• १३ भदौ २०८१, बिहिबार

प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरणमा पहल थाल्न सुझाव

blog

काठमाडौँ, भदौ १३ गते ।  प्रतिनिधि सभा सदस्यहरूले प्राकृतिक विपदबाट  हुने क्षति न्यूनीकरणमा पहल थाल्न सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा उहाँहरूले क्षति न्यूनीकरणमा राज्यले लगानी बढाउनुपर्ने सुझाव दिनुभयो । 

सांसद सीताकुमारी रानाले चट्याङका कारण नागरिकले अकालमा ज्यान गमाउनुपरेको उल्लेख गर्दै मृतकलाई क्षतिपूर्ति तथा घाइतेको समयमा नै उपचार गर्न सरकारसँग माग गर्नुभयो । 

“मनसुनजन्य विपद् बाढी पहिरामा परी कैयौँ नागरिकले अकालमा ज्यान गुमाउनुपरेको छ, सरकारले यस्ता घटना न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्छ”, उहाँले भन्नुभयो । सांसद रानाले वातावरणीय मापदण्ड पूरा नगरी विकास निर्माणका काम भएका कारण पहिरोको जोखिम बढेकाले वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो ।  

सांसद मनिष झाले नेपाल एयरलाइन्सका जहाज मर्मतका लागि लगिए पनि ९० दिनसम्म पनि ल्याउन नसकिएको उल्लेख गर्दै समयमै जहाज मर्मत गर्न सरकारलाई सुझाव दिनुभयो । 

सांसद राजेन्द्र बजगाईँले धार्मिक सद्भावमा बाधा पुग्ने काम रोकिनुपर्नेमा जोड दिनुभयो । रासस