• १३ भदौ २०८१, बिहिबार

जनस्वास्थ्य सङ्कटकाल लगाउनुपर्ने अवस्था छैन : मन्त्री पौडेल

blog

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल ।

काठमाडौँ, भदौ १२ गते। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा मनसुनको समयमा देखिने हैजाको हाल जनस्वास्थ्य सङ्कटकाल लगाउनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले हैजा महामारीका कारण निम्तिनसक्ने स्वास्थ्य सङ्कटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने भन्ने सार्वजनिक महत्त्वको विषयमाथिको ध्यानाकर्षणपछि बोल्दै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले जनस्वास्थ्य सङ्कटकाल लगाउनुपर्ने अवस्था नभए पनि संयम हुनुपर्ने स्थिति भने रहेको बताउनुभयो। उहाँले हैजा, डेंगी लगायतका जनस्वास्थ्यका चुनौतीलाई सामना गर्न सामूहिक र समन्वयात्मक प्रयास गर्ने गरी निर्णय गरी अघि बढेको पनि बताउनुभयो।

उहाँले हैजा प्रभावित क्षेत्रका द्रुत सूचना, जनचेतना अभिवृद्धि लगायतका क्रियाकला प्रभावकारी बनाउन तीन तहकै सरकारको समन्वयमा कार्य भइरहेको जानकारी दिनुभयो। उहाँले काठमाडौँ उपत्यकाका स्थानीय सरकार प्रमुखसँग हैजा, डेंगी लगायतका महामारीजन्य अवस्थाको व्यवस्थापन कसरी प्रभावकारी बनाउने भनेर अन्तरक्रिया तथा ठोस कदम चाल्नका लागि सहकार्य हुने बताउनुभयो।

मन्त्री पौडेलले मन्त्रालयले अर्लि वार्निङ एण्ड रिपोर्टिङ सिस्टम तथा १११५ कल सेन्टर लगायतका संयन्त्रबाट हैजा र डेंगीको निगरानी गरिरहेको बताउनुभयो।