• १३ भदौ २०८१, बिहिबार

६८ जनामा हैजा पुष्टि

blog

काठमाडौँ, भदौ १३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पानीजन्य रोगबाट बच्न पानी शुद्धीकरण गरेर मात्र प्रयोग गर्न आग्रह गरेको छ ।

मन्त्रालयले सूचना निकाल्दै गर्मी तथा वर्षयामसँगै फैलिने झाडापखाला जस्ता पानीजन्य रोगहरुबाट बच्न पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न आग्रह गरेको हो । 

मन्त्रालयले बासी सडेगलेका झिँगा भन्केका खानेकुरा नखान आग्रह गर्नुका साथै काँचै खान मिल्ने फलफूल तथा तरकारी शुद्धीकरण गरेर मात्र खाना सुझाव दिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार, ललितपुर, काठमाडौँ, कैलाली, प्युठान, मकवानपुर गरी पाँच जिल्लामा ६८ जनामा हैजा पुष्टि भएको छ ।

सबैभन्दा बढि हैजा पुष्टि ललितपुरमा भएको छ । ललितपुरमा ४८, काठमाडौँमा नौ, कैलालीमा ८, प्युठानमा दुई र मकवानपुरमा एक जनामा हैजा पुष्टि भएको छ । सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार हैजा फेकल कोलिफोर्म (दिसा मिसिएको) दूषित पानी पिउनाले हुने गर्छ ।

डा. पुनका अनुसार चौलानी (चामलको माड जस्तो) पानी जस्तो पखाला लाग्नु, बान्ता हुनु र मांसपेशी (विशेषगरी खुट्टाको) बाउँडिनु हैजाका मुख्य लक्षण हुन् ।

सङ्क्रमित व्यक्तिको दिसा मिसिएको पानी वा खानेकुरा मार्फत यो अर्को व्यक्तिमा फैलिने गर्छ । हैजा भएका मानिसको तौल घट्दै जाने, पेट दुख्ने, आँखा गड्ने, छाला चिसोे हुने, हातगोडा बाउँडिने, जलवियोजन भएर मानिसको मृत्युसमेत हुने डा.पुनको भनाइ छ ।