुधबार विस्फोट गराई सुरुङ निर्माण शुभारम्भ गर्दै आयोजना निर्माणले पश्चिम म्याग्दीमा जलविद्युत विकासको ढोका खुल्ने विश्वास व्यक्त गर्नुभयो । तोकिएको समयमै आयोजना सम्पन्न गर्न उहाँले अनुरोध समेत गर्नुभयो । 

आयोजनाका प्रमुख ज्योतिकुमार केसीले दुईसय सात मिटर अडिट सुरुङ निर्माण सकेपछि बाँध र विद्युतगृहबाट पनि सुरुङ खन्ने काम थालिने बताउनुभयो । धवलागिरि गाउँपालिका–४ खाम्लामा रहने बाँध देखि मालिका गाउँपालिका–७ भरावाङ सम्म पाँच हजार सातसय मिटर लामो सुरुङ निर्माणको काम आगामी ३० महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । 

आयोजनाबाट वि.स. २०८३ फागुन महिनामा विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।  रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेट देखि विद्युतगृहको उचाइ १९६ मिटर रहेको छ । 

कम्पनीका कार्यकारी अध्यक्ष भानुभक्त पोखरेलले १२ अरब लागत अनुमान गरिएको आयोजनामा सानिमा बैङ्कको नेतृत्वमा विभिन्न बैङ्कहरूले कुल लागतको ७५ प्रतिशत र प्रवर्द्धक तथा  संस्थापक सेयर आव्हान गरेर २५ प्रतिशत लगानी जुटाइने आयोजनाले जनाएको छ । 

जलविद्युत आयोजनाहरूको प्रवर्द्धक कम्पनी ऊर्जा डेभलपर्स प्रा.लि. मार्फत एक हजार मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्य अनुसार अपर म्याग्दी–१ बनाउन लागिएको पोखरेलले बताउनुभयो । 

निर्माण कम्पनी लुना बिल्डर्स एण्ड कन्ट्याक्टर प्रा.लि.ले सुरुङसँगै अन्य संरचना निर्माणलाई तीव्रता दिने जनाएको छ । नौ किलोमिटर पहुँच मार्ग बनाएको यस आयोजनाले भारवाङ, छहरी र खाम्लामा क्याम्प राखेको छ । छहारीमा नेपाली सेनाको सुरक्षा क्याम्प राखिएको छ ।  आयोजनाबाट उत्पादन हुने विद्युत मालिका गाउँपालिका–७ डाडाखेतमा निर्माणाधीन १३२ केभी क्षमताको सब स्टेसनबाट केन्द्रीय प्रसारण लाइनमा जोडिने छ ।