• १४ भदौ २०८१, शुक्रबार

ओखलढुङ्गामा श्रीकृष्ण जन्माष्टमीमा जात्रा

blog

शेरबहादुर राई

ओखलढुङ्गा, भदौ ११ गते । श्रीकृष्ण जन्माष्टमी अवसरमा ओखलढुङ्गामा भव्य कृष्ण जात्रा निकालिएको छ । जिल्ला सदरमुकाममा रहेका तीन वटा गुठीले छुट्टाछुट्टै कृष्ण रथसहितको यात्रा निकालेर श्रीकृष्ण जन्माष्टमी मनाएका हुन् । 

सिद्धिचरण नगरपालिका–११ रमाइलो डाँडाको जनसेवा गुठी, वडा नं. ११ रामबजारको पारस्परिक सहयोगी गुठी र सिद्धिचरण नगरपालिका–१२ गणेश टोलको जनहित सेवा गुठीले छुट्टाछुट्टै कृष्ण रथ यात्रासहितको भव्य जात्रा निकालेका हुन् । जात्रामा राधा कृष्णको रूपमा स्थानीय कलाकारहरू सजिएका थिए । 

कृष्ण भजन गाउँदै श्रद्धालुहरूले बजार परिक्रमा गरेका थिए भने स्थानीय कलाकारहरूले विभिन्न बजार तथा चोकमा नृत्य प्रस्तुत गरेका थिए । राधा कृष्णका विभिन्न चरित्र चित्रण गर्ने पहिरन सहित युवा, युवतीहरू बालबालिका जात्रामा सहभागी भएका थिए । 

गठेमंगल अर्थात् घण्टाकर्ण पर्वदेखि सुरु भएको विभिन्न जात्राहरू कृष्ण जन्माष्टमीको अवसरमा निकालिएको जात्रासँगै समापन भएको जनहित सेवा गुठीका अध्यक्ष ध्रुव राजभण्डारीले बताउनुभयो । करिब एक महिनासम्म गाईजात्रा, रोपाइँ जात्रा, कृष्ण जन्माष्टमी जात्रा लगायत विभिन्न जात्रा एवम् नाच देखाउने चलन रहेको राजभण्डारीको भनाइ छ। 

ओखलढुङ्गाका सदरमुकामका नेवारी समुदायका युवाहरू आफ्नो संस्कृति र परम्परा जोगाउन जुटेका छन् । यस पटक तीन वटै बजारमा युवाहरूको सक्रियतामा परम्परागत जात्रा निकालिएको अध्यक्ष राजभण्डारीले बताउनुभयो । सदरमुकाममा निकालिने जात्रा हेर्न गाउँगाउँ बाट दर्शहरू आउने गर्दछन् ।