• १३ भदौ २०८१, बिहिबार

क्षमता अनुसार भण्डारण नहुँदा सङ्कटमा शीतभण्डार

blog

कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुर स्थित २०७७ सालदेखि सञ्चालनमा रहेको शीतभण्डार । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य
घोडाघोडी (कैलाली), भदौ १३ गते ।
विसं. २०७७ फागुनदेखि सुदूरपश्चिम मोहन्याल कृषी तथा पशुपालन व्यवसाय प्रालिले सञ्चालनमा ल्याएको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा रहेको शीतभण्डार क्षमता अनुसारको कृषी उपज भण्डारण नभएपछि सञ्चालनमा समस्या आएको छ । 

तीन हजार मेट्रिक टन क्षमता भएको प्रदेशकै सबैभन्दा ठुलो शीतभण्डारको तीनवटा च्याम्बरमध्ये एउटा मात्र च्याम्वरमा भण्डारण गरिएको छ भने बाँकी दुई वटा खाली अवस्थामा रहेका छन् । सुरुको वर्षदेखि हालसम्म किसानका उत्पादन भण्डारण परिणाम बढ्दै गए पनि शीतभण्डारको क्षमता अनुसार उत्पादित बस्तु भण्डारण नहुँदा खर्च धान्न धौँधौँ भइरहेको सञ्चालकको भनाइ छ ।

२५ करोडभन्दा बढि ऋण भएको उक्त शीतभण्डार क्षमता अनुसार भण्डारण गर्न नपाउँदा बैंकको किस्ता तिर्न समस्या भएको अध्यक्ष रामबहादुर रावतले बताउनुभयो । उहाँले सरकारले अनुदान नदिँदा अहिलेसम्म किसानहरूकै पैसाबाट चलिरहेको कोल्डस्टोरलाई दुर्गामी रुपमा सञ्चालन गर्न किसानहरुकै साथ सहयोग आवश्यक रहेको बताउनुभयो ।

कैलाली, कञ्चनपुर, डडेल्धुरालगायतका जिल्लाबाट फलफुल, तरकारी उक्त शीतभण्डारमा भण्डारण हुने गर्दछ । अहिले शीतभण्डारमा  किसानहरुको आलु भण्डारण भएको छ ।

आर्थिक वर्ष २०७९।०८० मा चारहजार ६७८ जना किसानले १७ हजार २३९ बोरा आलु भण्डारण गरेकोमा आर्थिक वर्ष २०८०।०८१ मा चारहजार ८९७ जना किसानले १४ हजार ६४९ बोरा आलु भण्डारण गरेका छन् । यसरी हेर्दा भण्डारण गर्ने किसानको सङ्ख्या बढे पनि उत्पादन घटेको देखिन्छ ।

अध्यक्ष रावतले भण्डारण क्षमता धेरै भए पनि उत्पादित बस्तु कम हुन थालेपछि अहिले विभिन्न पालिकामा ४६२ सङ्ख्यामा किसानको समूह बनाएर काम अगाडि बढाएको बताउनुभयो ।

२०७७ साल फागुन अन्तिम सातादेखि सञ्चालनमा आएको शीतभण्डार सुरुको स्टेमेटभन्दा डबल खर्च निमार्णमा लागेपछि अहिले कम्पनी ऋणमा रहेको छ । करिब १९ करोेड लागतमा शीतभण्डार तयार भएको जनाउँदै अध्यक्ष रावतले समयमा व्याज किस्ता तिर्नन सक्दा बढ्दै गएर २५ करोड ऋण पुगेको बताउनुभयो ।

५० हजार बराबरको सेयर लिएका १०१ सेयर सदस्यबाट उठेको रकम, रिज्मबाट आएको अनुदान  त्यसैगरी, कृषी ज्ञान केन्द्रबाट प्राप्त नौ लाख, नगरपालिकाबाट प्राप्त छ लाख ५० हजार, प्रदेश सरकारबाट प्राप्त पाँचलाख अनुदानलाई शीतभण्डार, बाटो निर्माण, घेरबारमा  लगाएको बताउँदै सञ्चालक सदस्य रावतले बाँकी सबै ऋण रहेको जानकारी दिनुभयो ।

बैंक वित्तीय संस्था, सहकारी, समूहबाट लिएको ऋण तिर्न बाँकी रहेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले दुई पटकसम्म रातो किताबमा शीतभण्डारको लागि भन्दै नौ करोड ९० लाख अनु्दान राखेको थियो । तर प्राईभेट कम्पनीअन्तर्गत दर्ता भई सञ्चालनमा आएको शीत भण्डारलाई अनुदान दिन नमिल्ने भएपछि प्रदेश सरकारले उक्त रकम पनि उपलब्ध गराउन नसकेको जनाइएको छ ।

अध्यक्ष रावतले सरकारले सार्वजनिक भलाईका लागि खोलिएको शीतभण्डारका लागि छुट्याएको बजेटसमेत उपलब्ध नगराएपछि सरकारसँग कुनै आशा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब सरकारसँग अनुदानको आश छैन । शीतभण्डार सबै किसानको बनाउने हो । किसानहरुको समूह निर्माण गरेर उनीहरुलाई शेयर दिने, उत्पादनमा जोड्ने र बजारीकरणमा पनि सहयोग गर्नेगरी अगाडि बढेका छौं ।”

करिब ३० लाख विद्युत महशुल तिर्न बाँकी
विद्युतकै सहायताले चल्ने उक्त शीतभण्डारको लामोसमय विद्युत महशुल नतिरेपछि पटक–पटक नेपाल विद्युत प्राधिकरणले विद्युतको लाइन काट्ने गरेको छ । पटक–पटक विद्युत महशुल बुझाउन ताकेता गरेको विद्युत प्राधिकरणले असारको अन्तिमसात लाईन काटेपछि जनतन खोजखाज गरी एक लाख रकम जम्मा गरेर विद्युत सुचारु गरेको अध्यक्ष रावतले बताउनुभयो ।

उहाँले शीतभण्डारबाट आएको आम्दानीले कर्मचारी व्यवस्थापनमा ठिक्कहुने जनाउँदै बैंक किस्ता , विद्युत महशुल तिर्न समस्या भएको बताउनुभयो । दसैंसम्म बाँकी बक्यौता रकम भुक्तानी गर्ने सर्तमा विद्युत लाईन जोडिएको छ ।

विद्युत प्राधिकरण पहलमानपुर केन्द्रका प्रमुख लोकविक्रम मल्लले पटक–पटक सूचना जारी गर्दा समेत विद्युत महशुल नतिरेपछि शीतभण्डारको धेरैपटक लाईन काट्ने आदेश आएको बताउनुभयो । उहाँले शीतभण्डारले अहिलेसम्म तिर्न बाँकी २४ लाख २० हजार २४१ रुपियाँ विद्युत महशुल र समयमा महशुल नबुझाए बापतको जरिवाना पाँच लाख ६६ हजार २५ रुपियाँ गरी जम्मा २९ लाख ८६ हजार २६६ रुपियाँ रकम शीतभण्डारले बुझाउन बाँकी रहेको बताउनुभयो ।

सञ्चालकहरुको निस्कृयतासँगै शीतभण्डार थप सङ्कटमा
घोडाघोडी, गौरीगंगा, लम्कीचुहा नगरपालिकाका विभिन्न क्षेत्रमा आवद्ध १०१ व्यक्तिहरु शीतभण्डारको सेयर सदस्य रहेका छन् भने अध्यक्ष रावतसहित १२ जना सञ्चालक समिति रहेको छ । सुरुमा शीतभण्डार सञ्चालनमा जुन जोशजागरका साथ सञ्चालक सदस्यहरुको सकृयता थियो त्यो सकृयता अहिले नभएको पाइन्छ ।

अध्यक्ष रावतले भन्नुभयो, “समाजमा उच्चस्तरका विभिन्न क्षेत्रका व्यक्तिहरु सेयर सदस्य, सञ्चालक सदस्य हुनुहुन्छ । उहाँहरुको पनि लगानी छ , पहिलाजस्तो सकृयता अहिले उहाँहरुको छैन, बैठकमा बोलाएपछि आउनुहुन्छ तर अन्य समयमा शीतभण्डारलाई उकास्ने कार्यमा तेती सकृयता छैन, हुनसक्छ उहाँहरु आफ्नै काममा व्यस्त भएरपनि होला ।”

अध्यक्ष रावतले किसानको उत्पादन बढाउन सरकारले सहयोग गरेर उत्पादनलाई शीतभण्डारमा भण्डारण गर्न उत्प्रेरित गरेपनि ठुलो सहयोग हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो “शीतभण्डार पूर्ण क्षमतामा भण्डारण भएर चल्योभने चाडैनै  ऋण मुक्त हुने छौ ।”