• १० मंसिर २०८१, सोमबार

समाजवादमा व्यक्ति र समाजको सम्बन्ध

blog

समाजवाद मानव जाति संलग्न भएर विकास भएको सम्भवतः सबैभन्दा पछिल्लो, सबैभन्दा उच्च स्तरको वैज्ञानिक सिद्धान्तमा आधारित उत्पादन पद्धतिको नाम हो । समाजवाद पहिले कल्पनामा आधारित सिद्धान्त मात्र थियो । यसलाई वास्तविक धरातलमा स्थापित गर्न वैज्ञानिक सिद्धान्तबाट सम्पन्न गर्ने कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्स नै हुन् । उनीहरूको योगदानको चर्चा, आलोचना, समालोचना समर्थन विरोध युगौँयुगसम्म भइरहने छ ।

आदि मानवजातिको कालदेखि आजसम्म पनि छिनोफानो हुन नसकेको विषय भनेको समाज र व्यक्तिका बिच त्रुटिविहीन अन्तरसम्बन्ध कसरी कायम गर्न सकिन्छ भन्ने नै हो । समाज र व्यक्तिका बिचको सम्बन्धबारे कम्युनिस्ट पार्टीको घोषणापत्रकोे ‘सर्वहारा र कम्युनिस्ट’ शीर्षक अन्तर्गतको अन्तिम अनुच्छेद अथवा वाक्यमा लेखिएको छ, ‘जब समाजमा सर्वहारा वर्गको पनि प्रभुत्व समाप्त हुने छ, अथवा साम्यवादको अवस्था विकसित हुने छ, तब वर्ग विरोधले बाँधिएको पुरानो पुँजीवादी समाजको स्थानमा एउटा सामाजिक सङ्घ स्थापना हुने छ । त्यस समयमा व्यक्ति र समाजमा कुनै भिन्नता हुने छैन । त्यस्तो अवस्थामा मात्र व्यक्तिको स्वतन्त्र प्रगति समाजको स्वतन्त्र प्रगतिको सर्त हुने छ ।’

उपर्युक्त विचार अनुसार जबसम्म समाजवादको विकासले उच्चतम अवस्था प्राप्त गर्न सक्ने छैन त्यस अवस्थासम्म व्यक्तिगत स्वतन्त्रताको महत्व स्थापित हुने छैन । व्यक्तिगत स्वतन्त्रताको महत्वले पुँजीवादको महत्व स्थापित हुन सक्छ भन्ने शङ्का यसमा प्रकट भएको छ । त्यसो भएर व्यक्तिगत स्वतन्त्रतालाई समाजको स्वतन्त्रताको मातहत राख्न खोजिएको छ । समाज र व्यक्ति अलग हुनै नसक्ने व्यष्टि र समष्टि नामका प्रवर्ग हुन् । व्यक्तिको स्वतन्त्रताको महत्व नहुने समाजको मात्र स्वतन्त्रताको महìव स्थापित गर्ने तर व्यक्तिको पहलकदमी विकसित हुन नसक्ने अवस्थाले अन्त्वतोगत्वा समाजलाई नै नोक्सान पुग्ने छ । व्यक्ति र समाज, व्यष्टि र समष्टिबिचको अन्तरसम्बन्धले नै समाजको विकास भएको हो । यो व्यष्टि र समष्टिको प्रवर्गलाई पुँजीवाद र समाजवादको रूपमा अर्थ लगाउने किसिमले प्रयोग हुनु उचित होइन । सोभियत समाजवादको असफलताको एउटा कारण यो पनि हो । समाजको कुनै पनि सदस्यलाई आफ्नो क्षमता चौतर्र्फी विकास गर्न अवसर पाउनु पर्छ । व्यक्तिको चौतर्फी विकास प्रकारान्तरमा समाजकै चौतर्फी विकास हुने हो । यस किसिमको अधिकारले नै व्यष्टि र समष्टिबिच आलोचनात्मक सम्बन्ध अझ सुदृढ बनेर जान सक्ने छ । 

सोभियत सङ्घमा उमेर पुगेका प्रत्येक व्यक्तिले काम गरेर जीवनयापन गरेका थिए तर कामको क्षेत्र रोज्न पाएका थिएनन् । कुनै व्यक्तिलाई कुनै चीजको अभाव थिएन तर रोजेर लिन पाएका थिएनन् । कसैले आफ्नो कमाइबाट बचत गर्ने व्यवस्था नै भएन । सोभियत सङ्घ हुँदा हरेकले सबै चिज पाए तर उन्मुक्त खुसी साथ केही गर्न पाएनन् । मानवीय प्रवृत्ति हुन्छ प्रतिस्पर्धा, साँच्चै भन्ने हो भने प्राणी मात्रमा प्रतिस्पर्धा गरेर नै मानव जातिले आफूलाई योग्य साबित गरेको हो । जलचर, स्थलचर, नभचर यहाँसम्म कि वनस्पतिमा पनि प्रतिस्पर्धा हुन्छ । हरेक वस्तुमा विपरीत तत्वले काम गरेको हुन्छ र नै त्यसको अस्तित्व पनि कायम भएको हुन्छ । विपरीत तìव हुन्छ र नै प्रतिस्पर्धा पनि निरन्तर भइरहेको हुन्छ । माक्र्सवादी दर्शनबाट मार्गदर्शन प्राप्त गर्ने कम्युनिस्टहरूले त प्रतिस्पर्धालाई विश्वव्यापी बनाउन तयार हुनुपर्ने हो । सोभियत सङ्घमा स्वतन्त्र रूपमा त्यस्तो हुन दिइएन । 

कम्युनिस्टको मुखमा झुन्डिरहने दुइटा शब्दबाट बनेको वाक्यांश सर्वहारा वर्ग नै हो । इमानदारी साथ भन्न सक्नु पर्छ, अहिले संसारको कुनै पनि राष्ट्रमा सर्वहारा वर्ग छैन । सर्वहारा वर्ग शारीरिक र मानसिक शक्ति खर्च गरेर बाँच्ने अवस्थामा होइन उच्चस्तरको विज्ञता प्राप्त गरेका वैज्ञानिकमा रूपान्तरण भइसकेको छ । अहिले पनि कतिपय कम्युनिस्टले नभएको सर्वहारा वर्ग खोज्दै हिँडेको पाइन्छ । नभएको सर्वहारा वर्ग खोज्नुको सट्टा नयाँ विकसित श्रमजीवी वर्गलाई सङ्गठित गर्दै शान्तिपूर्ण सङ्घर्ष र वैधानिक प्रक्रियाको माध्यमबाट अत्याधुनिक वैज्ञानिक समाजवाद निर्माणमा लाग्नु धेरै श्रेयसकर हुन्छ । 

उत्पादन पद्धतिसँगै संस्कृति पनि विकसित भइरहने छ । संस्कृति उत्पादन पद्धतिसँगै विकसित भइरहने मानवजातिको अभिन्न पक्ष हो । सांस्कृतिक पक्षको विकासले मानवीय मूल्यको महत्त्व अत्यधिक बढेर जाने छ । त्यसले विभिन्न विचारलाई विकास गर्ने छ ।

मानव जाति पशुपालन अवस्थामा विकसित भएपछि रैथाने हुन थालेको हो । कृषि उत्पादनमा प्रवेश गरेपछि स्थायी बासिन्दाका रूपमा विकसित भएको हो । कालान्तरमा अन्य मानव समूहको आक्रमणलाई पराजित गरेर आफ्नो समूहको सुरक्षा गर्ने सन्दर्भमा हतियारधारी शक्तिको निर्माण गर्ने आवश्यकता देखा पर्‍यो । दुई समूहका बिचको सङ्घर्षमा हार्ने पक्षलाई दासका रूपमा राख्दा धेरै उपलब्धि हुने मूल्याङ्कन गर्दै सम्भावित विद्रोहलाई दमन गर्नका निम्ति स्थायी शक्तिका रूपमा राज्यसत्ताको विकास भयो । राज्यसत्ताको उत्पत्ति कालदेखि नै यसको दोहरो चरित्र विकसित भयो । आफ्नो पक्षको संरक्षण र सेवा गर्ने तथा शत्रु पक्षको दमन र नियन्त्रण गर्ने । माक्र्सवादी साहित्यमा शत्रु पक्ष शत्रु वर्गलाई शारीरिक रूपमा नै समाप्त गर्नुलाई सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्ने रूपमा लिने गरेको भेटिन्छ । सर्वहारा वर्गलाई आफ्नो हातमा सत्ता हस्तगत गरेपछि शत्रुपक्ष मित्र पक्षमा रूपान्तरण हुन सक्छ भन्ने सम्भावनालाई अस्विकार गरिएको छ । कम्युनिस्ट घोषणापत्रमा ‘मजदुर वर्गले बनिबनाउ राज्य कब्जा गरेर त्यसैलाई उपयोग गरेर आफ्नो मुक्ति र समृद्धि कायम गर्न सक्दैन’ भनेर माक्र्स एङ्गेल्स छँदै संशोधन गरिएको हो । घोषणापत्रको यो संशोधन माक्र्सवादी दर्शनको तीन मुख्य नियमसँग बाझिएको छ । त्यसो भएर मुख्य नियमलाई नै अवलम्बन गर्नु पर्छ ।

उत्पादन पद्धतिको विकास पुरानोलाई ध्वंस गरेर नयाँ स्थापित गरिएको होइन । आजसम्म विकसित भएका पाँच वटै उत्पादन पद्धतिको विकास पुरानोले नयाँलाई जन्माएर अथवा विकास गरेरै भएको छ । यसमा जब नयाँ उत्पादन पद्धति विकसित हुन्छ पुरानोको अस्तित्व समाप्त हुन्छ । आदिम साम्यवादी उत्पादन पद्धति छोडेर अरू उत्पादन पद्धति जसमा राज्यसत्ताको भूमिका अत्यन्त प्रभावकारी रहँदै आएको छ । हरेक अवस्थाको राज्यको दोहरो चरित्र रहेको छ सेवा र नियन्त्रण । सन् १९१७ को सर्वहारा समाजवादी क्रान्तिमा जारशाही राज्यसत्तालाई बलपूर्वक पराजित गरेरै रुसी सर्वहारा समाजवादी क्रान्ति सम्पन्न भएको थियो तर त्यो क्रान्तिलाई पनि जारशाही सेनाको झन्डै आधा हिस्साले साथ दिएको थियो र नै ज्यादै कम क्षति बेहोरेर क्रान्ति सम्पन्न भएको थियो । त्यो सेनाको संलग्नता बिनाक्रान्ति सम्भव नै थिएन । क्रान्ति सम्पन्न भएपछि सोभियत लाल सेनामा त्यो रूपान्तरण भएको थियो । सर्वहारा समाजवादी क्रान्तिबाट राज्यसत्ताले सोभियत समाजवादी उत्पादन पद्धति विकसित र संरक्षण गर्‍यो । कम्युनिस्ट पार्टीको घोषणापत्रमा उल्लेख भएबमोजिम नै सोभियत सत्ताले जतिसक्यो चाँडो रुसमा रहेको पुँजीवादलाई सम्पूर्ण रूपले समाप्त गर्ने काम गर्‍यो । त्यहाँ विकसित भइरहेको समाजवादको विपरीत तत्वको रूपमा कायम हुने राष्ट्रिय पुँजीवादलाई विकसित हुन दिनु पर्दथ्यो । त्यसका लागि समाजवादी बजार अर्थव्यवस्थालाई लागु गर्न सकिन्थ्यो । अहिले चीन, भियतनाम, क्युवामा त्यही गरिएको छ । 

उपर्युक्त महत्वपूर्ण ऐतिहासिक जिम्मेवारी पूरा गर्ने सोभियत कम्युनिस्ट पार्टीले किन समाजवादमा पनि विपरीत तत्व हुन्छ भनेर बुझ्न सकेन ? त्यसलाई खोज्नु पर्छ र समाजवादमा अभिन्न अङ्गका रूपमा विकसित गर्नु पर्छ भनेर सोभियत कम्युनिस्ट पार्टीले किन निर्णय गर्न सकेन ? यस सम्बन्धमा हामी गम्भीर हुनु पर्छ, निधार खुम्च्याएर सोच्नु पर्छ र सिर्जनात्मक क्षमता प्रयोग गरेर सही निष्कर्ष निकाल्न सक्नु पर्छ र २१ औँ शताब्दीको मानव समाजसमक्ष प्रस्तुत गर्नु पर्छ । 

सेवाकारी संस्था मानव समाजमा कहिल्यै अन्त्य हुने छैन र समाज स्वचालित अवस्थामा विकसित हुने छ । त्यो अवस्थामा पनि उत्पादन पद्धतिको नाम परिवर्तन गर्नु आवश्यकपर्ने छैन । समाजवाद निरन्तर परिवर्तन र विकसित हुँदै मानवजातिको अस्तित्व रहँदासम्म कायम रहने छ ।

हाम्रो पहिलो निष्कर्ष के हो भने विपरीत तत्वका बिच एकता र सङ्घर्षको अवस्था बिना ब्रह्माण्डमा कुनै पनि अस्तित्व कायम हुन सक्दैन । यो निष्कर्ष संसारका सबै खगोलविद्को पनि हो । दोस्रो निष्कर्ष के हो भने समाजवादी उत्पादन पद्धति पनि त्यस्तै अस्तित्व हो । त्यसमा पनि विपरीत तत्वका बिच एकता र सङ्घर्षको अवस्था कायम हुन्छ । त्यसलाई आफ्नो गतिमा विकसित हुन दिनु पर्छ । त्यसरी विकसित हुने उत्पादन पद्धति नै समाजवादी उत्पादन पद्धति हो । यो अवस्थामा मात्र सामाजिक उत्पादन र सामाजिक स्वामित्व कायम हुन सक्छ । तर सोभियत सङ्घमा सामाजिक उत्पादन र राजकीय स्वामित्व कायम गरियो । राजकीय स्वामित्वलाई नै सामाजिक स्वामित्व भनेर परिभाषित गरियो । समाजवादी बजार अर्थतन्त्रमा राजकीय, सामूहिक र खास क्षेत्रमा व्यक्तिगत उत्पादन गर्ने पनि व्यवस्था हुन्छ । उत्पादित पदार्थ मालका रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पुर्‍याइन्छ । बजारमा स्वाभाविक रूपले मालको मूल्यमा माग र आपूर्तिका आधारमा तलमाथि हुने अवस्थालाई स्वीकारिन्छ । बजार अर्थतन्त्र अवलम्बन गरेपछि निश्चित सीमासम्म सम्पत्ति आर्जन गर्ने अवस्थालाई मान्यता दिइन्छ । आवास र अन्य आवश्यकता उत्पादन सरकारी, अर्धसरकारी, निजी क्षेत्रमा दैनिक वा मासिक वा तोकिएको उमेर हदसम्म काम गर्ने सबैले ज्यालामा उत्पादन र निवृत्तिभरणको व्यवस्थामा पनि मुद्रा प्रणाली अवलम्बन गरिन्छ । 

उपर्युक्त अवस्थामा मात्र समाजवादी उत्पादन पद्धतिको विपरीत तत्व कायम हुन सक्छ । यो व्यवस्थालाई हरेक समाजवादी मुलुकले अर्थतन्त्रका केही क्षेत्रमा मात्र होइन हरेक क्षेत्रमा कायम हुन दिनु पर्छ । यो हाम्रो तेस्रो निष्कर्ष हो । प्रतिस्पर्धा माक्र्सवादी दर्शनको आत्मा हो । संविधान र कानुन ऐन नियमका आधारमा राजनीतिक प्रतिस्पर्धासहितको शासन प्रणाली अवलम्बन गर्नु पर्छ । यस्तो अवस्था माक्र्सवादसम्मत नै हुन्छ । यो हाम्रो चौथो निष्कर्ष हो । ज्ञान, विज्ञान, संस्कृति र खेलकुद आदि क्षेत्रमा पनि प्रतिस्पर्धात्मक अवस्था विकसित गर्नु पर्छ यो हाम्रो पाँचौँ निष्कर्ष हो । 

अन्तिममा देखापरेको प्रश्न हो हामीले जस्तै गरी सोभियत सङ्घको कम्युनिस्ट पार्टीले समाजमा किन निष्कर्ष दिन सकेन ? यस सम्बन्धमा हामी धेरै गम्भीर हुनु पर्छ तर उत्तर दिनै पर्छ । माक्र्र्स, एङ्गेल्स, लेनिन, स्टालिनका विचारबाट विकसित गएिको सर्वहारा अधिनायकत्वको दबाबले सोभियत समाजको राजनीतिक क्षेत्रलाई यसरी दबायो कि राजनीतिक क्षेत्रमा सिर्जनात्मक विचार विकसित हुनै सकेनन् । नयाँ सिर्जना हुन नसकेपछि पुराना निष्कर्षलाई सकी नसकी बोक्नुको विकल्प भएन । यही अवस्थाले गर्दा सोभियत सङ्घमा भूमिगत रूपमा विकसित भएको दलाल पुँजीवादसित सोभियत समाजवाद पराजित हुनु पर्‍यो । यो हाम्रो छैटौँ निष्कर्ष हो । 

हामीले नेपालमा विकास गर्न चाहेको उत्पादन पद्धति समाजवाद नै हो । यो उत्पादन पद्धतिमा सुरुदेखि अन्तिमसम्म सिद्धान्त अवलम्बन गर्ने दृढ प्रयत्न गरी राखिने छ । यो निरन्तर परिवर्तन र विकासको अवस्थामा रहने छ । समाजमा प्रत्येक व्यक्तिको आवश्यकता पूरा गर्न वस्तुको अभाव नहुने गरी उत्पादनको व्यवस्थापन हुने छ । अधिकांश माक्र्सवादी साहित्यमा राज्यभन्दा साथ दमकारी संस्था भनेर प्रस्तुत गरिएको छ । जबकि हरेक अवस्थामा राज्यको दोहरो सेवा र नियन्त्रणकारी भूमिका रहेको हुन्छ । समाजमा शत्रुवत् सम्बन्ध भएका वर्गको अस्तित्व भएका बखत पनि राज्यको सेवा र नियन्त्रणकारी भूमिका रहेको छ । राज्यको उत्पत्ति र विकासको प्रारम्भिक अवस्थामा पनि राज्यले मित्र वर्गको संरक्षण तथा शत्रु वर्गको दमन र नियन्त्रणकारी दोहरो भूमिका निर्वाह गरेको छ । समाजमा वर्ग समाप्त भएपछि राज्यको भूमिकामा परिवर्तन आउने छ । यस्तो अवस्थामा राज्यको दमनकारी चरित्र समाम्त हुने छ र समाजको सेवाकारी चरित्र मात्र कायम रहने छ । राज्यको नाम परिवर्तन भएर सामाजिक संस्थाका रूपमा देखा पर्ने छ । समाजवादी समाजमा राज्यको सेवाकारी चरित्र मात्र रहने छ । सेवाकारी संस्था मानव समाजमा कहिल्यै अन्त्य हुने छैन र समाज स्वचालित अवस्थामा विकसित हुने छ । त्यो अवस्थामा पनि उत्पादन पद्धतिको नाम परिवर्तन गर्नु आवश्यक पर्ने छैन । समाजवाद निरन्तर परिवर्तन र विकसित हुँदै मानव जातिको अस्तित्व रहँदासम्म कायम रहने छ ।

कम्युनिस्ट पार्टीको घोषणापत्र अनुच्छेद एक पुँजीपति र सर्वहारा शीर्षक अन्तर्गत लेखिएको छ, पुँजीपति वर्गले इतिहासमा ज्यादै धेरै क्रान्तिकारी भूमिका निर्वाह गरेको छ । यसको अर्थ हुन्छ पुँजीवादको उदय मानव विकासको ऐतिहासिक आवश्यकताले भएको थियो । यसका पनि सकारात्मक र नकारात्मक पक्ष छन् । यसका सकारात्मक पक्षलाई मानवजातिको विकासका निम्ति उपयोग गर्नु पर्छ र नकारात्मक पक्षलाई छोडिदिनु पर्छ । ऐतिहासिक कालखण्डमा भएका सामूहिक उत्पादन उन्नत देखिएको छ तर बजार व्यवस्थापनमा कमजोरी देखिएको छ । त्यही उत्पादनलाई बजार विकास गरेर व्यापक जनतामा वितरण व्यवस्थापन पुँजीवादले वैज्ञानिक रूपमा व्यवस्थित गरेको पाइएको छ । त्यति मात्र होइन विज्ञानको विकास पुँजीवादी अवस्थाबाट उल्लेखनीय भएको छ । वैज्ञानिक साधनको प्रयोगबाट जति धेरै उत्पादन र वितरणमा सफलतापूर्वक व्यवस्थापन भएको छ, अरू अवस्थामा भएको छैन । 

समाजवादीहरूले विकास गरेका क्षेत्र सोभियत सङ्घ र पूर्वी युरोप, जनवादी गणतन्त्र चीन, प्रजातान्त्रिक गणतन्त्र उत्तर कोरिया र क्युवा हुन् । मङ्गोलिया र रुस पूर्वी युरोपमा असफल नै भइसकेको छ र पुँजीवादको पुनस्र्थापना नै भइसकेको छ । क्रान्तिकारी आन्दोलन विकास गरिरहेका एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका कति ठाउँमा धक्का खाएको र कति ठाउँमा टकरावको अवस्थामा छन् । शान्तिपूर्ण र वैधानिक बाटोबाट कम्युनिस्ट आन्दोलन नेपालमा उठ्न खोजिरहेको छ तर यहाँ पनि टुटफुट र विभाजनले निकै ठुलो नोक्सानी बेहोर्न परिरहेको छ । जनताको बहुदलीय जनवादको मार्गदर्शनमा नेपालमा कम्युनिस्ट आन्दोलन सशक्त रूपमा विकसित हुन सक्ने सम्भावना छ । नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीको माध्यमबाट पनि वैज्ञानिक समाजवाद स्थापित हुन सक्यो भने भारत, बङ्गलादेशलगायत सम्पूर्ण दक्षिण एसिया, दक्षिण पूर्वी एसिया र अफ्रिका, ल्याटिन अमेरिकामा यो आन्दोलन सशक्त रूपले उठ्न र विकसित हुन सक्ने छ । 


अहिलेको संसारले हिंसा होइन अहिंसाको बाटो खोजेको छ । युद्ध होइन शान्तिको बाटो खोजेको छ । त्यो बाटो जनताको बहुदलीय जनवादको बाटो भन्दा अर्को हुने छैन । सिद्धान्त एउटा र व्यवहार अर्को भयो भने जस्तोसुकै अवस्थामा किन नहोस गलत परिणाम नै निक्लन्छ । पेरिस कम्युन माथि पुँजीवादी साम्राज्यवादीले नृशंस दमन गरेपछि बदलाको भावनाबाट प्रेरित भएर निकालिएको निष्कर्ष थियो ‘मजदुर वर्गले बनिबनाउ राज्य कब्जा गरेर र त्यसैलाई प्रयोग गरेर आफ्नो मुक्ति र समृद्धि कायम कायम गर्न सक्दैन’ भन्ने निष्कर्ष त्यही कालमा माक्र्स र एङ्गेल्सले माक्र्सवादी दर्शनको तीन मुख्य नियम अगाडि सार्दै लेखेका छन्, ‘ब्रह्माण्डमा भौतिक पदार्थमा मात्र छ तर त्यो पनि निरन्तर परिवर्तन र विकसित अवस्थामा रहन्छ ।’ अरू सबै निरन्तर परिवर्तन र विकसित भइरहने राज्य मात्र नहुने कसरी हुन्छ ? माक्र्स र एङ्गेल्सले नै विपरीत तत्वबिच एकता र सङ्घर्षबिना कुनै पनि वस्तुको ज्ञान, विज्ञान, चुम्बकको समेत अस्तित्व कायम हुन सक्दैन । 

हरेक युगमा युग अनुसार विकसित सबै उत्पादन पद्धतिमा विपरीत तत्वको एकता र सङ्घर्षको अवस्थाले मात्र उत्पादन पद्धतिको अस्तित्व कायम हुन सक्ने तर समाजवादमा विपरीत तत्वका बिच एकता र सङ्घर्षको अवस्था नभए पनि त्यसको अस्तित्व कायम भइरहने निष्कर्ष माक्र्सवादसम्मत छैन । त्यसो भए पनि स्वयम् माक्र्स, एङ्गेल्स, लेनिनले स्टालिनले समाजवादमा विपरीत तìवका बिच एकता र सङ्घर्षको अवस्था हुन्छ भनेर उल्लेख गरेनन् । त्यही भएर हुन सक्छ प्रसिद्ध सोभियत दर्शनशास्त्री भी अफ्नासेभले तयार गरेको दर्शनशास्त्रको प्रारम्भिक ज्ञान नामको ग्रन्थमा उल्लेख गरेका छन्, ‘समाजवादी क्रान्तिको परिणाम स्वरूप सर्वहारा वर्गले विरोधी वर्गका रूपमा पुँजीजीवी वर्गलाई निर्मूल पार्छ । यस्तो अवस्थामा पुँजीवादको नै अस्तित्व मेटिएर जान्छ र त्यसको ठाउँ समाजवादले लिन्छ ।’ अफ्नासेभको यो निष्कर्ष पूर्ण रूपले गलत छ । उनले दिन खोजेको तर्क समाजवादको विपरीतार्थ व्यक्तिवाद हुन्छ व्यक्तिवाद नै पुँजीवाद हुन्छ । व्यक्तिवादलाई समाजवादमा स्थान दिइयो भने समाजवाद रहन सक्दैन भन्ने हो । उनले दिन खोजेको निष्कर्ष त्रुटिपूर्ण र द्वन्द्वात्मक भौतिकवादी दर्शनको मुख्य तीन नियम विरुद्ध छ । माक्र्सवादी दर्शन विकास गर्ने मुख्य नेता नै वास्तविकतामा रहन नसकेकाले नै अफ्नासेभको यस किसिमको त्रुटिपूर्ण विश्लेषण उल्लेख भएको हो । 

सामूहिक उत्पादनलाई नै समाजवादको आधारमा लिइएको छ । यो निष्कर्ष सही हो भने आदिम मातृप्रधान समाजको उत्पादन पद्धतिदेखि दास मालिक उत्पादन पद्धति, भूदास तथा सामन्ती उत्पादन पद्धति तथा सर्वहारा र पुँजीपति वर्गीय उतपादन पद्धतिसम्मका सबै उत्पादन पद्धतिमा सामूहिक उत्पादनको भूमिका नै प्रमुख छ । त्यति मात्र होइन सामूहिक उत्पादन प्रणालीले सबै उत्पादन पद्धतिमा विपरीत तत्वको काम गरेको छ । यद्यपि मुख्य विपरीत तत्वको भूमिकामा आदिम साम्यवादी युगमा मानव जाति र प्रकृतिका बिच, दास युगमा दास र मालिकका बिच, सामन्ती युगमा सामन्त र भूदासका बिच तथा पुँजीवादी युगमा पुँजीपति र सर्वहारा विपरीत तत्वका रूपमा रहेका छन् । यी चार वटै उत्पादन पद्धतिको अस्तित्व विपरीत तत्वका बिच एकता र सङ्घर्षको अवस्थाले नै कायम गरेको छ तर समाजवादी उत्पादन पद्धतिमा विपरीत तत्वको आवश्यकता नदेख्नु माक्र्सवादको मूल सिद्धान्तलाई अस्वीकार गर्नु बराबर हुन्छ । यसमा हामीले निष्कर्ष निकालेका छौँ समाजवादी उत्पादन पद्धतिमा समाजवाद र पुँजीवादका बिच नै निरन्तर एकता र सङ्घर्षको अवस्था हुन्छ । त्यसबेलाको पुँजीवाद राष्ट्रिय पुँजीवादका रूपमा विकसित भएको हुने छ । यो निरन्तर परिवर्तन र विकासको अवस्थामा अस्तित्वमा रहने छ । 

अहिले विश्व एकीकृत भइसकेको छ । एउटा राष्ट्र अरू सबै राष्ट्रसित अलग भएर रहने अवस्था छैन । एक स्थानमा उत्पादित पदार्थ अथवा माल अहिले नै विश्वव्यापी फैलिइरहेको छ । भविष्यमा यो प्रक्रिया अरू सुदृढ हुने छ । मानव समुदायमा आवश्यकताले वस्तु आदान प्रदान भइरहने छ र त्यसको विनिमय जन्य व्यवहार उत्तिकै आवश्यकता परिरहने छ । श्रमशक्तिको मानकका रूपमा कुनै न कुनै माध्यम विकसित हुने छ । अन्तिम अवस्थासम्म अतिरिक्त उत्पादनका लागि अतिरिक्त श्रमशक्ति लगाउनै पर्ने छ । अरू सबै कङ्गाल र एक जना व्यक्ति धनी हुने अवस्था सदाका निम्ति समाजवादी कालमै समाप्त हुने छ । पृथ्वीव्यापी विकसित हुने मानवजातिको विकासको ठोस अवस्था भन्न र अनुमान गर्न अहिले नै सकिन्न । आजसम्म जति उच्चस्तरमा बौद्धिक व्यक्तित्व विकसित भए त्यस्तो फेरि विकसित हुने छैनन् भन्नु पूर्ण रूपमा गलत हुने छ । यो प्रक्रिया भविष्यमा झनै बढेर जाने छ ।  उत्पादन पद्धतिसँगै संस्कृति पनि विकसित भइरहने छ । संस्कृति उत्पादन पद्धतिसँगै विकसित भइरहने मानवजातिको अभिन्न पक्ष हो । सांस्कृतिक पक्षको विकासले मानवीय मूल्यको महत्व अत्यधिक बढेर जाने छ । त्यसले विभिन्न विचारलाई विकास गर्ने छ । त्यसले विकास गर्ने विषय मानवतासित सम्बन्धित नै हुने छन् । त्यसले युद्ध होइन स्थायी शान्तितर्फ मानवजातिलाई उन्मुख गराउने छ । मानवता भन्दा ठुलो महत्वको भविष्यमा अर्को केही हुने छैन । निरन्तर परिवर्तन र विकसित भइरहने सार्वभौम नियमले यही परिकल्पना दिन्छ भन्ने अनुमान गर्न सकिन्छ । 

विकासको यही कालमा विपरीत तत्वको अवस्था राजनीतिमा पनि प्रकट हुनु अनिवार्य हुने छ । समाजवादको अवस्था रहँदासम्म समाजवादी विचार वाहक राजनीतिक पार्टीको अस्तित्व कायम हुने छ । समाजवादको विपरीत तत्वका रूपमा राष्ट्रिय पुँजीवाद पनि रहने अवस्थाले पुँजीवादी पार्टीहरू पनि अस्तित्वमा रहने छन् तर तिनीहरू समाजवादको मित्र शक्तिका रूपमा मात्र रहन सक्ने छन् । हाम्रो जानकारीमा रहेका सिद्धान्तले यही ज्ञान प्रदान गर्छन् । राज्य विलुप्त हुने अवस्थामा राजनीतिक पार्टीको पनि विलुप्तीकरण अनिवार्य हुने छ । त्यसबेला पनि सामाजिक व्यवस्थापनका लागि कुनै न कुनै संरचना देखा पर्नु अनिवार्य हुने छ । राजनीतिक पार्टीहरूको आवश्यकता रहँदासम्म माक्र्सवाद लेनिनवाद, प्रजातन्त्रवाद, जनवाद, जनताको बहुदलीय जनवाद आदि नामका सिद्धान्त पनि रहने नै छन् । समाजवाद मानवजातिको बौद्धिक सक्रियताको अवस्थासम्म जीवित रहने छ । अरू जस्तै मानवजाति पनि कुनै कालमा विलुप्त हुनुपर्ने छ । त्यसपछिको लामो कालखण्डमा विग व्यङ्ग पनि हुने छ । चिन्ता नगर्नु कसैले विग व्यङ्गभन्दा धेरै पहिले नै प्राणी जगतनै पृथ्वीमा विलुप्त भइसकेको हुने छ । 

 

Author

वामदेव गौतम