• १० मंसिर २०८१, सोमबार

के हो हाम्रो ‘खुसी पाठ्यक्रम’ ?

blog

कार्यक्रममा सहभागी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई (दायाँ) । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी

नवलपुर, भदौ ११ गते। नवलपुरको मध्यविन्दु नगरपालिकाले विद्यार्थी, अभिभावक र शिक्षकलाई मध्यनजर गरेर ‘हाम्रो खुसी’ (आवर हेप्पीनेश) पाठ्यक्रम शुभारम्भ गरेको छ। नेपालमै पहिलो पटक मध्यविन्दुमा सञ्चालनमा आएको पाठ्यक्रमको गत भदौ ८ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शुभारम्भ गर्नुभयो। 

यो पाठ्यक्रम चालु शैक्षिक सत्रदेखि नै नगरपालिकामा भित्रका सामुदायिक र संस्थागत गरी ६४ वटा विद्यालयका एकदेखि कक्षा ८ सम्मका सबै विद्यार्थीका लागि अनौपचारिक रूपमा लागू भए पनि औपचारिक शुभारम्भ भने भदौ ८ गतेदेखि भएको नगर प्रमुख भीमलाल अधिकारीले जानकारी दिनुभयो। सबैले शिक्षामा नयाँ स्वाद पाउने गरी यो पाठ्यक्रम निर्धारण गरिएको अधिकारीको भनाइ छ।

के हो हाम्रो खुसी ?

पहिले  आफैलाई बुझ्ने, त्यसपछि परिवारसँगको सम्बन्ध बुझ्ने, समाज बुझ्ने र प्रकृतिलाई बुझ्ने र गरी हाम्रो खुसी पाठ्यक्रम तयार पारिएको पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्र (करिकुलम स्टडी एण्ड रिसर्च सेन्टर–सीएसआरसी) का सदस्य एवं कुमारवर्ती माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक कृष्णचन्द्र गिरीले जानकारी दिनुभयो। 

राम्रो अङ्क र धेरै जिपिए ल्याउनका लागि घोकेर पढेको शिक्षा व्यवहारमा लागू नभएको भन्दै विना पाठ्यपुस्तकको शिक्षा प्रदान गरिएको उहाँको भनाइ छ। ‘‘हामीले पाठ्यपुस्तक बनाएका छैनौँ, हाते पुस्तकका आधारमा पहिले शिक्षकलाई दक्ष बनायौँ, गिरीले भन्नुभयो, ‘‘त्यसका आधारमा शिक्षकले पहिले हाम्रो खुसी के हो, मर्म र भावना के हो ? भन्ने बुझ्नुहुन्छ, त्यसका आधारमा आचरणसहितको क्रियाकलाप गराइन्छ।’’ 

सजगता, कथा, गतिविधि र अभिव्यक्ति गरी यसका चारवटा विधिशास्त्र रहेको त्यसका आधारमा गरिएको शिक्षणले व्यवहारिक परिवर्तन आइरहेको गिरीको भनाइ छ।

विद्यार्थीमा संवेदनशील भावनाको विकास र पारिवारिक सम्बन्ध विस्तारका लागि यो पाठ्यक्रम कोशेढुंगा साबित हुने नगरपालिकाको विश्वास छ। ‘‘हामीले धेरै नम्बर ल्याएर उत्तीर्ण हुनु र भोली घर, घडेरी, गाडी जस्ता भौतिक सुविधा जोड्नुलाई नै सफलता ठान्यौँ, यसले समाजलाई ध्वंसात्मक र विद्यार्थीलाई रोबोर्ट जस्तो बनाउने काम गर्‍यो, एकले अर्कोलाई सम्मान गर्न नजान्ने र मानवीयता हराउँदै गएको आभास भयो, नगरप्रमुख अधिकारीले भन्नुभयो, ‘‘विद्यार्थीमा अनुशासन र संस्कार हराउँदै गएको र उद्दण्डता बढ्दै गएको देखिएपछि स्थानीय पाठ्यक्रमलाई निरन्तरता दिँदै सबै शिक्षक र विद्यार्थी खुसीसाथ विद्यालय हाता भित्र प्रवेश गर्ने र अभिभावक पनि खुसी हुने र नगरवासीलाई नै खुसी के हो भनेर जोड्ने गरी ‘हाम्रो खुसी’ पाठ्यक्रम तयार गरिएको हो।’’


चरणवद्ध काम

पाठ्यक्रम तयार गर्नका लागि विभिन्न चरणमा काम गरिएको नगरपालिकाले जनाएको छ। पहिलो चरणमा भारत सरकार, शिक्षा मन्त्रालय अन्तर्गतको भारतीय शिक्षा बोर्डका सल्लाहकार तथा मानव मूल्य र रूपान्तरण सिकाइ सेल, दिल्लीका सदस्य, जीवनविद्यताका प्रबोधनका श्रवणकुमार शुक्लसहितको टोलीले नगरपालिका भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण तालिम दियो।

दोस्रो चरणमा नगरप्रमुखसहित ३५ जनाको टोलीले दिल्ली भ्रमण गरेर त्यहाँ पाठ्यक्रम लागू भएका विद्यालयको अवलोकन गर्‍यो। लगत्तै नगरपालिकाले पाठ्यक्रम तयार गर्नका लागि नवजागरण मावि चोरमाराका प्रधानाध्यापक हरिप्रसाद देवकोटाको संयोजकत्वमा पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्र (करिकुलम स्टडी एण्ड रिसर्च सेन्टर–सीएसआरसी) गठन गर्‍यो।

त्यसपछि टोलीले सात दिनसम्म आवासीय कार्यशाला गर्‍यो। जसले आधारभूत तहको (एकदेखि आठसम्म) पाठ्यक्रम ढाँचा तयार गरेको सीएसआरसीका सदस्य गिरीले जानकारी दिनुभयो।

पुनः पाँच दिने आवासीय कार्यशाला गरी कथा र गतिविधिको माध्यमबाट बालबालिकामा बिचारशीलता तथा जीवन मूल्य र सम्बन्ध बोध गराउने हेतुले यी सामग्री तयार पारिएको सीएसआरसीका संयोजक देवकोटाले बताउनुभयो। 



खुसी भएर जिउन सिकाउने

खुसी हुनका लागि नभई खुसी भएर जिउनका लागि यो पाठ्यक्रम कोशेढुंगा हुने नगरप्रमुख अधिकारीको भनाइ छ। 

‘‘नारामा गुणस्तरीय शिक्षाको कुरा धेरै पहिलेदेखि चर्चामा रह्यो, धेरै नम्बर र धेरै जिपिए ल्याउनेलाई गुणस्तरीय शिक्षा भनियो। तर विशिष्ट तहमा पास हुने मात्र गुणस्तरीय शिक्षा होइन रहेछ, नगरप्रमुख अधिकारीले भन्नभयो, ‘‘त्यसका लागि जीवन, सम्बन्ध, संस्कार, व्यवहार, कर्तव्यनिष्ठ, राष्ट्रप्रेमको भावनादेखि पारिवारिक र सामाजिक सम्बन्धसँग जोडिएका कुराहरू पनि गुणस्तरीय शिक्षामा पर्दोरहेछन् भनेर हामीले यो पाठ्यक्रम ल्याएका हौँ।’’ 

यो पाठ्यक्रम लागू भएपछि विद्यार्थी र अभिभावक पनि खुसी भएका छन्। पहिले कुनै कुरा अह्राउँदा पनि नमान्ने छोराहरू अहिले भने केही नभनी खुरुखुरु काम गर्न थालेको विद्यार्थीका अभिभावकको भनाइ छ। 

‘‘बेलुका समयमै सुत्ने, बिहान छिटो उठेर आफै बिस्तरा मिलाउने, आफै पानी तताएर पिउने, मैले खाना पकाउँदा छोराहरूले तरकारी केलाइदिएर सहयोग गर्ने, ठुलो छोराले भात पस्किने, सानो छोराले भात ल्याएर खान दिने जस्ता परिवर्तन देखिएको छ, दुई छोराकी आमा तिम कुमारी ढेँगाले भन्नुभयो। 

नेपाल लोकसेवा माथि कक्षा ८ मा अध्ययनरत छात्रा श्वेता सापकोटाले पहिले आफू सानो कुरामा पनि रिसाउने, झर्किने गरेकोमा हाम्रो खुसी पाठ्यक्रम आएपछि आफ्नो व्यवहारमा पनि परिवर्तन आएको र यो पाठ्यक्रमले मनमा नै खुसी छाएको प्रतिक्रिया दिनुभयो। घरमा आफूले सक्दो काम गर्दा बुवाआमामा पनि खुसी छाउने गरेको सापकोटाको भनाइ छ।