• १३ भदौ २०८१, बिहिबार

छानबिन समितिले दिएका प्रतिवेदनबारे समीक्षा गर्ने बेला आयो : मन्त्री पाण्डे

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे ।

काठमाडौँ, भदौ १३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटनापछि बनेका छानबिन समितिहरूले दिएका प्रतिवेदन तथ्य परक छन् वा छैनन् भन्ने विषयमा समीक्षा गर्ने बेला आएको बताउनुभएको छ ।

बिहीबार वायु सेवा सञ्चालक सेवा संघ नेपालद्वारा आयोजित हवाई सुरक्षासम्बन्धी दुई दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो ।

उहाँले नेपालको हवाई दुर्घटनापछि छानबिन गर्न बनेका समिति कति सत्य र तथ्यमा आधारित छन ? त्यसबारे समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘‘छानबिन समिति बन्ने गरेका छन् । छानबिन समिति कतिको सत्यतथ्यमा आधारित छन् त्यसको समीक्षा गर्ने बेला भएको छ । यदि दिएका प्रतिवेदन तथ्य परक थिए भने त्यसको कार्यान्वयन किन हुन सकेको छैन । त्यसबारे सोच्नु पर्ने बेला आएको छ ।’’

उहाँले आन्तरिक हवाई यात्रुहरूमा समेत उड्डयन क्षेत्र प्रतिको विश्वासमा क्षयीकरण भएको बताउनुभयो । मन्त्री पाण्डेले यसबारेमा सरोकारवाला निकायहरू गम्भीर र सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।