• १० मंसिर २०८१, सोमबार

कटैनीको बाढीले धान बालीमा क्षति

blog

धनगढी समाचारदाता

धनगढी, भदौ १२ गते । कटैनी नदीमा आएको बाढीले कैलालीस्थित कैलारी गाउँपालिकाका विभिन्न स्थानमा लगाएको धानबालीमा क्षति गरेको छ । भारी वर्षापछि आएको बाढीका कारण वडा नम्बर ३, ५ र ७ का विभिन्न क्षेत्र जलमग्न भएको थियो ।

घरबाट धान, गहुँलगायतका खाद्य बाली बगाएको बाढीले खेतमा पसाउने तयारीमा रहेको धान सखाप पारेको बाढी प्रभावित किसानले बताएका छन् । कटैनी आसपासको क्षेत्रमा बाढीले धान सखाप पारेको छ भने कतिपय स्थानमा बालुवा पटान गरेर क्षति गरेको छ । 

बाढीका कारण घरभित्र रहेको खाद्यान्न र खेतमा रहेको धान बाली नोक्सान भएको डुबान प्रभावित कैलारी–५, पुरानो मनिकापुरका कृषक खोजराम चौधरीले बताउनुभयो । उहाँले १० कट्ठामा लगाएको धान बाली पूरै सखाप भएको जानकारी दिनुभयो । “घरमा भण्डारण गरिएको धान, गहुँ र खेतमा रहेको धान बाली जोगिएन,” कृषक चौधरीले थप्नुभयो, “खेतमा पूरै बालुवा पटान भएको छ ।”

कृषक चौधरीका अनुसार पहिले पानीको निकास हुँदा यति धेरै डुबान र नोक्सान हुने गरेको थिएन तर अग्लो हुलाकी रोड बनेपछि त्यसले बाँधको काम गरेको छ । अग्लो सडकका कारण उपयुक्त निकास नहुँदा बाढीले डुबानका साथै गाउँबस्तीमा क्षति गरिरहेको छ । 

बाढीले घरभित्रदेखि खेतीपातीमा अत्यधिक नोक्सान गरेको बाढी प्रभावित अर्का कृषक चन्द्रप्रसाद चौधरीले बताउनुभयो । “न घरभित्रको खाद्यान्न जोगियो न त खेतमा लगाएको धान । बाढीले अत्यधिक क्षति गर्‍यो,” उहाँले भन्नुभयो ।

किसानले कटैनी नदीले पछिल्ला वर्षहरूमा बर्सेनि गरिरहेको डुबान र नोक्सान न्यूनीकरणका लागि स्थायी समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । कटैनी नदीले कटानसमेत गर्न थालेका कारण नदीका दुवैतिर तटबन्ध गर्नुपर्ने वा कटैनी नदीलाई अन्यत्रबाट बग्ने गरी समस्या समाधानको उपाय खोज्न जरुरी रहेको किसानको भनाइ छ । 

कटैनी नदीलाई मनाउँगाउँको ग्राउन्डदेखि चौफेरी ताल, रखौनी ताल, नर्दहियाँ हुँदै गुलयारीफाँटा नजिकको जम्नेहटामा मिल्ने गरी व्यवस्थापन गर्नु उत्तम विकल्प रहेको स्थानीयले बताएका छन् ।

कटैनीलाई अन्यत्रबाट बग्ने गरी यसरी व्यवस्थापन गर्दा वसन्ता वन क्षेत्रको रुख निकै कम मात्रै कटान गर्नुपर्ने उनीहरूले उल्लेख गरेका छन् । कटैनीलाई व्यवस्थापन गर्न सके वडा नम्बर ५ र ७ को डुबान समस्या समाधान र क्षति न्यूनीकरण हुने वडा नम्बर ५ का बाढीप्रभावित स्थानीय कालीराम चौधरीले बताउनुभयो । 

“वसन्ता वन क्षेत्रमा रहेका विभिन्न ताल हुँदै कटैनीको बहावलाई जम्नेहटासम्म झार्न सकेमा उक्त समस्याको दिगो समाधान हुने छ,” उहाँले भन्नुभयो, “यति नगरेसम्म हरेक वर्ष डुबान, क्षति, कटान र पटान गरिरहने छ ।” गाउँपालिकाका विपत् व्यवस्थापन स्रोतव्यक्ति भुवन बखरियाले लगातारको बाढीले मनिकापुर, बैजपुर, वसन्ता, भुइयाँफाँटा, रामपुर क्षेत्रमा धानबालीमा नोक्सान गरेको जानकारी दिनुभयो ।